News Summary
Generated by OK AI. Editorially reviewed.- रेखाको जन्म १० अक्टोबर १९५४ मा चेन्नईमा भएको थियो, र उनका बुबा जेमिनी गणेशन तथा आमा पुष्पावली हुन्।
- आर्थिक अभावका कारण विद्यालय छाडेकी रेखाले १२ वर्षमै अभिनय सुरु गरिन् र ‘अञ्जाना सफर’बाट हिन्दी सिनेमामा प्रवेश गरिन्।
- उद्योगपति मुकेश अग्रवालसँग विवाह गरेकी रेखाको वैवाहिक जीवन केही महिनामै मुकेशको आत्महत्यापछि टुंगिएको थियो।
बलिउडकी रहस्यमयी र आकर्षक अभिनेत्री रेखाको जीवन कुनै फिल्मको कथाभन्दा कम छैन । आर्थिक अभावका कारण बाल्यकालमै विद्यालय छाड्नुपरेदेखि फिल्म क्षेत्रमा संघर्ष, प्रेमसम्बन्धका चर्चा, असफल वैवाहिक जीवन, अनौठा रुचि र आफ्नै शैलीमा आफूलाई स्थापित गर्दै फेसन आइकन बन्नेसम्मको उनको यात्रा निकै रोचक छ ।
कलाकारिताको पारिवारिक पृष्ठभूमि
रेखाको जन्म १० अक्टोबर १९५४ मा भएको हो । उनी तमिल सिनेमाका चर्चित अभिनेता जेमिनी गणेशन र तेलुगु अभिनेत्री पुष्पावलीकी छोरी हुन् ।
जन्मँदा राखिएको नाम
चेन्नईमा हुर्किएकी रेखाको जन्म नाम भानुमति रेखा थियो ।
मातृभाषा तेलुगु
रेखा आफ्नो मातृभाषा तेलुगुलाई मान्छिन् । यद्यपि उनलाई हिन्दी, तमिल र अंग्रेजी भाषामा पनि राम्रो दखल छ ।
बाल्यकालदेखि नै पहिचानको संघर्ष
रेखाका आमाबुबाले उनको जन्म हुँदा विवाह गरेका थिएनन् । उनका बुबा जेमिनी गणेशनले बाल्यकालमा उनलाई आफ्नी सन्तानका रूपमा अस्वीकार गरेका थिए ।
रहरले होइन, बाध्यताले फिल्म क्षेत्रमा
रेखाको पहिलो रोजाइ अभिनय थिएन । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले विद्यालय छाडेर फिल्म क्षेत्रमा प्रवेश गर्नुपरेको थियो ।

१२ वर्षमै अभिनय यात्रा
रेखाले १२ वर्षको उमेरमा तेलुगु फिल्मबाट बाल कलाकारका रूपमा अभिनय सुरु गरेकी थिइन् । त्यसको तीन वर्षपछि कन्नड फिल्ममा मुख्य अभिनेत्रीका रूपमा देखिइन् ।
हिन्दी फिल्ममा प्रवेश
रेखाले ‘अञ्जाना सफर’बाट हिन्दी सिनेमामा प्रवेश गरेकी थिइन् । उक्त फिल्ममा उनी अभिनेता विश्वजीतसँग देखिएकी थिइन् ।
पहिलो फिल्मकै चुम्बन दृश्यले विवाद
उनको पहिलो हिन्दी फिल्म ‘अञ्जाना सफर’को एउटा चुम्बन दृश्यले त्यसबेला निकै चर्चा र विवाद जन्माएको थियो । सेन्सर बोर्डको समस्याका कारण उक्त फिल्म करिब एक दशकपछि ‘दो शिकारी’ नामबाट प्रदर्शनमा आएको थियो ।
उडाइन्थ्यो मजाक
करिअरको सुरुवाती समयमा रेखाले आफ्नो गहुँगोरो वर्ण र बढेको तौलका कारण फिल्म क्षेत्रमा निकै व्यङ्ग्य सहनुपरेको थियो ।
एयरहोस्टेस बन्ने सपना
बाल्यकालमा रेखा खुला संसार घुम्ने सपना देख्थिन् । यही चाहनाका कारण उनी एयरहोस्टेस बन्न चाहन्थिन् ।
मेकअपप्रतिको रुचि
रेखालाई मेकअप गर्न निकै मन पर्थ्यो । उनको यो रुचि पूरा गर्न एयरहोस्टेस साथीहरूले विदेशबाट विशेष मेकअप सामग्री ल्याइदिने गर्थे ।
बी र सी ग्रेडका फिल्ममा पनि काम
मुम्बईमा आफ्नो स्थान बनाउन र परिवार चलाउन रेखाले करिअरको सुरुवाती समयमा तेलुगु भाषाका बी र सी ग्रेडका फिल्ममा समेत काम गर्नुपरेको थियो ।
विवाह र दुःखद घटना
रेखाले उद्योगपति मुकेश अग्रवालसँग विवाह गरेकी थिइन् । तर विवाह भएको केही महिनामै मुकेशले आत्महत्या गरेपछि उनको वैवाहिक जीवन दुःखद घटनामा टुंगियो ।
धेरै अभिनेतासँग जोडियो नाम
रेखाको व्यक्तिगत जीवन पनि सधैँ चर्चामा रह्यो । उनको नाम अमिताभ बच्चन, राज बब्बर, विनोद मेहरा, नवीन निश्चल, जितेन्द्र, यश कोहली, शत्रुघ्न सिन्हा र अक्षय कुमारसँग जोडिएको थियो ।
अमिताभसँगको सम्बन्धपछि बदलिएको व्यक्तित्व
अमिताभ बच्चनसँग नजिकिएपछि रेखाको व्यक्तित्वमा ठूलो परिवर्तन आएको बताइन्छ । उनी आफ्नो पहिरन, शारीरिक तन्दुरुस्ती र शैलीप्रति निकै सचेत हुन थालिन् । जीवनलाई हेर्ने उनको दृष्टिकोणसमेत बदलिएको थियो ।
उत्कृष्ट डबिङ कलाकार
रेखा अभिनयसँगै डबिङमा पनि दक्ष छिन् । उनले ‘याराना’मा नीतु सिंह र ‘वारिस’मा दिवंगत स्मिता पाटिलका पात्रका लागि आफ्नो आवाज दिएकी थिइन् ।
फिल्ममा गीत पनि गाइन्
अभिनयबाहेक रेखाको संगीतमा पनि रुचि छ । संगीतकार आरडी बर्मनको विशेष आग्रहमा उनले आफ्नो चर्चित फिल्म ‘खुबसूरत’मा दुईवटा गीत गाएकी थिइन् ।
आफ्नै पहिरन शैली
काँजीवरम साडी र गाढा सिन्दूर रेखाको पहिचान बनेको छ । उनको यो विशेष शैली तयार पार्न कुनै फेसन डिजाइनर वा स्टाइलिस्टको सहयोग लिइँदैन । उनी आफ्नो पहिरन आफैँ छान्ने र शैली आफैँ तय गर्ने गर्छिन् ।
समयको निकै पक्का
फिल्म क्षेत्रमा ढिलो आउने चलन सामान्य मानिए पनि रेखा भने समयको निकै पक्का रहेको बताइन्छ । उनी जहाँ पुग्नुपर्ने हो, निर्धारित समयमै पुग्छिन् ।
हेमा मालिनीसँग घनिष्ठ मित्रता
बलिउडका दुई चर्चित अभिनेत्री रेखा र हेमा मालिनी वास्तविक जीवनमा निकै मिल्ने साथी हुन् । रेखा आज पनि हेमा मालिनीको फोनको स्पिड डायल सूचीमा रहेको बताइन्छ ।
फिटनेसमा पनि अगाडि
फिटनेसका लागि नियमित जिम जान सुरु गर्ने बलिउड अभिनेत्रीमध्ये रेखा पनि एक हुन् । सामान्य व्यायामबाट सुरु भएको उनको यात्रा अहिले नियमित योग र अनुशासित जीवनशैलीसम्म पुगेको छ ।
प्रतिक्रिया 4