+
+
Shares

जासुसी विवादका बीच एनभिडियाका जेन्सेन ह्वाङ पदमुक्त होलान्?

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको अनैतिक सम्बन्ध र जासुसी विवादमा तानिएपछि उनलाई छानबिन अवधिभर पदबाट हटाउनुपर्ने (एडमिनिस्ट्रेटिभ लिभ) माग उठ्न थालेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङमाथि शङ्कास्पद चिनियाँ जासुससँगको सम्बन्ध र जासुसी विवादमा आन्तरिक अनुसन्धान सुरु भएको छ।
  • ह्वाङले कर्मचारीलाई पठाएको सन्देशमा एलिस ह्वाङसँगको विवाहबाहिरको सम्बन्ध स्वीकार गरेका छन्।
  • कर्पोरेट सुशासन विज्ञहरूले गम्भीर आरोपपछि ह्वाङलाई छानबिन अवधिभर प्रशासनिक बिदामा राख्नुपर्ने माग गरेका छन्।

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको अनैतिक सम्बन्ध र जासुसी विवादमा तानिएपछि उनलाई छानबिन अवधिभर पदबाट हटाउनुपर्ने (एडमिनिस्ट्रेटिभ लिभ) माग उठ्न थालेको छ।

विश्वकै सबैभन्दा शक्तिशाली कर्पोरेट प्रमुखहरूमध्ये एक ह्वाङको सम्भावित बहिर्गमनलाई लिएर कर्पोरेट जगत् र वाल स्ट्रिटमा ठूलो अन्योलता छाएको छ।

ह्वाङले आफ्ना कर्मचारीहरूलाई एक सन्देश पठाउँदै एलिस ह्वाङसँगको विवाहबाहिरको सम्बन्ध स्वीकार गरिसकेका छन्। तर, अमेरिकी गुप्तचर एजेन्सीहरूले एलिसलाई चीनको मुख्य गुप्तचर संस्था ‘मिनिस्ट्री अफ स्टेट सेक्युरिटी’ (एमएसएस) ले एआई चिप्सको आपूर्ति र कम्पनीका गोप्य सूचनामा पहुँच बनाउन परिचालन गरेको आशङ्का गरेपछि एनभिडियाको सञ्चालक समितिले ह्वाङमाथि स्वतन्त्र आन्तरिक अनुसन्धान सुरु गरेको छ।

‘एडमिनिस्ट्रेटिभ लिभ’ मा किन राखिएन?: कर्पोरेट सुशासन र विज्ञहरूको प्रश्न

व्यावसायिक नैतिकता र कर्पोरेट सुशासन (कर्पोरेट गभर्नेन्स) का विज्ञहरूका अनुसार केवल विवाहबाहिरको सम्बन्ध हुनु आफैँमा पदबाट बर्खास्त गर्ने कारण नहुन सक्छ । किनभने एलिस एनभिडियाकी कर्मचारी थिइनन्।

तर यदि ह्वाङका कारण अन्जानमै कम्पनीका गोप्य प्रविधि वा अमेरिकी राष्ट्रिय सुरक्षासँग जोडिएका दस्ताबेजहरू प्रतिद्वन्द्वी देशको हातमा पुगेका छन् भने, त्यो उनको तत्काल बर्खास्तीको कारण बन्नेछ।

कर्पोरेट सुशासन विज्ञ तथा डेलावेयर विश्वविद्यालयका पूर्व प्राध्यापक चार्ल्स एल्डरले भनेका छन्,’आरोपहरूको गम्भीरतालाई हेर्दा उनलाई किन कुनै प्रकारको प्रशासनिक बिदामा राखिएन भन्नेमा म अचम्मित छु। के कम्पनी वा राष्ट्रिय सुरक्षालाई हानि पुग्ने गरी कुनै सूचना चुहावट भएको थियो? सायद केही भएको छैन होला, तर यस्तो परिस्थितिमा केही समयका लागि बिदामा बस्नु नै उपयुक्त हुनेछ।’

येल स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक तथा चर्चित कर्पोरेट सल्लाहकार जेफ्री सोनेनफेल्डले यो छानबिनले ह्वाङको ध्यान व्यवसाय सञ्चालनबाट पूर्ण रूपमा भङ्ग गर्ने बताएका छन्।

सोनेनफेल्डका अनुसार,’उनी व्यवसाय सञ्चालन गर्नुको साटो प्रश्नहरूको जवाफ दिनमै अत्यन्तै व्यस्त हुनेछन्। यस्तो अवस्थामा उनको व्यवहारमाथि प्रश्न नउठेको भए पनि उनले कसरी काम जारी राख्न सक्छन् भन्ने कल्पना गर्न गाह्रो छ।’

उनले थपे, ‘यस घटनाले उनको पद र शक्तिले उनको सोचाइमा असर पारेको त थिएन भन्ने सोच्न बाध्य बनाएको छ।’ एक्सियोसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?