+
+
Shares

दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २५ गते ११:५७

२५ कात्तिक, खोटाङ । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन् ।

सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदीको राजदह नजिकै बालुङमारीमा मृत फेला परेका हुन् । उनी कात्तिक २४ गते राति मृत फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी चौकी च्यास्मीटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । उँबुबाट रातारात बालुङमारी पुगेका आफन्तले शवको पहिचान गरेको मानेभञ्ज्याङ गाउँपालिका कांग्रेस सभापति हुकुमसिं राईले बताए ।

प्रख्यातको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट गोताखोरसहितको टोली तथा हर्कपुरस्थित मनसुन प्रतिकार्य अस्थायी सुरक्षा बेसको टोली परिचालन गरिएको थियो । तर, उनीहरूको खोजी गरिएको क्षेत्रभन्दा तल्लो भागमा शव फेला परेको हो ।

मानेभञ्ज्याङ गाउँपालिका–६ जाक्पामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा जाने भन्दै प्रख्यात कात्तिक ४ गते राति साढे ९ बजे घरबाट निस्किएका थिए । तर, उनी कार्यक्रममा नपुगेको स्थानीयले बताएका छन् ।

बाहुनीडाँडाकी एक युवतीलाई भेट्न जयरामको पुरानो झोलुङ्गे पुलमा पुगेको खुलेको उनका बुवा प्रकाशहरी क्याम्पा राईले बताए । उनका अनुसार प्रख्यातले पुलमा पुगेर भेट्नका लागि अर्की युवतीलाई मेसेजमार्फत खबर पठाएका थिए । राति १ बजेर ४३ मिनेटसम्म मेसेन्जरमा सन्देश पठाएको देखिएको र त्यसपछि उनी सम्पर्कविहीन बनेको बुवा राईले बताए ।

मानेभञ्ज्याङ गाउँपालिका–६ र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको सीमामा पर्ने दूधकोसीस्थित जयराम आसपासबाट उनी सम्पर्कविहीन भएका थिए ।

आफन्तले घटनालाई शंकास्पद मान्दै आएका छन् । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । शव ओखलढुंगा लगेर पोस्टमार्टम गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?