+
+
Shares

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन् ।

अमलेश शर्मा अमलेश शर्मा
२०८३ कात्तिक २८ गते १०:४२

२८ कात्तिक, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन् । आक्रमणकारीले दुवै जनाको टाउको र अनुहारमा इँटाले प्रहार गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गइसकेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘दम्पत्तीमाथि सुतिरहेको अवस्थामा अज्ञात समूहले आक्रमण गरेको भन्ने जानकारी आएको छ । प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ । अनुसन्धानपछि मात्रै दम्पतीमाथि कसले किन आक्रमण गरेको हो भन्ने खुल्ने छ ।’

किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्र यादवले जानकारी दिए ।

दम्पतीमाथि आक्रमणको कारण खुल्न नसकेको हरिपुर्वा नगरपालिका–८ का वडाध्यक्ष रमेश यादवले बताए ।

लेखक
अमलेश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?