News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको १२ औँ साधारणसभामा ज्येष्ठ नागरिकले राज्यका सेवा, सुविधा र अधिकार सहज रूपमा उपभोग गर्न पाउनुपर्ने माग गरेका छन् ।
- उनीहरूले सामाजिक सुरक्षा भत्ता लिन बैंक र नवीकरणका लागि स्थानीय तह धाउनुपर्ने झन्झट हटाउन घरमै सेवा वा अन्य सहज व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
- महासंघका उपाध्यक्ष इन्द्रबहादुर श्रेष्ठले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि छुट्टै मन्त्रालय आवश्यक रहेको बताएका छन् ।
२९ कात्तिक, धनकुटा । ज्येष्ठ नागरिकहरूले राज्यले प्रदान गर्दै आएका सेवा, सुविधा तथा हकअधिकार सहज रुपमा उपभोग गर्न पाउनुपर्ने माग गरेका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको १२ औँ साधारणसभाको शनिबार र आइतबार धनकुटामा आयोजित समारोहमा सहभागी ज्येष्ठ नागरिकहरूले यस्तो माग गरेका हुन् ।
सरकारले ज्येष्ठ नागरिकका लागि विभिन्न ऐन तथा कानुन निर्माण गरी सामाजिक सुरक्षा भत्तालगायतका सेवा सुविधा उपलब्ध गराए पनि व्यवहारमा सहज रुपमा सेवा लिन नपाएको उनीहरूको गुनासो छ । कानुनमा व्यवस्था गरिएका अधिकार कार्यान्वयनमा विभिन्न समस्या देखिएकाले राज्यले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने उनीहरूले बताएका छन् ।
धनुषाका ज्येष्ठ नागरिक मनोजकुमार झाले सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जाँदा लामो समय लाइनमा बस्नुपर्ने समस्या रहेको बताए । शारीरिक रुपमा अशक्त ज्येष्ठ नागरिकका लागि यस्तो प्रक्रिया थप कष्टकर बनेको उनको भनाइ छ । त्यसैगरी, सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि स्थानीय तहसम्म पुग्नुपर्ने व्यवस्थाले शौचालयसम्म जान नसक्ने अवस्थाका ज्येष्ठ नागरिकसमेत समस्यामा पर्ने गरेको उनले बताए । यस्ता नागरिकलाई लक्षित गरी घरमै सेवा उपलब्ध गराउने वा अन्य सहज व्यवस्था गर्न उनले सरकारसँग माग गरे ।
त्यस्तै, सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकका लागि ५० प्रतिशत भाडा छुट र सवारीसाधनमा आरक्षित सिटको व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनीहरूको गुनासो छ । कानुनी व्यवस्था भए पनि व्यवहारमा ज्येष्ठ नागरिकले उभिएरै यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताए । ज्येष्ठ नागरिकका समस्या र गुनासो सम्बोधन गर्न छुट्टै मन्त्रालय आवश्यक रहेको राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका उपाध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए ।
ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालय नहुँदा आफ्ना समस्या सुनाउने र समाधानका लागि पहल गर्ने अभिभावक निकायको अभाव महसुस भएको उनको भनाइ छ । छुट्टै मन्त्रालय स्थापना भए ज्येष्ठ नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सहज हुने उनले बताए ।
विशेषगरी सार्वजनिक यातायात र अस्पतालमा सेवा लिन जाँदा ज्येष्ठ नागरिकले विभिन्न कठिनाइ तथा विभेद भोग्नुपरेको सहभागीहरूले बताएका छन् । राज्यले उपलब्ध गराएका सेवा सुविधाको प्रभावकारी कार्यान्वयन गर्दै ज्येष्ठ नागरिकलाई सम्मानजनक र सहज सेवा प्रदान गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजना तथा ज्येष्ठ नागरिक जिल्ला संघ धनकुटाको सहआयोजनामा महासंघको १२ औँ साधारणसभा धनकुटामा आयोजना गरिएको हो । शनिबार र आइतबार दुई दिनसम्म सञ्चालन भएको साधारणसभाको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए ।
प्रतिक्रिया 4