+
+
Shares

एआई युगको शक्ति संघर्ष : ‘जासुसी’को बहानामा एनभिडियामा ‘कु’

ट्रम्प प्रशासनभित्र रहेका चीनविरोधी कट्टरपन्थीहरूले यस घटनालाई चीनसँगको वार्तामा कस्तो लेनदेन र सौदाबाजीका लागि उपयोग गर्ने आकलन गरेका छन्, त्यो पनि विचारणीय छ। अवश्य पनि समयसँगै अरू कुरा पनि खुल्दै जाने नै छन्।

प्रदीप पौडेल प्रदीप पौडेल
२०८३ मंसिर १ गते १०:२५

एनभिडियाका संस्थापक तथा सीईओ जेन्सेन हुआङ र चिनियाँ जासुस भनिएकी महिलाका बलिउड गीतका एआई क्लिपहरू निकै भाइरल भइरहेका छन्। हेर्दा रमाइलो पनि लाग्छ। तर, त्यो क्षणिक रमाइलोलाई माथ खुवाउने गरी पर्दापछाडि कुन तहको षड्यन्त्र र ‘कु’ भइरहेको छ वा हुन सक्ने सम्भावना छ भन्ने हेक्का राख्नु पनि जरुरी छ ।

एनभिडिया अहिलेको दोस्रो ठूलो कम्पनी मात्र नभएर वर्तमान एआई युगको इन्जिनका रूपमा हेरिने अति नै उन्नत चिप निर्माण गर्ने कम्पनी हो। यस कम्पनीको दोस्रो प्रतिस्पर्धी निकै तल छ। यस कम्पनीको उत्पादन तथा वितरणको आपूर्ति शृङ्खला र प्रविधिगत ज्ञानमाथि नियन्त्रण कायम गर्न सक्ने सरकार वा संस्थाले भोलिको युगको राजनीतिक, सामाजिक र सैन्य शक्तिमा निर्णायक प्रभाव पार्न सक्नेछ।

जेन्सेन हुआङले सन् १९९३ मा यो कम्पनीको सुरुवात गरेर अहिलेसम्म निरन्तर सीईओका रूपमा नेतृत्व गर्दै कम्पनीलाई आजको अत्यन्त महत्त्वपूर्ण स्थितिमा पुर्‍‍याएका हुन्। एनभिडिया संसारका महाशक्ति राष्ट्रहरू र तिनका सैन्य संयन्त्रहरूको चाहनाको वस्तु निर्माण गर्ने कम्पनी मात्र नभएर आर्टिफिसियल इन्टेलिजेन्सको अहिलेको उछाल र प्रविधि क्रान्तिलाई वित्तीय तथा प्राविधिक आधार प्रदान गर्ने प्रमुख कम्पनी पनि हो। यस्तो अग्रपङ्क्तिको कम्पनीको सीईओ हुनुको मूल्य निकै चर्को हुँदो हो। जेन्सेनको मामिलामा विवाहेत्तर सम्बन्धमाथि जासुसीको कोण पनि जोडिएपछि आरोपले अर्को आयाम लिएको छ।

सम्बन्ध, जासुसी र प्रतिष्ठामाथिको प्रहार

जहाँसम्म एलिस हुआङ चिनियाँ जासुस भएको कुरा छ, यो हुन पनि सक्छ, नहुन पनि। जेन्सेनको राजीनामापछि उनी जासुस नै थिइन् भन्ने दाबीलाई प्रश्न गर्ने खालका रिपोर्टहरू पनि आउन थालेका छन्। कतिपयले त उनी जासुस होइनन्, चिनियाँ नागरिक मात्र हुन् भन्न थालेका छन्। हुन त पक्का जासुसले अलि गोप्य तरिकाले नै काम गर्थे होलान् नि! एलिस र जेन्सेनको विवाहेत्तर सम्बन्ध तथा रात्रिभोजका तस्बिर र दृश्यहरू त टेलिभिजनमै छ्यापछ्याप्ती आएका छन्।

जे होस्, सिङ्गापुर हुँदै चीनसँग व्यापार गर्ने एलिस, अझ भन्नुपर्दा उनको ‘मेगास्पिड’ कम्पनीमार्फत, एनभिडियाका चिपहरूको तस्करी वा अनौपचारिक रूपमा चीन निर्यात गर्ने कार्यमा संलग्नता रहेको देखिन्छ।

जेन्सेनसँगको आफ्नो निकटतालाई उनले चिनियाँ सामाजिक सञ्जालमा प्रदर्शन गर्दै त्यसको वैयक्तिक व्यावसायिक लाभ उठाएको हुन सक्छ। एलिस हुआङ चिनियाँहरूको पूर्णकालीन जासुसभन्दा पनि एउटा सम्पर्क व्यक्ति (जसलाई प्राविधिक रूपले जासुस त मान्न सकिएला) सम्म चाहिँ होलिन्।

यी दुईबीचको सम्बन्धबारे ट्रम्प र उनको मन्त्रिपरिषद्का धेरै सदस्यहरूलाई थाहा थियो भन्ने कुरा पनि बाहिर आएको छ। बरु, ट्रम्प प्रशासनभित्र रहेको चीनविरोधी कट्टरपन्थी पक्षले उनीहरूको सम्बन्धलाई जेन्सेनको चरित्र र विवेकमाथि प्रश्न उठाउन तथा उनको प्रतिष्ठामा आँच पुर्‍याउन उपयुक्त समयमा प्रयोग गरेको हुन सक्छ। त्यसको लगत्तै एनभिडियाभित्रकै अर्की महिलाले पनि जेन्सेनसँग सम्बन्ध रहेको खुलासा गरिन्। यसरी आफ्नै कर्मचारीसँग सम्बन्ध राखेको भन्दै त्यसलाई नैतिकताको प्रश्न बनाइयो।

प्रतिष्ठामा आँच र नैतिक प्रश्नको दोहोरो अस्त्र प्रयोग गरिएका एनभिडियाका सीईओसँग कम्पनीको ३-४ प्रतिशत सेयर मात्र रहेछ। त्यसमाथि, टेस्ला वा फेसबुकका सीईओको जस्तो विशेष मतदान अधिकार पनि रहेनछ उनको। त्यसैले अहिलेको संसारकै सबैभन्दा महत्त्वपूर्ण कम्पनीमा साँच्चैको ‘कु’ भएको हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो।

सम्भावित तीन परिदृश्य

यस घटनालाई उच्चपदस्थ व्यक्तिको पतन भएको एक साधारण कथाका रूपमा मात्र हेर्दा धेरै कुरा छुट्न सक्छ । यस घटनाको निहितार्थ षड्यन्त्रको सम्भावित आयाममा मात्र सीमित छैन। यसले आगामी युगमा शक्तिराष्ट्र वा प्रभावशाली कर्पोरेसनमध्ये कसको वर्चस्व कायम हुनेछ,  कसको हातमा कति उन्नत प्रविधि र त्यसको रणनीतिक प्रयोग गर्ने क्षमता हुनेछ तथा समाजमा आर्टिफिसियल इन्टेलिजेन्सको भूमिका र सरकारको निगरानी कति व्यापक हुनेछ भन्नेजस्ता गम्भीर प्रश्न पनि उठाउँछ।

पहिलो परिदृश्य: नैतिकताको प्रश्न र कम्पनीको भविष्य

एनभिडियाको बोर्डलाई र अमेरिकी प्रविधि क्षेत्रलाई एकाएक जेन्सेनको विवाहेत्तर सम्बन्ध भएको कुरा, त्यसमा पनि आरोप लागेजस्तै चिनियाँ जासुससँगको सम्बन्धको कुरा बेठीक लागेको हुनसक्छ। हुन त यस्तो सम्बन्ध यो क्षेत्रका उच्चपदस्थ व्यक्तिहरूका लागि कुनै अनौठो वा दुर्लभ कुरा होइन । तर यसपटक त्यसमा चिनियाँ जासुसको कोण पनि जोडिएकाले कुरा अलि गम्भीर बनेको हुन सक्छ। फलस्वरूप, कम्पनीलाई संसारकै सर्वाधिक लाभदायी कम्पनीहरूमध्ये एक बनाउन सफल सीईओलाई उनको अनैतिक सम्बन्धको सबक सिकाउन कम्पनीकै भविष्य दाउमा राखेर हटाइयो।

म यस परिदृश्यको सम्भाव्यता १० प्रतिशतभन्दा कम देख्छु। किनकि जेन्सेनको बहिर्गमनले एनभिडियालाई समेत ठूलो नोक्सान पुर्‍याउने जोखिम छ।

दोस्रो परिदृश्य: प्रविधिमाथिको नियन्त्रण

अर्को परिदृश्य के हुन सक्छ भने एनभिडियाको चिप प्रविधिमा रहेको अग्रताको फाइदा लिन, त्यसमा पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धीहरूमाथि नियन्त्रण कायम राख्न अत्यन्तै सफल र सक्षम सीईओलाई हटाएर उनको ठाउँमा प्रभावमा पार्न सकिने व्यक्तिलाई कुनै शक्तिकेन्द्रको पहलमा नियुक्त गराउनु। त्यसपछि उक्त प्रविधिको प्रयोग सुरक्षा तथा निगरानीको क्षेत्रमा अझ व्यापक रूपमा विस्तार गर्नु पनि यसको उद्देश्य हुन सक्छ।यस्तो नेतृत्व परिवर्तनमा कम्पनीको स्वामित्व संरचना, संस्थागत लगानीकर्ता र बोर्डभित्रको शक्ति सन्तुलनले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

बजारलाई प्रभावित वा परिचालित गर्न र संसारको भू-राजनीतिक घटनाक्रमको गतिलाई समेत आफ्नो अनुकूल दिशामा मोड्न ठूला कम्पनीहरूले यस्तो काम गर्न सक्छन्। यसका सम्पूर्ण घटनाक्रम नै सुव्यवस्थित षड्यन्त्र हो भन्नु पनि अतिशयोक्ति हुन सक्छ। तर, घटनाक्रमलाई आफ्नो अनुकूल बनाउन त्यस्ता कम्पनीहरूले आवश्यक कदम चालेका हुन सक्छन्। म यस परिदृश्यको सम्भाव्यता लगभग २०-२५ प्रतिशत हाराहारीमा राख्छु।

तेस्रो परिदृश्य: चीनविरोधी पक्षको रणनीतिक प्रभाव

यी तीन परिदृश्यमध्ये तेस्रो परिदृश्य नै सबैभन्दा बढी सम्भावित देखिन्छ। अङ्कमै राख्नुपर्दा, म यसको सम्भाव्यता ५० प्रतिशतभन्दा बढी आकलन गर्छु।

अमेरिकाकै अन्य एआई कम्पनीहरूलाई जेन्सेनले चीनलाई चिप बेचिरहेको कुरा त्यति ठीक नलाग्नु स्वाभाविक हो। एन्थ्रोपिकले नोभेम्बर १८ मा आईपीओ जारी गर्दै छ भने ट्रम्प पनि त्यही दिन चीन भ्रमणमा जाँदै छन्। अमेरिकी एआई कम्पनीहरूका लागि मुख्य प्रतिस्पर्धी चीन नै हो। अमेरिकाबाहेक चीन मात्रै यस्तो अर्को राष्ट्र हो, जहाँको कम्पनीले अमेरिकी कम्पनीसँग चिप प्रविधिमा प्रतिस्पर्धा गर्ने सामर्थ्य राख्छ। जेन्सेनलाई हटाइनु भनेको अहिले ट्रम्प सरकारभित्र चीनविरोधी कट्टरपन्थी पक्ष हाबी भएको सङ्केत पनि हुन सक्छ।

जेन्सेन हुआङ चीनमा चिप निर्यातमा पूर्ण प्रतिबन्ध लगाउनु हुँदैन भनेर वकालत गर्ने व्यक्ति थिए। चीनलाई चिपको पहुँचबाट वञ्चित गर्दा उसलाई आफ्नै चिप निर्माण गर्न झन् प्रोत्साहन मिल्ने र त्यसले अन्ततः अमेरिकी चिप उद्योगको अग्रता तथा त्यसबाट प्राप्त रणनीतिक लाभ कमजोर बनाउँदै लैजाने कुरामा उनी विश्वस्त थिए।

चीनसँगको चिप व्यापारमा प्रतिबन्ध रहेकै अवस्थामा पनि ट्रम्प प्रशासनको अनौपचारिक स्वीकृतिमा तेस्रो मुलुक हुँदै उनले चीनलाई चिप बिक्री गरिरहेका थिए भन्ने देखिएको छ। यता, नोभेम्बर १८ कै दिन अमेरिकी कङ्ग्रेसले बन्द कोठाभित्र हुने गोप्य ब्रिफिङका लागि जेन्सेनलाई झिकाएको छ। चीन र ट्रम्प सरकार, त्यसमा पनि स्वयं राष्ट्रपतिसँग, दुई देशबीचको चिप दौड र एआई प्रतिस्पर्धामा समन्वयकारी भूमिका निर्वाह गरिरहेका जेन्सेन ट्रम्पको यस भ्रमणमा अनुपस्थित हुनेछन्।

यस्तो अवस्थामा उनको राजीनामाले ट्रम्पको आगामी हप्ता हुने चीन भ्रमणमा कस्तो राजनीतिक असर र हिसाबकिताब राख्छ, त्यो त बिस्तारै देखिनेछ । ट्रम्प प्रशासनभित्र रहेका चीनविरोधी कट्टरपन्थीहरूले यस घटनालाई चीनसँगको वार्तामा कस्तो लेनदेन र सौदाबाजीका लागि उपयोग गर्ने आकलन गरेका छन्, त्यो पनि विचारणीय छ। अवश्य पनि समयसँगै अरू कुरा पनि खुल्दै जाने नै छन्।

तर, त्यतिन्जेल हामी भने जेन्सेन र एलिसका बलिउड गीतका एआई क्लिपहरू हेरेर रमाइलो गरिरहनेछौँ, जबकि पर्दापछाडि भइरहेको शक्ति संघर्षको वास्तविक कथा अझै खुल्न बाँकी नै छ।

(लेखक अमेरिकाको टेक्सास ए एन्ड एम विश्वविद्यालयबाट स्नातक उत्तीर्ण इलेक्ट्रिकल इन्जिनियर हुन्) 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?