साउदी अरबले यमनमा हुथी विद्रोहीको विरूद्धको आफ्नो नेतृत्वको सैन्य गठबन्धनका कमान्डरलाई पदबाट हटाएको छ ।
सैन्य अभियानमा साउदी समर्थित यमनी सरकारी सेनाले ठूला रणनीतिक भूभागहरू गुमाउँदै पछि हट्नुपरेपछि साउदी अरबले यो कदम चालेको हो ।
यो सैन्य धक्कालाई रियादको यमन अभियानका लागि एक गम्भीर असफलताका रूपमा हेरिएको छ ।
यसै वर्षको अमेरिका र इरानबीचको युद्ध भड्किएसँगै सन् २०२२ देखि सुषुप्त अवस्थामा रहेको यमनको गृहयुद्ध पुनः बल्झिएको थियो ।
त्यसयता हुथी विद्रोहीहरूले साउदी समर्थित यमनी सरकारविरुद्ध भूभाग कब्जा गर्दै आएका छन् । जसले साउदी अरबलाई पुनः प्रत्यक्ष सैन्य टकरावमा तानेको छ ।
सलमानको शाही आदेश
साउदी सरकारी सञ्चारमाध्यमका अनुसार साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउदले सोमबार एक शाही आदेश जारी गर्दै साउदी नेतृत्वको गठबन्धन सेनाको कमान्डमा व्यापक परिवर्तन गरेका हुन् ।
उक्त आदेश अनुसार गठबन्धनका वर्तमान कमान्डर लेफ्टिनेन्ट जनरल फहद बिन हमद अल–सलमानलाई उक्त जिम्मेवारीबाट हटाएर रक्षामन्त्रीको सैन्य मामिला सल्लाहकारमा नियुक्त गरिएको छ । उनको स्थानमा साउदी सशस्त्र बलका प्रमुख जनरल फयाद अल–रुवैलीलाई संयुक्त सेनाको कमान्ड सम्हाल्ने अतिरिक्त जिम्मेवारी सुम्पिएको छ ।
पछि हट्यो सरकारी सेना
गत अक्टोबरमा गरेको प्रत्याक्रमणमा यमनले आफ्ना केही भूभाग फिर्ता लिएको थियो । आइतबार विश्व व्यापारको प्रमुख समुद्री मार्ग बाबल मन्देब आसपासका क्षेत्रहरूबाट आफ्ना सेना फिर्ता बोलाएको घोषणा गरेको छ ।
दक्षिणी तटीय बन्दरगाह सहर अडेन स्थित आफ्नो मुख्य प्रशासनिक तथा सैन्य आधार जोगाउन सेना पछि हटाइएको सरकारले जनाएको छ ।
यमनी सेनाका स्रोतहरूले सोमबार बताए अनुसार हुथी लडाकुहरू अडेनबाट करिब १०० किलोमिटर पश्चिममा पर्ने दक्षिणी तटीय क्षेत्र खोर ओमैरा सम्म आइपुगेका छन् । उनीहरू अर्को तटीय क्षेत्र कावाहस्थित सरकारी सेनाको रक्षा पङ्क्तिबाट मात्र २५ किलोमिटरको दूरीमा छन् ।
सन् २०१४ मा हुथीहरूले राजधानी साना कब्जा गरेयता अडेन नै यमनी सरकारको शक्ति केन्द्र रहँदै आएको छ ।
अडेनका स्थानीय बासिन्दाहरूका अनुसार सरकारी सुरक्षा बलले सहरभित्र जाँच चौकीहरू बढाएको छ । र, नागरिकहरूको परिचयपत्र जाँचमा कडाइ गरेको छ ।
अडेनमा खाद्यान्न र इन्धनको आपूर्ति सहज रहे पनि सरकारी सेना पछि हटेको खबर र लडाइँ अडेनको नजिक आउन सक्ने सम्भावनाले सर्वसाधारणहरू निकै चिन्तित बनेका छन् ।
रक्षात्मक अवस्थामा सरकार
यमन सरकारका अधिकारीहरूका अनुसार, सरकारको मुख्य ध्यान अब अडेन सहर र छिमेकी लाहज प्रान्तलाई सुरक्षित राख्नुमा केन्द्रित छ ।
हुथीहरूले कब्जा गरेका क्षेत्रहरू पुनः फिर्ता लिनका लागि सरकारी सेनालाई अग्रपङ्क्तिमा पुनः परिचालन र पुनर्संगठित गर्ने काम भइरहेको स्रोतहरूले जनाएका छन् ।
केही विश्लेषकहरूका अनुसार, सरकारी पक्षले व्यहोरेको यो हारको मुख्य कारण सरकारी फौजभित्रको आन्तरिक विभाजन र गुटबन्दी हो ।
वर्षौँदेखिको आपसी असहमति र आन्तरिक कलहका कारण कमजोर बनेको सरकारी फौजको फाइदा हुथी विद्रोहीहरूले उठाइरहेका छन् । यमन युद्ध पुनः चर्किएयता हुथीहरूले साउदी अरबका विमानस्थल र तेल प्रशोधन केन्द्रहरूमा ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएका छन् ।
यमनको गृहयुद्ध पुनः सुरु भएपछि हुथी विद्रोहीहरूले लाल सागरको तटीय क्षेत्र र बाबल मन्देब जलमार्गमा कब्जा जमाएका थिए । साथै, उनीहरूले अडेन जाने पहाडी मार्गमा पर्ने देशको तेस्रो ठूलो सहर ताइजमा रहेका सरकारी फौजलाई समेत घेराबन्दीमा पारेका छन् ।
गत महिना साउदी समर्थित फौजले जलमार्ग आसपासको धुबाब जस्ता प्रमुख स्थानहरू फिर्ता लिए पनि हुथीहरूलाई उक्त क्षेत्रबाट पूर्ण रूपमा लखेट्न र तटीय सहर अल मोखा पुनः कब्जा गर्न असफल भएका थिए ।
यमनमा हुथीहरूको यो सैन्य सफलता तथा साउदी अरब र लाल सागरको पानीजहाज मार्गमा भइरहेका आक्रमणले बृहत् मध्यपूर्व द्वन्द्वमा इरानको रणनीतिक अवस्थालाई थप बलियो बनाएको छ ।
प्रतिक्रिया 4