७ मंसिर, काठमाडौं । रोयल इन्फिल्डले आफ्नो सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने भएको छ । कम्पनीले आगामी डिसेम्बर १२ (मंसिर २६) मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो ।
भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको हन्टरहुड संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने महोत्सव हो । काठमाडौंमा आयोजना हुन लागेको महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको सहभागिता रहनेछ ।
दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा भारतीय चर्चित र्यापर डिभाइन मुख्य आकर्षणका रूपमा रहनेछन् । उनले नेपाली र्यापर साकारसँगै प्रस्तुति दिनेछन् । त्यस्तै, नेपाली ब्यान्ड कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीले पनि सांगीतिक प्रस्तुति दिनेछन् । नेपाल हिपहप फाउन्डेसनको सहभागिताले नेपाली हिपहप संस्कृतिलाई समेत महोत्सवमा विशेष स्थान दिइने कम्पनीले जनाएको छ ।
रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकलको सहरी जीवनशैली र व्यक्तिगत अभिव्यक्तिको अवधारणाबाट सुरु गरिएको हन्टरहुडलाई युवा, कलाकार, स्केटर तथा सिर्जनात्मक समुदायलाई जोड्ने उत्सवका रूपमा विकास गरिएको कम्पनीको भनाइ छ । काठमाडौंको मौलिक कला, संगीत र बढ्दो सहरी संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले नेपाललाई आयोजना स्थलका रूपमा छनोट गरिएको हो ।
महोत्सवमा संगीतसँगै स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल र बास्केटबललगायतका गतिविधि पनि सञ्चालन हुनेछन् । नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसनको सहकार्यमा स्केटपार्कका गतिविधि सञ्चालन गरिनेछ । स्केटरहरूका लागि ‘क्यास फर ट्रिक्स’ चुनौतीसमेत राखिएको छ । यसमा सहभागीले आफ्नो सीप प्रदर्शन गरी पुरस्कार जित्न सक्ने आयोजकले जनाएको छ।
त्यस्तै, एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा फ्रिस्टाइल फुटबल, बास्केटबल, रियाक्सन क्याच, हिट द क्यान र गिल्ली डण्डालगायतका खेल सञ्चालन हुनेछन् । आयोजकका अनुसार यी गतिविधिमा दर्शकले समेत सहभागी हुन पाउनेछन् ।
नेपाली परम्परागत कला र आधुनिक सिर्जनात्मक प्रस्तुतिलाई पनि महोत्सवमा समेटिएको छ । लाखे नाच, भैरव तथा काली नृत्य र ओटाकु जात्राको कस्प्ले प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकको अपेक्षा छ । यसका साथै टोट ब्याग प्रिन्टिङ, क्याप कस्टमाइजेसन, चार्म निर्माण र परम्परागत मुखौटा बनाउने कार्यशालासमेत सञ्चालन हुनेछन् । सहभागीले ट्याटु तथा फेस पेन्टिङको अनुभव पनि लिन सक्नेछन् ।
स्थानीय फेसन तथा सिर्जनात्मक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा विशेष फ्ली मार्केटसमेत रहनेछ । उक्त बजारमा विभिन्न नेपाली ब्रान्डका पोसाक, एसेसरिज तथा सिर्जनात्मक उत्पादनसँगै रोयल इन्फिल्डका पोसाक र एसेसरिज उपलब्ध हुनेछन् ।
खानाका पारखीका लागि पनि विभिन्न परिकार तथा पेय पदार्थका स्टल राखिनेछन् । आयोजकका अनुसार महोत्सवले संगीत, कला, संस्कृति, खेलकुद, फेसन र खानाको विविधतालाई एउटै थलोमा प्रस्तुत गर्नेछ ।
कार्यक्रमको टिकट खल्ती र टिकट सञ्जालबाट खरिद गर्न सकिनेछ । टिकटको मूल्य ३५० रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4