+
+
Shares

५ लाख ९९ हजार मूल्यमा रोयल इन्फिल्डको ‘गोर्खा एडिसन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते २१:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अल्फा अटोमोटिभले काठमाडौंमा रोयल इन्फिल्ड क्लासिक ३५० ‘गोर्खा एडिसन’ सार्वजनिक गरेको छ।
  • कम्पनीले क्लासिक ३५० गोर्खा एडिसनको सुरुवाती मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
  • नयाँ एडिसनमा ओलिभ ग्रीन रङ, विशेष ग्राफिक्स र क्रस्ड खुकुरीको मोटिफ राखिएको छ।

४ भदौ, काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्राइभेट लिमिटेडले ‘रोयल इन्फिल्ड गोर्खा एडिसन’ सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा उक्त नयाँ एडिसनको अनावरण गरिएको हो ।

कार्यक्रममा बोल्दै अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले रोयल इन्फिल्डको १२५ वर्ष लामो गौरवमय इतिहास र नेपाली राइडरहरूसँगको प्रगाढ सम्बन्धलाई स्मरण गरे । उनले ‘गोर्खा’ नाम केवल एउटा ब्रान्ड मात्र नभएर नेपाली वीरता, साहस र अनुशासनको पहिचान भएको र यसलाई रोयल इन्फिल्डको विरासतसँग जोड्न पाउनु गर्वको विषय भएको बताए ।

‘आज हामी एउटा नयाँ मोटरसाइकल मात्र सार्वजनिक गरिरहेका छैनौँ, बरु नेपाली राइडरहरूको भावना र गोर्खाली पहिचानलाई सडकमा उतार्ने प्रयास गरिरहेका छौँ,’ उनले भने । गोर्खा एडिसनले रोयल इन्फिल्डको क्लासिक डिजाइन र नेपाली गौरवको भावनालाई एकाकार गरेको दाबी कम्पनीको छ ।

अल्फा अटोमोटिभले नेपाली बजारमा हन्टर, क्लासिक, मिटियर, र्स्क्याम, हिमालयन र हालै सार्वजनिक भएको गुरिल्ला जस्ता मोडेलहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले मोटरसाइकल बिक्रीमा मात्र सीमित नभई बिक्री पछिको सेवा, स्पेयर पार्ट्स र राइडिङ कम्युनिटीलाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

‘नाम गोर्खाको, भावना नेपालीको, यात्रा रोयल इन्फिल्डको’ भन्ने नाराका साथ सार्वजनिक गरिएको यो एडिसनले रोयल इन्फिल्डको पारखीहरूले थप रुचाउने अपेक्षा गरिएको छ ।

विशेषताहरू :

रोयल इन्फिल्डले क्लासिक ३५० को विशेष संस्करण ‘गोर्खा एडिसन’ नेपाली बजारमा बिक्री सुरु गरिएको हो । कम्पनीले क्लासिक ३५० गोर्खा एडिसनको सुरुवाती मूल्य ५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । यो मोडल भारतमा सार्वजनिक भएको केही समयमै नेपाली बजारमा समेत उपलब्ध भएको हो ।

नयाँ गोर्खा एडिसनमा क्लासिक ३५० को मूल डिजाइन र मेकानिकल संरचनामा ठूलो परिवर्तन नगरिएको कम्पनीले दाबी गरेको छ । नियमित मोडलभन्दा यसलाई मुख्य रूपमा नयाँ रङ, विशेष ग्राफिक्स र गोर्खा पहिचान झल्काउने डिजाइनमार्फत छुट्टै बनाइएको छ ।

गोर्खा एडिसनको मुख्य विशेषता यसको लाइट मिलिटरी अर्थात् ओलिभ ग्रीन रङ हो । सैन्य सवारीसाधनमा प्रयोग हुने रङसँग मिल्दोजुल्दो यसले मोटरसाइकललाई फरक र आकर्षक लुक दिएको छ ।

साइड प्यानलमा ‘न्यचपजब भ्मष्तष्यल’ लेखिएको विशेष ग्राफिक्ससँगै क्रस्ड खुकुरीको मोटिफ राखिएको छ । यसले भारतीय सेनाको गोर्खा रेजिमेन्टसँग जोडिएको पहिचानलाई डिजाइनमार्फत प्रस्तुत गर्छ ।

बाहिरी डिजाइनमा वायर–स्पोक ह्वील, राउन्ड मिरर, क्रोम एग्जस्ट तथा क्रोम हेडलाइट जस्ता क्लासिक ३५० का परिचित विशेषता कायम छन्। राइडर र पिलियनका लागि छुट्टाछुट्टै सिट दिइएको छ ।

गोर्खा एडिसनमा नियमित क्लासिक ३५० मै प्रयोग हुँदै आएको ३४९ सीसीको सिंगल–सिलिन्डर, एयर तथा आयल–कुल्ड जे–सिरिज इन्जिन प्रयोग गरिएको छ ।

यसले २०.२ बीएचपी अधिकतम पावर र २७ एनएम टर्क उत्पादन गर्छ। इन्जिनलाई ५–स्पीड गियरबक्ससँग जोडिएको छ । मोटरसाइकलमा सेमी–डिजिटल इन्स्टुुमेन्ट क्लस्टर उपलब्ध छ, जसमा एनालग स्पिडोमिटरका साथै एलसीडी डिस्प्ले दिइएको छ ।

समग्रमा, क्लासिक ३५० गोर्खा एडिसनमा प्रदर्शनभन्दा यसको विशेष पहिचान र सैन्य शैलीको डिजाइनलाई प्राथमिकता दिइएको छ । नियमित क्लासिक ३५० को परिचित मेकानिकल प्याकेजलाई कायम राख्दै नयाँ रङ र गोर्खा–केन्द्रित डिजाइनमार्फत यसलाई विशेष संस्करणका रूपमा प्रस्तुत गरिएको छ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?