निकै तडकभडकका साथ प्रदर्शनमा आएका नेपाली फिल्महरूको ओठतालु सुकेको छ । अधिकांश फिल्मको कमाइ औसतभन्दा कम छ । प्रचलित गणितअनुसार कमाइको बाँडफाँट गर्दा धेरै निर्माता ऋणात्मक हुने देखिएको छ ।
११ दिनअघि प्रदर्शनमा आएको फिल्म ‘बाटुलो जून’ ले सुरुवातमा हललाई हराभरा बनाएर राम्रो सङ्केत देखाएको थियो । तर, पछि फिल्मको हल्लाखल्ला मत्थर हुँदै जाँदा हलका सिटहरू पनि खाली हुँदै गए । पछिल्ला दिनमा कमजोर रिभ्युका कारण ‘बाटुलो जून’ को कमाइमा ग्रहण लाग्दै गएको छ । मेगास्टार अनमोल केसीको यस फिल्मले ११ दिनमा ८ करोड ३५ लाख ३७ हजार ९ सय १७ रुपैयाँ कमाइ गरेको छ ।
‘बाटुलो जून’ जस्तै अधोगतिमा लाग्ने फिल्महरूमा क्रमशः ‘आमा’ र ‘बा’ पनि छन् । ‘आ बाट आमा–२’ को आजसम्मको कमाइ ७ करोड १८ हजार रुपैयाँ छ । यस्तै, ‘बा एक योद्धा’ ले ३ करोड ५७ लाख ६९ हजार ४ सय ४१ रुपैयाँ कमाइ गरेको छ ।
फिल्म ‘पाँच पाण्डव’ कमाइको यो सूचीमा सबैभन्दा पछाडि छ । यसले अहिलेसम्म ४५ लाख २२ हजार रुपैयाँ मात्र कमाइ गरेको छ ।
‘पेन्सन पट्टा’ र ‘कबड्डी’ यो पङ्क्तिको शीर्ष स्थानमा छन् । तर, यिनीहरूको पछिल्लो कमाइको गति निकै सुस्त छ । ‘पेन्सन पट्टा’ ले अहिलेसम्म १० करोड ३६ लाख ८३ हजार रुपैयाँ कमाइ गरेको छ । यस्तै, ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले अहिलेसम्म १३ करोड २६ हजार रुपैयाँ कमाएको छ ।
‘१२ गाउँ–२’ र ‘छ माया छपक्कै–२’ ले भने आफ्नो खाता बन्द गरिसकेका छन् ।
प्रतिक्रिया 4