नेपाली समाजमा एउटा भनाइ छ, ‘जुत्ता हेरेर मान्छेको औकात थाहा हुन्छ ।’ यसको सोझो अर्थ, पैतालाले टेक्ने जुत्ताले मान्छेको उचाइ नाप्ने गरिन्छ ।
खासमा ‘जुत्ता’ एक बिम्ब हो । त्यसैले त यसको बारेमा कविता लेखिए, कथा रचिए । उखान-टुक्का बनाइए । हुँदाहुँदा नेपाली फिल्मले डायलग पनि हिट बनाइदिए, ‘मन परेको जुत्ता पो जुत्ता । नभए त खाली खुट्टै ठीक ।’
जुत्तामा मान्छेहरू किन यति मरिहत्ते गर्छन् ?
यसको उत्तर नवीन सुब्बादेखि दीपेन्द्र के. खनालसम्मले दिनुपर्ने हुन्छ । किनभने यिनीहरूले जुत्तालाई काखी नै च्यापेर बसेका छन् । निकेश खड्कालाई त जुत्ताले उहिल्यै नै तर्साइसकेको छ ।
यति भूमिका बाँधेपछि थाहा पाउनु नै भयो होला, यो प्रसंग नेपाली फिल्मको टाइटलबारे हो । हालै मात्र नवीन सुब्बा ‘लाहुरेको जुत्ता’ बनाउन फिल्डमा पुगिसकेका छन् । भनिन्छ, उनको फिल्म धमाधम छायांकन हुँदैछ ।
‘नुमाफुङ’ फेम्ड निर्देशकले बीचमा लामो समय विश्राम लिए । ‘गुडबाई काठमाडौं’ बनाएपछिको समय उनी दोस्रो फिल्म निर्देशन गर्ने हतारोमा देखिएनन् । तर, पछिल्लो समय भने उनको सक्रियता बढेको छ । ‘गाउँ आएको बाटो’को धुलो उड्न छाडेको छैन, उनी दोस्रो फिल्म लिएर छायांकनस्थलमै पुगिसकेका छन् । फिल्मको नामले धेरै कुरा खुल्छ, ‘लाहुरेको जुत्ता’ ।
जुत्तामा मोहित हुने अर्का फिल्ममेकर हुन्, दीपेन्द्र के. खनाल । त्यही भएर त उनले ‘हरिबहादुरको जुत्ता’ बनाए । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्मको सिक्वेल बन्ने गाइँगुई चलेको थियो । तर, अहिले त्यो हल्ला मत्थर भइसकेको छ । बरु उक्त फिल्मको निर्माण टिम अर्को स्क्रिप्टलाई अन्तिम रूप दिने तयारीमा रहेको बुझिन्छ ।
यी दुई जुत्ता आउनुअघि निकेश खड्काले एउटा जुत्ता थोत्रो बनाइसकेका थिए । उनको जुत्ता थियो, ‘फाटेको जुत्ता’ । फिल्मले प्रचारको फन्डा गजब अपनाएको थियो । कतिपय दर्शकले आफ्नो फाटेको जुत्ता लिएर आएपछि फिल्म निर्माण टिमले उनीहरूलाई नयाँ जुत्ता दिएर पठाउँथ्यो । तर, फिल्म प्रदर्शनपछि नयाँ जुत्ता व्यर्थै दिइएछ भनेजस्तै भएको थियो ।
जे होस्, जुत्ताको कथा नेपाली फिल्मले भनिरहने नै छ । किनभने अहिले दृश्यमा केही जुत्ताहरूको चर्चा हुन थालेको छ । सेतो जुत्ता, सायद तपाईंले थाहा पाइसक्नुभयो ।
प्रतिक्रिया 4