+
+
Shares

कांग्रेसले सरकारलाई भन्यो- संयमलाई कमजोरी नठानियोस्

केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्दै कांग्रेसले शैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन सरकारलाई सचेत गराएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १६:३२

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई शैली सच्याएर विधि र संवैधानिक मर्यादामा रहेर जनसरोकारमा केन्द्रित हुन सचेत गराएको छ ।

केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्दै कांग्रेसले शैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन सरकारलाई सचेत गराएको हो ।

बैठकले गरेको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस सरकारलाई पुन: स्पष्ट पार्न चाहन्छ– हामी सरकारको असफलता चाहँदैनौ, देशको सफलता चाहन्छौं । सरकार विधिसम्मत ढङ्गले चलोस, षडयन्त्र र प्रियतावादमा होइन राष्ट्रिय हित र जनअपेक्षामा केन्द्रित होस् ।’

सरकारका राम्रा काममा साथ सहयोग रहने भन्दै कांग्रेसले सरकारको सफलता वा असफलताभन्दा पनि आफ्ना लागि संविधान, लोकतन्त्र, राष्ट्रिय हित र नागरिकको अधिकार एवम् जनजीविकाका सवाल सर्वोपरी रहेका स्पष्ट पारेको छ ।

निर्णयमा भनिएको छ, ‘कांग्रेसको संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र जिम्मेवारीपूर्ण व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमति नठान्न नेपाली कांग्रेस सरकारलाई सचेत गराउँछ ।’

कांग्रेसले बैठकबाट सशक्त प्रतिपक्षीय भूमिकालाई थप प्रभावकारी बनाउने समेत निर्णय गरको छ ।

‘नेपाली कांग्रेस संविधान र लोकतन्त्रको रक्षा, विधिको शासन तथा नागरिकका अधिकार र जनजीविकाका सवालमा संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट निरन्तर निगरानी, खवरदारी र सशक्त प्रतिरोध गर्दै आफ्नो प्रतिपक्षीय भूमिकालाई थप प्रभावकारी बनाउने छ,’ निर्णयमा भनिएको छ ।

कांग्रेसले यी विषयलाई संसद्मा सशक्त ढङ्गले उठाउन संसदीय दललाई निर्देश गरेको पनि निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?