संविधान जारी भएसँगै ‘सिंहदरबारको अधिकार घरघरमा’ भन्ने नाराले व्यापक चर्चा पाएको थियो। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएसँगै संविधानको धारा ५६ ले राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने स्पष्ट व्यवस्था गर्यो भने धारा ५७ ले राज्यशक्तिको बाँडफाँट संविधानका अनुसूचीहरूमा उल्लिखित क्षेत्राधिकारअनुसार हुने संवैधानिक प्रत्याभूति दियो।
२०७४ र २०७९ सालको निर्वाचन सम्पन्न भई नागरिकले स्थानीय सरकारको अभ्यास गरेको पनि झन्डै एक दशक पुग्न लागेको छ। एक दशकको यो यात्रामा स्थानीय सरकारले संविधानप्रदत्त स्वायत्तता, कानुन निर्माणको अधिकार, विकासको परिभाषा र जनअपेक्षाको व्यवस्थापन कसरी गर्यो? विकास भनेको वास्तवमा के हो– केवल डोजर चलाएर सडक खन्ने भौतिक पूर्वाधार मात्रै कि नागरिकको समग्र जीवनमा आउने दिगो रूपान्तरण? यी प्रश्नहरूमाथि अब गम्भीर, वस्तुनिष्ठ र निर्मम आत्मसमीक्षा गर्ने बेला आएको छ।
स्थानीय तह नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष गाँसिएको सरकार भएकाले यसका जिम्मेवारी र चुनौतीहरू निकै व्यापक छन्। संविधानको अनुसूची–८ मा स्थानीय तहका २२ वटा एकल अधिकार तथा अनुसूची–९ मा तीनै तहका साझा अधिकारअन्तर्गत १५ वटा विषयहरू सूचीकृत छन्। कार्य विस्तृतीकरण प्रतिवेदन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले एकल अधिकारका विषयलाई झन्डै २०९ र साझा अधिकारलाई ८४ भन्दा बढी कार्यहरूमा विस्तृतीकरण गरेका छन्।
यसैगरी, संविधानको धारा २३२ ले तीनै तहका सरकारबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ भने धारा २३५ बमोजिम ‘संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७’ समेत कार्यान्वयनमा छ। यी अधिकारहरू नै स्थानीय तहको समग्र र दिगो विकासका वास्तविक आधार हुन्।
तर, पहिलो कार्यकालको सुरुवाती चरणदेखि नै अधिकांश जनप्रतिनिधिमा विकास भनेको ‘सडक र भौतिक पूर्वाधार मात्र हो’ भन्ने साझा भ्रम व्याप्त रह्यो। २०७४ सालको पहिलो वार्षिक बजेट अभ्यासमा स्थानीय सडक पूर्वाधारमा कूल पूँजीगत बजेटको अधिकतम हिस्सा विनियोजन गरियो भने हजारौँ किसान आश्रित रहेको कृषि, उत्पादन, गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य जस्ता क्षेत्रमा न्यून रकम मात्र छुट्याइयो।
हुन त स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ को उपदफा ३ ले योजना तर्जुमा गर्दा सुशासन, वातावरण संरक्षण, बालमैत्री शासन, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण जस्ता ९ वटा अन्तरसम्बन्धित विषयहरूमा अनिवार्य ध्यान दिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर आज पनि अधिकांश पालिकाहरू त्यही टुक्रे, हचुवा र कनिका छर्ने बजेट निर्माणमै अल्झिएका छन्।
यस सन्दर्भमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री एस्थर डुफ्लोको भनाइ मननीय छ, ‘नीति निर्माताहरू प्रायः पुल, सडक र ठूला परियोजनाहरूलाई मात्र विकास ठान्ने भ्रममा पर्छन्। तर विकासको असली परीक्षा गरिब, महिला र उपेक्षित मानिसहरूको आत्मसम्मान, उनीहरूको सामाजिक सम्बन्ध र दैनिक जीवनमा आएको सम्मानजनक परिवर्तनमा हुन्छ। सम्मान र आपसी सामाजिक सम्बन्धविनाको भौतिक लाभले मानिसलाई थप निरीह बनाउँछ।’
स्थानीय तहहरूले सम्पादन गर्ने यिनै सयौँ कार्यहरूलाई व्यवस्थित गर्दै सर्वाङ्गीण विकास हासिल गर्न स्थानीय तहको अधिकार क्षेत्र, संस्थागत संरचना र योजना प्रणालीबीच तालमेल हुन आवश्यक छ।
यसै सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन तथा आवधिक योजना तर्जुमा दिग्दर्शनले स्थानीय तहका सबै एकल र साझा अधिकारका विषयहरू समेटिने गरी पाँच वटा विषयगत क्षेत्र र २५ उपक्षेत्र निर्धारण गरेका छन्। सोहीबमोजिम स्थानीय तहहरूमा पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा सुशासन समिति गठन गरी कार्यसम्पादन गरिन्छ।
स्थानीय तहका यी अधिकार र विषयगत क्षेत्रहरू विश्वव्यापी रूपमा तय गरिएका ‘दिगो विकास लक्ष्यहरू’ सँग प्रत्यक्ष जोडिएका छन्। त्यसैले, स्थानीय तहले दिगो विकास लक्ष्यहरूलाई आन्तरिकीकरण र स्थानीयकरण गरी आफ्ना आवधिक तथा वार्षिक लक्ष्यहरू निर्धारण गर्न सके मात्र अपेक्षित उपलब्धि हासिल गर्न सक्छन्।
दिगो विकास लक्ष्यको मूल मर्म नै ‘कसैलाई पनि पछि नछाड्ने’ हो; जसअन्तर्गत गरिबीको अन्त्य, शून्य भोकमरी, गुणस्तरीय शिक्षा, सुस्वास्थ्य, लैङ्गिक समानता, स्वच्छ खानेपानी तथा सरसफाइ, धान्न सकिने स्वच्छ ऊर्जा, मर्यादित काम तथा आर्थिक वृद्धि र अपाङ्गता भएका एवं विपन्न वर्गको संरक्षण जस्ता प्राथमिकताहरू पर्छन्।
स्थानीय तहले दिगो विकास लक्ष्य कार्यान्वयनमार्फत आफ्ना संवैधानिक जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न सकून् भन्ने उद्देश्यले संघीय सरकार, राष्ट्रिय योजना आयोग तथा विकास साझेदारहरू (दातृ निकाय) ले स्थानीय तहको बजेट तथा कार्यक्रममा दिगो विकास लक्ष्यको साङ्केतीकरण स्रोत पुस्तिका र मध्यमकालीन खर्च संरचना निर्माणसम्बन्धी निर्देशिकाहरू उपलब्ध गराएका छन्।
तसर्थ, स्थानीय तहले आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा वार्षिक योजना बनाउँदा आवश्यकता र औचित्यका आधारमा वैज्ञानिक ढङ्गले बजेटको सीमा (सिलिङ) तोक्नुपर्छ। भौतिक पूर्वाधारमा मात्र बजेट थुपार्ने पुरानो बानी त्यागेर विकासलाई सन्तुलित र समावेशी बनाउन कार्यपालिकाले आफ्ना कार्यक्षेत्रलाई पाँच मुख्य क्षेत्र र २५ उपक्षेत्रमा बाँड्नु आवश्यक छ।
संविधानको अनुसूची–८ मा रहेका एकल अधिकार र अनुसूची–९ का साझा अधिकारलाई समेट्दै आर्थिक विकासतर्फ कृषि, पशुपालन, सहकारी तथा बजार व्यवस्थापन; सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षण; पूर्वाधारतर्फ स्थानीय सडक, खानेपानी र साना जलविद्युत्; वातावरण तथा विपद्तर्फ सरसफाइ, जलाधार संरक्षण र विपद् जोखिम न्यूनीकरण; तथा सुशासनतर्फ नगर प्रहरी, स्थानीय सेवा र अभिलेख व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ। यसरी सबै क्षेत्रमा आवश्यकताअनुसार बजेट बाँडफाँट गर्दा स्रोतको सही सदुपयोग हुन्छ र स्थानीय तहको संवैधानिक दायित्व पूरा भई दिगो विकास लक्ष्य हासिल गर्न सहज हुन्छ।
यसै सन्दर्भमा, इलामको सूर्योदय नगरपालिकामा दुई कार्यकाल नगर प्रमुख भएर काम गर्दा मैले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्ने व्यावहारिक अभ्यास गरेको थिएँ। समाजमा पछाडि परेका एकल तथा विधवा महिलाको आत्मसम्मान र स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले शतप्रतिशत आफ्नै लगानीमा स्वास्थ्य बीमा गरिदियो।
कक्षा १२ पास गरेपछि पढाइ रोकिएका बुहारीहरूलाई लक्षित गरी ‘नगरको इच्छा, बुहारीलाई उच्च शिक्षा’ छात्रवृत्ति कार्यक्रममार्फत सयौँलाई स्नातक तह पढाइयो। कक्षा ८ सम्मका बालबालिकामा वचत गर्ने बानी बसाल्न बाल बचत कार्यक्रम चलाइयो, जसबाट करोडौँ रुपैयाँ परिचालन भयो।
किसानलाई परालको परनिर्भरताबाट मुक्त गर्न बहुवर्षीय उन्नत घाँसका बिरुवा बाँडियो, जसले दूध उत्पादनको लागत घटायो। उन्नत गाईका लागि बाछी मात्र जन्मिने प्रविधि किसानलाई अनुदानमा दिइयो भने कृषि र पशु सेवालाई चौबीसै घण्टा प्रविधिमार्फत परामर्श लिन मिल्ने बनाइयो।
वर्षेनी कम्तीमा ५० हजार बिरुवा रोपेर पालिकालाई वातावरणमैत्री बनाउँदै कृषि र पर्यटन प्रबर्द्धन गर्दा पालिकाको आन्तरिक राजस्व ८ गुणासम्म वृद्धि भयो। सीमित स्रोतलाई पनि कुशल परिचालन गर्न सकेमा गुणात्मक नतिजा हासिल गर्न सकिने रहेछ भन्ने कुराको प्रमाणित पनि भयो।
दिगो विकास लक्ष्यमा करुणा फाउन्डेसन नेपाल
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्याको करिब २.२ प्रतिशत नागरिक कुनै न कुनै रूपको अपाङ्गताको अवस्थामा बाँचिरहेका छन्। नेपालको संविधानले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको संरक्षणलाई स्थानीय तहको एकल अधिकार सूचीभित्र राखेको छ।
यही संवैधानिक दायित्व र मानवीय जिम्मेवारीलाई आत्मसात गर्दै सूर्योदय नगरपालिकाको नेतृत्वमा कोशी प्रदेश सरकार र करुणा फाउन्डेसन नेपालबीच त्रिपक्षीय साझेदारी गरी ‘अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम‘ प्रभावकारी रूपमा अघि बढाइएको थियो।
कुनै पनि विकास साझेदारसँग काम गर्दा कार्यक्रम सकिएपछि पनि त्यसलाई दिगो बनाउन करुणा फाउन्डेसनले पालिकाहरूलाई नै बढी उत्तरदायी बनाउने नीति लिएको थियो। जसअनुसार पहिलो वर्ष फाउन्डेसनको ८० र पालिकाको २० प्रतिशत, दोस्रो वर्ष दुवै पक्षको आधा-आधा (५०/५० प्रतिशत) र तेस्रो वर्ष फाउन्डेसनको ३० तथा पालिकाको ७० प्रतिशत लागत साझेदारी रहने गरी आत्मनिर्भरताको स्पष्ट वित्तीय ढाँचा तय गरियो।
दातृ निकायको सहयोग घट्दै जाँदा अधिकांश ठाउँमा कार्यक्रमहरू अलपत्र पर्ने गर्छन्, तर सूर्योदयले बाह्य सहयोगको अंश घटेसँगै यसलाई आफ्नो स्थायी जिम्मेवारीका रूपमा ग्रहण गरेर निरन्तरता दियो।
करुणा फाउन्डेसनले लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र सम्मानजनक जीवनको पक्षपोषण गर्दै आएको छ । गर्भावस्थामा उचित पोषण, सुरक्षित मातृत्व सेवा र समयमै प्रारम्भिक स्वास्थ्य उपचारको पहुँच सुनिश्चित गर्न सके जन्मजात हुने धेरैजसो अपाङ्गता रोकथाम गर्न सकिन्छ भन्ने यसको मूल मान्यता हो।
नेपालमा फाउन्डेसनले विकास गरेको ‘Inspire2Care’ मोडेल स्थानीय सरकारलाई नै नेतृत्वदायी र जवाफदेही बनाएर स्वास्थ्य, रोकथाम र पुनर्स्थापना प्रणालीलाई स्थानीय तहमै संस्थागत गर्न केन्द्रित छ। फाउन्डेसनको यही प्राविधिक विज्ञता र स्थानीय सरकारको दृढ इच्छाशक्तिको संयोजनबाट मेरो कार्यकालमा नगरपालिकाले अपाङ्गता व्यवस्थापन र रोकथामको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्यो।
यस कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरू हाते अल्ट्रासाउन्ड मेसिन लिएर गर्भवती महिलाहरूको घरदैलोमै पुगे। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत सुरक्षित मातृत्वको सचेतना फैलाइयो भने नयाँ दम्पतीलाई विवाह दर्ताकै बखत अपाङ्गता रोकथामबारे आवश्यक जानकारी दिने अभ्यास सुरु गरियो।
सामाजिक संकोचका कारण घरभित्रै लुकाएर राखिएका अपाङ्गता भएका बालबालिकाहरूको पहिचान गर्नेदेखि हिँडडुल गर्न नसक्ने पूर्ण अशक्त नागरिकहरूलाई गाउँ-बस्तीमै विशेष शिविर सञ्चालन गरी घरमै पुगेर परिचयपत्र वितरण गरियो, जसले उनीहरूको सामाजिक सुरक्षा भत्ता र न्यायको प्रत्याभूति दिलायो।
नेपाल सरकारको निःशुल्क स्वास्थ्य बीमाको दायराभन्दा बाहिर रहेका अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई समेत पालिकाकै स्रोतबाट स्वास्थ्य बीमामा आबद्ध गरियो। उनीहरूलाई आत्मनिर्भर बनाउन छुट्टै स्वावलम्बन समूह र आफ्नै सहकारीसमेत स्थापना गरियो।
प्रत्येक अपाङ्गता भएका व्यक्तिको विस्तृत व्यक्तिगत प्रोफाइल तयार गरी डिजिटल नक्साङ्कन गरिएकाले विपद्का बेला तत्काल उद्धार गर्न, आवश्यकता पहिचान गर्न र लक्षित योजना तर्जुमा गर्न पालिकालाई निकै सहज भयो।
यी समग्र रणनीतिक प्रयासहरूको सबैभन्दा ठूलो मानवीय उपलब्धि– पछिल्लो पाँच वर्षमा नगरपालिकाभित्र जन्मिएका बालबालिकामध्ये केवल एक जनामा मात्र शारीरिक र एक जनामा बहुअपाङ्गता देखियो, जुन समाज, परिवार र स्थानीय स्वास्थ्य प्रणालीका लागि निकै ठूलो सफलता हो।
विकास भनेको केवल सडक र भौतिक संरचना मात्र होइन, मानवीय संवेदनशिलता र दिगो विकासका लक्ष्यहरूलाई व्यवहारमै उतार्नु हो भन्ने तथ्यलाई हामीले व्यवहारतः पुष्टि गर्ने प्रयास गर्यौं। मैले नगर प्रमुखको जिम्मेवारीबाट अलग हुनुपूर्व पालिकाका सम्पूर्ण मानवीय, सामाजिक, वातावरणीय र पूर्वाधार विकासका तथ्याङ्कहरू नागरिक तथा सरोकारवालाहरूले सहजै हेर्न सकुन् भन्ने उद्देश्यले ‘suryodaya-dmaps.org‘ नामक डिजिटल पोर्टल निर्माण गरी सञ्चालनमा ल्याइएको थियो।
स्थानीय स्रोतको कुशल परिचालन, वित्तीय अनुशासन, सामाजिक न्याय, विपद् जोखिम न्यूनीकरण, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, महिला तथा बालबालिकाको सशक्तीकरण एवं कृषि र पशुपालनको आधुनिकीकरणमा निरन्तर लिएको अग्रसरताकै कारण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा सूर्योदय नगरपालिका देशभरका ७५३ पालिकाहरूमध्ये दोस्रो उत्कृष्ट स्थान हासिल गर्दै समग्र मुलुककै लागि एक अनुकरणीय स्थानीय सरकार बन्न सफल रह्यो।
स्थानीय सरकारको वास्तविक सफलता कति किलोमिटर सडक खनियो भन्ने अङ्कमा मात्र सीमित हुँदैन। आफ्ना नागरिक– विशेषगरी विपन्न, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले राज्यको उपस्थितिबाट कति सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवन जिउन पाए भन्नेमा यसको मूल्याङ्कन हुन्छ।
सडक विकासको साधन मात्र हो, साध्य होइन। जबसम्म भौतिक पूर्वाधारसँगै मानवीय क्षमता, सामाजिक न्याय र नागरिकको आत्मसम्मानको विकास हुँदैन, तबसम्म सङ्घीयताको वास्तविक मर्म जनताको घरआँगनमा पुग्न सक्दैन। तसर्थ, स्थानीय तहले आफ्ना संवैधानिक अधिकारको पूर्ण सदुपयोग गर्दै समावेशी र समतामूलक ढङ्गले नागरिकको जीवनमा सकारात्मक रूपान्तरण ल्याउनु नै वास्तविक विकासको मूल बाटो हो।
प्रतिक्रिया 4