१३ मंसिर, काठमाडौं । चिनियाँ पक्षले प्रधानमन्त्री बालेन शाहलाई बेइजिङ भ्रमणको निम्ता दिएको भए पनि तत्कालै भ्रमण हुने सम्भावना कम रहेको दुवै पक्षले बताएका छन् ।
उनीहरुका अनुसार, भारत भ्रमण सकेर फर्केका प्रधानमन्त्रीलाई चीन पठाउने तयारी तत्काल दुई कारणले सम्भव देखिँदैन ।
एक, यो एक महिनाबीचमा भ्रमण हुने सम्भावना छैन, किनकि त्यसको तयारी पुग्दैन ।
दुई, लगत्तै नेपालमा स्थानीय चुनावका लागि तिथि सहितका कार्यक्रम तोकिनेछन् । कार्यतालिका सक्रिय भएपछि उच्च तहको भ्रमण चुनाव नसकिँदासम्म सम्भव हुँदैन ।
‘प्रधानमन्त्रीज्यू यो एक महिनाभित्र चीन जान सम्भव छैन, त्यसपछि नेपालमा स्थानीय चुनावको समय आउँछ,’ स्रोतले भन्यो, ‘चुनावको तिथि तोकिएपछि नसकिँदासम्म भ्रमण सम्भव हुँदैन । त्यसैले तत्कालै भ्रमण हुने कुनै सम्भावना देखिएको छैन ।’
नेपाली पक्षको बुझाइमा चीनसँग औपचारिक तहमा संवाद जारी रहे पनि भ्रमणलाई लिएर कुनै तत्काल निर्णय हुने सम्भावना देखिँदैन । बेइजिङस्थित नेपाली दूतावास पनि तत्कालै नेपालबाट उच्च तहको भ्रमण हुनेमा आशावादी देखिँदैन ।
‘भ्रमण हुने भए कुनै न कुनै तवरको सूचना आउँथ्यो होला, अहिलेसम्म तयारीका लागि कुनै सूचना र नीति निर्देशन छैन,’ दूतावासका उच्च अधिकारीले भने, ‘त्यसैले तत्काललाई प्रधानमन्त्रीज्यूको भ्रमण हुने सम्भावना छैन भन्ने मानौं । केही समयपछि भने सम्भव होला ।’
यसअघि नयाँ सरकार र चिनियाँ पक्षबीच पर्याप्त संवाद स्थापित हुन नसकेका उदाहरण दिँदै गत साता अनलाइनखबरले खुलासासहित लामो रिपोर्टिङ प्रकाशित गरेको थियो ।
प्रधानमन्त्री शाहले बीआरआई फ्रेमवर्क, ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क लगायत चिनियाँ परियोजनाहरुलाई अघि बढाउन उदासीन देखिएको चिनियाँ बुझाई छ । मंसिर पहिलो साता केही नेपाली सम्पादकहरु भेट्दै चिनियाँ उच्च राजनीतिक नेतृत्वले आफ्नो असन्तुष्टि खुलेरै राखेको थियो ।
सरकारले औपचारिक भेटहरुमा बीआरआई उच्चारण गर्न नचाहेको, पोखरा विमानस्थलको परियोजनालाई पनि बद्नाम गराइएको चिनियाँ बुझाई छ । बीआरआई अन्तर्गत नै पोखरा विमानस्थल बनेको भए पनि सरकारले त्यसलाई विवादमा तान्न खोजेको भन्दै चिनियाँ पक्षको आपत्ति छ । बाँकी टोखा छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन करिब टुंगोमा पुगे पनि राजनीतिक शक्तिको इशारामा ब्युरोक्रेसीले अल्झाएको चिनियाँ बुझाई छ ।
न्युयोर्कपछि नयाँदिल्लीको भ्रमण गरेका प्रधानमन्त्री बालेन शाहले बेइजिङ भ्रमण पनि गर्नेमा चिनियाँ पक्ष आशावादी भने देखिएको छ । बालेन बेइजिङ गएमा आफूहरुले स्वागत गर्ने सांकेतिक टिप्पणी गर्दै चिनियाँ अधिकारीहरुले तर निकट भविष्यमा त्यो सम्भव हुनेमा कम आशा देखाएका छन् ।
यसअघि रास्वपा सभापति रवि लामिछाने बेइजिङ जाने तयारी थियो, तर भोटेकोशीको बाढीका कारण उक्त भ्रमण रोकिएको चिनियाँ भनाई छ । हालै रास्वपाका २० सांसद भने चीन पुगेर आएका छन् । यद्यपि नेपालमा नयाँ सरकार बनेपछि परराष्ट्रमन्त्री शिशिर खनाल गत जेठ अन्तिम साता र असार पहिलो साता चीन गएको बाहेक हालसम्म उत्तरी छिमेकीतर्फ हाइप्रोफाइल भ्रमण भने हुन सकेको छैन ।
यद्यपि अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षामन्त्री सस्मित पोखरेल लगायतसँग चिनियाँ पक्ष निरन्तर संवादमा देखिन्छ । नेपाली पक्षले तातोपानी नाका खुलाउने विषयमा चिनियाँ पक्षसँग जोड गरिरहेको छ । चिनियाँ पक्षले भने रसुवागढीकै जस्तो भौगोलिक अवस्थामा तातोपानी रहेको भन्दै तत्काल सम्भव नहुन सक्ने जवाफ दिएको छ ।
तर नेपाली पक्षले आफ्नो तर्फको भूभाग खुलाउन सक्ने अवस्था कायम राखेमा चीनले हिउँ पन्छाउँदै भए पनि त्यो नाका चालु राख्ने जवाफ दिएको बुझिएको छ ।
चिनियाँ राजदूत झाङ माओमिङले नेपालका मन्त्रीहरुले राखेको सरोकारलाई बेइजिङसम्म छिटै अवगत गराउने बचन दिएका छन् ।
प्रतिक्रिया 4