१३ मंसिर, विराटनगर । सत्तारुढ दल रास्वपाका महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टीको रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले विभिन्न सञ्चार तथा पत्रकारितासम्बन्धी समस्याबारे बुझाएको ध्यानाकर्षण पत्र विराटनगरमा ग्रहण गर्दै आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका हुन् ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा रास्वपा कहिल्यै सम्झौता गर्दैन । हिजो पनि हाम्रो अडान यही थियो, आज पनि छ र भोलि पनि कायम रहनेछ,’ उनले भने, ‘पत्रकार महासंघले उठाएका विषय र मागलाई गम्भीरतापूर्वक अध्ययन गरेर सम्बन्धित निकायमा पुर्याउनेछु ।’
पत्रकारिता समाजको अभिन्न अंग भएको उल्लेख गर्दै उनले यस क्षेत्रलाई अझ समृद्ध, व्यवस्थित र वैज्ञानिक बनाउन रास्वपा प्रतिबद्ध रहेको बताए ।
महासंघ मोरङले बुझाएको ध्यानाकर्षण पत्रमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न खोजेको भन्दै आपत्ति जनाइएको छ । सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध गर्ने घटनामा संलग्नलाई कारबाही नगरी सरकारले दण्डहीनतालाई प्रश्रय दिएको महासंघको आरोप छ ।
यस्तै, गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) लगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको र श्रम अधिकार उल्लंघन गर्दै पारिश्रमिक नदिइएको विषय पनि ध्यानाकर्षण पत्रमा उठाइएको छ ।
प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको श्रम अधिकार सुनिश्चितता तथा सञ्चारमाध्यमको आर्थिक र व्यावसायिक सुरक्षालगायत माग सम्बोधन गर्न सरकारलाई दबाब दिने भन्दै महासंघ हाल आन्दोलनमा छ ।
प्रतिक्रिया 4