२१ भदौ, काठमाडौं । काठमाडौं महानगरलाई ‘साक्षर महानगर’ घोषणा भएको छ । सोमबार महानगरले कार्यक्रम गर्दै महानगरलाई साक्षर महानगर घोषणा गरेको हो ।
महानगरमा ९६ दशमलब ६ प्रतिशत साक्षरता भएको तथ्यांकसहित साक्षर घोषणा गरिएको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले बताए । उनले भने ‘साक्षर महानगर घोषणा गर्ने निर्णय गरिएको थियो। आज कार्यक्रम गरेर घोषणा गरिएको हो ।’
अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यन्वयन सहजीकरण पुस्तिका, २०७५ अनुसार ९५ प्रतिशत भन्दा बढी १५ देखि ६० वर्ष उमेर समूह साक्षर भएको अवस्थामा साक्षरता घोषणा गर्न सकिने व्यवस्था गरेको छ ।
कार्यक्रममा सामुदायीक अध्ययन केन्द्रमा कार्यरत कर्मचारीलाई पनि सम्मान गरिएको छ । गतवर्ष घोषणा गर्ने तयारी रहेको योजना कोभिडका कारण स्थगित भएको थियो ।
यो घोषणाले बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न बाटो खुलेको सुवेदीले बताए । उनले भने ‘काठमाडौं महानगरको साक्षरता घोषणा हुन बाँकी हुँदा बागमती प्रदेश साक्षर घोषणा हुन बाँकी थियो । अब प्रदेशलाई साक्षर घोषणा गर्न बाटो खुल्यो । अब हुन्छ ।’
प्रतिक्रिया 4