
२९ भदौ, पोखरा । पोखराका विभिन्न पसलमा म्याद गुज्रेको र लेबलिङबिनै दैनिक उपभोग्य सामग्री बिक्रीमा राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले गरेको नियमित अनुगमनका क्रममा सबैभन्दा बढी मसलाजन्य पदार्थमा म्याद गुज्रेर पनि बिक्रीमा राखेको पाइएको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, गुणस्तर तथा नापतौल विभाग, उपभोक्ता मञ्च लगायत संस्थाले मंगलबार संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा पोखराको बगरस्थित पानीपँधेरो डिपार्टमेन्टल स्टोर र केआईसिंह पुलस्थित बास्तोला ट्रेडर्सबाट ठूलो मात्रामा म्याद गुज्रेको सामान फेला परेको हो । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाका अनुसार ती पसलबाट करिब १२ हजार रुपैयाँ बराबरको मसला मात्रै नष्ट गरिएको छ ।
अनुगमन टोलीले पोखरा–१, बगरमा रहेको पानीपँधेरो डिपार्टमेन्टल स्टोरमा ५ हजार रुपैयाँ बराबरको म्याद गुज्रेको मसला बिक्रीमा राखेको फेला पारेको थियो । ती मसला नष्ट गर्दै पानीपँधेरोलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
‘धेरै सामानमा लेबलिङ पनि गरिएको पाइएन, प्याकिङ, रिप्याङ केही पनि देखिएन,’ सहायक प्रजिअ कृष्णचन्द्र पौडेलले भने, ‘म्याद सकिएको ३÷४ महिना हुँदा पनि सामान बेच्न राखिएको पाइयो ।’ डिपार्टमेन्टल स्टोरमा म्याद गुज्रेका र कायम रहेका सामग्री एकै ठाउँमा राखी उपभोक्तालाई झुक्याइएको अनुगमन टोलीले जनाएको छ ।
अनगुमन टोलीले बास्तोला ट्रेडर्सबाट पीपलडाली ब्रान्डको २ सय ५ प्याकेट म्याद गुज्रेको मसला फेला पारेको थियो । ५ हजार ६ सय मूल्य बराबरको ती मसला सोही स्थानमै नष्ट गरिएको थियो ।
अनुगमन टोलीले गोदामको मापदण्डसमेत पालना नगरेको र अव्यवस्थित रहेको जनाएको छ । बास्तोला ट्रेडर्सलाई अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन अन्तर्गत ५० हजार रुपैयाँ जारिवाना तोकेको छ । ‘पसलमा मूल्यसूची पनि राम्रोसँग राखिएको देखिएन । एक हप्ताभित्र जिल्ला प्रशासनमा हाजि। हुने गरी कारबाही गरेका छौं,’ कोइरालाले भने ।
प्रतिक्रिया 4