
१ मंसिर, विराटनगर । प्रदेश १ का नेकपा एमालेका सांसद हिक्मत कार्कीले मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन हतार गरेको टिप्पणी गरेका छन् ।
बुधबार मुख्यमन्त्री राईले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि धारणा राख्दै उनले सत्तारुढ गठबन्धनलाई सांसद टिकाइराख्न गाह्रो परेको हो भनी प्रश्न गरे ।
मुख्यमन्त्री कात्तिक १६ गते नियुक्त भएका र मंसिर १५ गतेसम्म विश्वासको मत लिन पाउने भए पनि हिजोआज नै विश्वासको मत लिन खोजेर हतार गरेको सांसद कार्कीले बताए ।
‘यो सरकार बनेको कात्तिक १६ गते हो । …मंसिर १५ गते (प्रदेशसभा बैठक) राखेको भए पनि केही फरक पर्दैनथ्यो, किन यति हतारो गर्नुभयो ?’ उनले प्रश्न गरे, ‘माननीयज्यूलाई अड्याउन गाह्रो भएर हो कि ? होटल खर्च बढ्ने भएर हो कि ? मन्त्रिमण्डलमा भागवण्डा नमिलेर केही दिनमै भत्किने हो कि भनेर हतार गर्नुभएको हो कि ?’
प्रदेश १ मा सत्तारुढ गठबन्धनले विश्वासको मत लिनुअघि सांसदहरुलाई होटलमा राखेको समाचारहरु आएका थिए । कार्कीले त्यसतर्फ इंगित गर्दैै प्रदेशसभामा प्रश्न उठाएका हुन् ।
मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । तर विप्लव समूहको बन्दका कारण आफ्ना सबै सांसद आउन नसक्ने भन्दै नेकपा एमालेले बैठक रोक्न माग गरेको थियो ।
सत्तारुढ गठबन्धनले बैठक रोक्न नमानेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक त बोलाए, तर प्रमुख प्रतिपक्षी दलका सांसद सहभागी नभएको भन्दै बुधबारका लागि बैठक सारेका थिए ।
प्रतिक्रिया 4