+
+

रुसले युक्रेनमाथि हमला गर्न सक्ने चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते २०:११

६ मंसिर, काठमाडौं। विगत २ हप्तादेखि अमेरिकी, नेटो र युक्रेनी अधिकारीले एउटै चिन्ता व्यक्त गरिरहेका छन् – जनवरीको अन्त्य वा फेब्रअरीको सुरुमा रुसले युक्रेनमाथि हमला गर्न सक्छ ।

युक्रेनी सीमा नजिकै ठूलो संख्यामा सैनिक र हतियार तैनाथ गरेपछि पश्चिमी मुलुकहरू रुसप्रति सशंकित बनेका हुन् । अमेरिकी मिडियामा समेत रुसले कुनै पनि बेला युक्रेनमाथि हमला गर्न सक्ने खालका समाचार प्रकाशित भइरहेका छन् ।

शनिबारमात्रै अमेरिकाको सीबीएस समाचार माध्यमले चिसो मौसमको फाइदा उठाएर रुसले युक्रेनमाथि हमला गर्न सक्ने समाचार प्रकाशित गरेको थियो ।

सीबीएसले आफ्नो समाचारमा अमेरिकी खुफिया स्रोतलाई उधृत गर्दै ‘मौसम चिसो हुँदै जाँदा’ रुसले युक्रेनमाथि हमला गर्ने संभावना पनि बढेको जनाएको छ । ‘आक्रमण मौसमले निर्धारण गर्छ तर केही हप्ताभित्रै आक्रमण हुन सक्ने र पश्चिमले हस्तक्षेप गर्न नसक्ने अवस्था आउन सक्छ’, समाचारमा भनिएको छ ।

बुधबार अमेरिकी रक्षामन्त्री लियोड अस्टिनले ‘युक्रेनी सीमा वरपर सैन्य तैनाथीबारे मस्को पारदर्शी हुनुपर्ने’ बताएका थिए । राष्ट्रपति भ्लादिमिर पुटिनको कार्ययोजनाबारे आफू अनभिज्ञ रहेको समेत अस्टिनको भनाइ थियो ।

युक्रेनले सुरुमा अमेरिकी मिडियामा आएको समाचारप्रति समर्थन जनाएको थिएन तर पछि आफ्नो भनाइ परिवर्तन गरेको थियो । युक्रेनका सैन्य खुफिया प्रमुख ब्रिगेडियर जनरल किरिलो बुडानोभले आइतबार मिलिटरी टाइम्ससँग कुरा गर्दै जनवरीको अन्त्य वा फेब्रुअरीको सुरुतिर रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको बताएका थिए ।

तर रुसले युक्रेनी सीमानामा सैनिक उपस्थिति बढाएको कुरालाई खण्डन गर्दै आएको छ । अमेरिकी मिडियामा संभावित हमलाको समाचार बाहिर आएपछि रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले उक्त समाचारलाई ‘गलत’ भनेकी थिइन् ।

त्यस्तै, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एक टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै पश्चिमी मुलुकले ‘कृत्रिम रुपमा हिस्टेरिया’लाई बढावा दिइरहेको बताएका थिए ।

एक अनुमान अनुसार डोनेट्स नजिकै युक्रेनी सीमानामा रुसले झण्डै १ लाख सेना जम्मा गरेको छ । म्याक्सर टेक्नोलोजिजले सार्वजनिक गरेका तस्वीरमा सीमा वरपर सैयौं रुसी ट्याङ्क र हतियारले सुसज्जित बाहन देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?