+
+

काठमाडौं टिम च्याम्पियनसिपको टिम सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १९:२०

२३ मंसिर, काठमाडौं। पुस पहिलो साता काठमाडौंमा आयोजना हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिप खेल्ने ८ टोली सार्वजनिक भएको छ ।

आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए)ले बिहीबार एक कार्यक्रमका बीच च्याम्पियनसिप खेल्ने ८ टोलीको घोषणा गरेको हो । च्याम्पियनसिप ६ देखि ९ पुससम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ।

सार्वजनिक भएको टोलीमा च्याम्पियनसिपको मुख्य प्रायोजक कुमारी बैंक, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन, नेपाल आयल निगम, आइएमई ग्रुप, सिल्क ग्रुप र नेपाल विद्युत प्राधिकरण रहेका छन् ।

यस्तै टोलीले बिहीबारै गोलाप्रथाको आधारमा यसअघि सार्वजनिक गरिएको नेपालको शीर्ष वरीयताका समान ८ पुरुष र महिला खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गरेको छ ।

नेपाल राष्ट्र बैंकमा पुरुषतर्फको दोस्रो वरीयताका दिपेश धामी र महिलातर्फको दोस्रो वरीयताकी अमिता गिरी आबद्ध भएकी छिन् । आइएमई ग्रुपमा आठौं वरीयताका नविन श्रेष्ठ र शीर्ष वरीयता नङ्सलदेवी तामाङ, नेपाल टेलिकममा शीर्ष वरीयताका रत्नजित तामाङ र नवौं वरीयताकी सीमा राजवंशी र सिल्क ग्रुपमा तेस्रो वरीयताका विकास श्रेष्ठ र तेस्रो वरीयताकी अनुमाया राई आबद्ध भएका छन् ।

यस्तै नेपाल आयल निगममा चौथो वरीयताका विष्णु कटुवाल र चौथो वरीयताकी रशिला महर्जन, नेपाल विद्युत प्राधिकरणमा छैटौं वरीयताका दिपक बोहोरा र छैटौ वरीयताकी शोभा गौचन, कान्तिपुर पब्लिकेशनमा चौथो वरीयताका साजन कृष्ण ताम्राकार र १०औं वरीयताका सम्झना शर्मा र कुमारी बैंकमा छैटौ वरीयताका सुदिप सेढाई र सातौ वरीयताकी सुनैया मुखिया आबद्ध भएका छन् ।

पाँचौ वरीयताका जेसिका गुरुङ र आठौं वरीयताकी सीता माया राई चोटका कारण टोली बाहिर रहने भएपछि नवौं वरीयताका सीमा र १०औं वरीयताकी सम्झनाले च्याम्पियनसिप खेल्ने अवसर पाएका हुन् ।

यसअघि आयोजक केबिएले नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडी सार्वजनिक गरेको थियो । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, कर्पोरेट डबल्स, पुरुष डबल्स र महिला डबल्स गरी पाँच विधा समावेश गरिएको छ ।

५ इभेन्ट्समध्ये ३ इभेन्ट्स जित्ने टिम च्याम्पियन हुनेछ ।पुरुष एकल र महिला एकलमा शीर्ष ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कर्पोरेट्स डबल्समा कर्पोरेट हाउसमा दुई वर्ष कार्यरत र पुरुष डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पोरेट हाउसमा आबद्ध तथा महिला डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पोरेट हाउसमा आबद्ध खेलाडी हुनुपर्नेछ ।

च्याम्पियनसिपका प्रत्येक टिममा वरीयता प्राप्त महिला र पुरुष १–१ खेलाडी हुनेछन् । टिमका अन्य खेलाडी कर्पोरेट हाउसकै हुनुपर्नेछ । एक टिममा ६ देखि ८ जना खेलाडी हुनेछन् ।

करीब ४९ लाख ४६ हजार रुपैयाँ लाग्ने काठमाडौं टिम च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५०० सय पाउनेछन् ।

खेलाडीको आयस्रोत बृद्धि गर्ने उद्देष्यले वरीयता प्राप्त खेलाडीलाई दर्ता हुने बित्तिकै २० हजार प्रदान गरिने र प्रत्येक खेलमा म्याच फि २ हजार ५ सय प्रदान गरिने र समूह चरणबाटै बाहिरिने खेलाडीलेपनि ३५ हजारसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ ।

टिम च्याम्पियनलाई आकर्षक रनिङ ट्रफी दिइनेछ । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?