२१ माघ, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिको विवाद चाँडो टुंग्याउन माग गरेको छ ।
संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ऐनमा रहेको बाधा अड्काउ फुकाउ विकल्प प्रयोग गरेर निकास दिन माग गरेको हो । राखेपको सदस्य सचिव बर्खास्ती अनी नयाँ सदस्य सचिव नियुक्तिको विषय अहिले अदालतमा पुग्दा नेपाली खेलकुद प्रभावित बनेको सघको बुझाइ छ ।
विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय खेलकुद परिषद्मा कार्यकारी प्रमुख सदस्य सचिव नहुँदा ऐनमा नै त्यसको विकल्पका लागि बाधा अड्काउ फुकाउने प्रावधान समेत रहेको छ, तर परिषद्लाई चलायमान बनाउ युवा तथा खेलकुद मन्त्रालय यसलाई बेवास्ता गर्दै रमिते दर्शकको रुपमा आफूलाई उभ्याइ असक्षम नेतृत्वको पदवी भिर्न तयार रहेको देखिन्छ ।’
खेलकुद क्षेत्रमा देखा परेको विषम परिस्थितीलाई छिटो भन्दा छिटो उचित निकास दिन संघले प्रधानमन्त्री र खेलकुद मन्त्रीसँग माग राखेको छ ।
सर्वोच्च अदालतले पनि यस्तो महत्वपूर्ण संस्थाको विवादलाई अग्राधिकार प्रदान गर्दै छिटो भन्दा छिटो निर्णय प्रदान गर्न समेत संघले अनुरोध गरेको छ । लामो समय बितिसक्दा पनि विवादको टुङ्गो लाग्न नसक्दा दुई महिनादेखि खेलकुद क्षेत्र प्रभावित बनेको संघको भनाइ छ।
सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो भने मन्त्रीपरिषद्ले मंसिर १३ गते टंकलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्रीपरिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गराएका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
हेर्नुहोस् विज्ञप्तिः
प्रतिक्रिया 4