+

‘समयमै उपचार गरे क्यान्सर ९० प्रतिशत निको हुन्छ’

२०७८ माघ  २१ गते १८:५२ २०७८ माघ २१ गते १८:५२
‘समयमै उपचार गरे क्यान्सर ९० प्रतिशत निको हुन्छ’

२१, काठमाडौं । भनिन्छ, क्यान्सर लाग्दैमा मृत्यु हुन्छ भन्ने छैन । यदि समयमै उपचार गरियो भने त्यसको जोखिमबाट बच्न सकिन्छ । अझ क्यान्सरको लक्षण थाहा पाउनासाथ उपचार गरियो भने तुलनात्मक रुपमा धेरै खर्च पनि लाग्दैन । क्यान्सरसँग हामी किन भयभित छौं भने एक त यसको उपचार जटिल छ । कहिलेकाहीं असम्भव पनि, साथै खर्चिलो पनि ।

क्यान्सरको लक्षण देखा पर्नासाथ उपचार खोज्नुपर्छ । सही समयमा सही ढंगले उपचार भएमा क्यान्सरमुक्त भइन्छ । नेपालमा पनि क्यान्सरको उपचार हुने गरेको छ । यही विषयमा भक्तपुर क्यान्सर अस्पतालको रेडियसन अंकोलोजी विभागका प्रमुख डा. उज्ज्वल चालिसेसँग गरिएको कुराकानीको सम्पादित अंश ।

सामान्य बुझाइमा क्यान्सर लागेपछि त्यसले आजीवन समस्या निम्त्याउँछ भन्ने बुझाइ छ नि, त्यो सही हो ?

आम बुझाइ त्यस्तै छ । तर त्यसमा पूरा सत्यता छैन । अधिकांश क्यान्सर समयमा नै उपचार गरियो भने ९० प्रतिशतसम्म निको हुने खालका हुन्छन् । तर त्यसमा हामीले कति वास्ता र बेवास्ता गरिन्छ भन्नेमा आधारित हुन्छ । मान्छेमा क्यान्सर हुनुभन्दा केही समयअघिदेखि नै विभिन्न लक्षण देखिइरहेको हुन्छ । कतिपय क्यान्सर एकपटक निको भइसकेपछि पनि पुनः दोहोरिने खालको पनि हुन्छ । तर त्यो धेरै ढिला उपचार गर्दा निम्तिने समस्या पनि हो ।

सामान्यतया क्यान्सरलाई चार चरणमा विभाजन गर्ने गरिन्छ । दोस्रो चरणसम्म पुग्दा जुन अंगमा क्यान्सर भएको हो त्यसको वरिपरिसम्म यसले असर गरेको हुन्छ । चौथो चरणसम्म पुगेको क्यान्सर छ भने त्यसले शरीरको अन्य अंगमा आक्रमण गरिसकेको हुन्छ । त्यसैले पहिलो चरणमा यसबारे थाहा भयो भने निको हुने सम्भावना ९० प्रतिशतसम्म हुन्छ । बिस्तारै चरण बढ्दै जाँदा यसको सम्भावना कम हुँदै जान्छ । चौथो चरणसम्म पुगेको छ भने क्यान्सर निको हुने सम्भावना ३० प्रतिशत मात्रै हुन्छ ।

कस्तो कस्तो क्यान्सरलाई निको पार्न सकिन्छ ?

पहिलो चरणमा नै पत्ता लगाएर यसको उपचार सुरु गर्ने हो भने सबैजसो क्यान्सर धेरैहदसम्म निको पार्न सकिन्छ । जस्तो, आन्द्रा र छालाका क्यान्सरहरु समयमा थाहा हुने हो भने ९० प्रतिशतसम्मै निको गर्न सकिन्छ । यसबाहेक प्याङक्रियाज, लिभर र फोक्सोमा हुने क्यान्सर समयमा उपचार नहुँदा फेरि दोहोरिने सम्भावना हुन्छ । कतिपय अंगमा वंशाणुगत क्यान्सर पनि भएको हुन सक्छ । त्यस्तो क्यान्सर पनि दोहोरिने जोखिम बढी हुन्छ ।

नेपालमा क्यान्सरको उपचार कति भरपर्दा छ ?

नेपालमा क्यान्सरको उपचार सेवा भरपर्दा त छ, तर सर्वसुलभ छैन । हामीसँग सीमित संख्यामा क्यान्सर अस्पतालहरु छन् । केही आयुर्वेदिक उपचारलाई छाड्ने हो भने विश्वभर जुन प्रविधिबाट यसको उपचार हुन्छ, त्यसरी नै यहाँ पनि हुने गर्छ । त्यस्तो अवस्थामा यहाँको सेवालाई भरपर्दा छैन भन्न मिल्दैन । जस्तो क्यान्सरको उपचार तीन विधिबाट हुन्छ, जसमा अप्रेसन, केमोथेरापी र रेडियो थेरापी छन् । क्यान्सरको उपचार हुने अस्पतालहरुमा यसको विश्वासिलो सेवा छ ।

तर नेपालमा क्यान्सर अस्पताल नै कम छ । त्यसमा पनि सीमित जनशक्ति भएकाले क्यान्सरको उपचार सेवा देशभर दिन सकिएको छैन । साथै, एउटै डाक्टरको भागमा क्षमताभन्दा धेरै बिरामी हुँदा पनि समस्या भएको छ ।

नेपालका क्यान्सर अस्पतालहरु कति सुविधासम्पन्न छन् ?

नेपालमा क्यान्सर अस्पतालहरु अत्यन्त कम छन् । तर जति छन् ती सबै सुविधासम्पन्न छन् । अस्पतालको जति सुविधा दिने क्षमता छ, त्योभन्दा धेरैलाई सुविधा दिनुपर्ने अवस्था छ ।

संख्यालाई हेर्दा नेपालमा क्यान्सर पीडितको संख्या बढिरहेको देखिन्छ । यसको कारण के होला ? कुनै अध्ययन भएको छ ?

क्यान्सरको कारण सामान्यतया नेपाल र अन्य मुलुकमा पनि एउटै हो । नेपालको परिप्रेक्ष्यमा छुट्टै अध्ययन त भएको छैन । तर कारण सबैतिरको उस्तै हुने भएकोले हामीले अन्यत्र भएका केही अध्ययनलाई पनि आधार मान्न सक्छौं । विभिन्न कारणमध्ये सबैभन्दा धेरै त धुम्रपानको सेवनबाटै क्यान्सर हुने गर्छ । धुम्रपान तथा धुवाँधुलोका कारण मुख, जिब्रो, घाँटी, फोक्सोको क्यान्सर बढी हुने गरेको हुन्छ । दोस्रो कारण भनेको मान्छेको उमेर बढ्दै जानु पनि हो । बढ्दो औसत उमेरका कारण मान्छेको आयु बढ्दै छ । बुढाबुढी मान्छेमा यसको सम्भावना बढ्दै जाने हुन्छ । यसबाहेक अनुवांशिक समस्या लगायत कारणले पनि कहिलेकाहीं क्यान्सरको समस्या निम्तिन सक्छ ।

यो सहरी वा ग्रामीण क्षेत्रमध्ये कहाँ धेरै समस्या देखिन्छ ?

यही क्षेत्र र यही लिंगका मान्छेलाई धेरै समस्या भयो भनेर भन्न सक्ने आधार छैन । किनभने तथ्यांक नभएसम्म यसबारेमा बताउन सकिँदैन । क्यान्सर धुलो धुवाँ र धुम्रपानका कारणले हुने गर्छ । चुरोट सहरी भेगमा पनि धेरै खान्छन् भने गाउँमा पनि यसको अवस्था उस्तै छ । पुरुष र महिलाको कुरा पनि उस्तै हो तर तथ्यांक भने यसमा पनि निकालेको पाइँदैन ।

क्यान्सरको संकेत कसरी पत्ता लगाउन सकिन्छ र यसको निदान गर्न सकिन्छ ?

क्यान्सरमा ढिलागरी लक्षण बाहिर थाहा हुन्छ, तर थाहा पाउने बेलासम्म यसले ठूलै समस्या निम्त्याइसकेको हुन सक्छ । वर्षौं देखि धुम्रपान गर्दै आएको व्यक्तिलाई अस्वाभाविक खोकी लाग्न सक्छ । त्यो भयो भने क्यान्सरको संकेत मानेर उपचार विधि अपनाउनुपर्छ । छाती दुख्ने, सास फेर्न गाह्रो हुने, खैनी खानेहरुको मुखमा घाउ हुने र लामो समयसम्म निको नहुने, स्वरमा परिवर्तन आउने जस्ता लक्षण क्यान्सरको संकेत हुन सक्छ । त्यस्तै, दिसामा रगत देखियो भने पनि उपचारको लागि जानुपर्छ ।

महिलाहरुको स्तनमा नयाँ गाँठागुँठी देखिनुलाई पनि क्यान्सरको संकेत मान्न सकिन्छ । यस्ता संकेत देखिनेबित्तिकै उपचार गराउँदा प्रारम्भिक स्तरको क्यान्सर छ भने अधिकांश निको हुन सक्छ । त्यही समस्या गम्भीर बन्दै गयो भने पूर्ण निको हुने सम्भावना कम हुने भएकोले पनि समयमा नै यसको उपचारतिर ध्यान दिनुपर्छ ।

निदानको लागि चुरोट, रक्सी नखाने र सामान्य लक्षण देखिनेबित्तिकै त्यसको परीक्षण गराइहाल्नुपर्छ । पित्तथैलीमा क्यान्सर भयो भने त्यहाँबाट सुरु भएर कलेजोसम्म पुग्छ । क्यान्सर स्वभावैले एउटा अंगमा लाग्छ र बिस्तारै अरु अंगमा पनि फैलिँदै जाने हुन्छ । त्यसैले यसको समयमा नै उपचार गर्नुपर्छ ।

क्यान्सर जनस्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय