+
+

कार्यविधि संशोधन गरेर आयल निगममा थानी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते ११:४८

२७ फागुन, काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । तर उनको योग्यतामाथि प्रश्न उठेको छ । योग्यता नपुगे पनि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस सम्वद्ध भएकै कारण उनलाई नियुक्त गरिएको भन्दै आलोचना भएको छ ।

सर्वोच्च आदालतले जारी गरेको संस्थान नियुक्तिसम्बन्धी पारमादेश विपरीत हुने गरी थानीको नियुक्ति भएको उपभोक्ता हित संरक्षण मञ्चले जनाएको छ ।

नेपाल आयल निगमकै विज्ञ सदस्य नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा मञ्चले दायर गरेको रिटमा गत भदौ २४ मा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले कुनै पनि सरकारी सार्वजनिक निकायमा पदाधिकारी वा विज्ञ सदस्य नियुक्ति गर्दा सम्बन्धित विषयमा स्नातक तहको शैक्षिक योग्यता भएको र कम्तीमा १० वर्षको अनुभव भएको मापदण्ड लागू गर्न परमादेश जारी गरेको थियो ।

कानुन बनाएर मात्रै नियुक्त गर्न र तत्काल गरिहाल्नु परे अदालतले तोकको योग्यता पुरा गर्न परमादेशमा भनिएको मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताउँछन् । ‘निगममा सरकारले परमादेश विपरीत नयाँ नियुक्ति गरेको जानकारी पाएका छौं, हामी अदालतको मानहानी र नियुक्ति बदरका लागि अदालत जान्छौं,’ उनले भने ।

निगमको कार्यकारी निर्देशकका लागि आवेदन दिएका १५ जना मध्येबाट समितिले डा. चण्डीकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम ‘सर्ट लिस्ट’ गरेको थियो । ‘मन्त्रालय मातहतका सार्वजनिक निकायहरुमा पदाधिकारी नियुक्ति गर्ने कार्यविधि–२०७८’अनुसारको योग्यता, आवेदकको कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्ताको आधारमा तीन जानको नाम छनोट गरेर मन्त्रिपरिषदमा पठाइएको छनोट समितिको सिफारिसमा उल्लेख छ ।

सिफारिसमा परे पनि मन्त्रालयले बनाएको कार्यविधिले तोकेको योग्यता समेत थानीको पुगेको थिएन ।

थानीसँगै सिफारिसमा परेका भट्ट मन्त्रालयका व्यवस्थापक तह (उपसचिव) हुने भने सिटौला नेपाल सरकारको सहसचिव (उच्च तहको व्यवस्थापन) पदबाट सेवा निवृत्त हुन् ।

गोरखा स्थायी घर भएका भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा केमिकल क्लस्टरको दरबन्दीका सीडी हुन् ।

दोस्रो नम्बरमा सिफारिसमा परेका जीवन प्रकाश सिटौला तेह्रथुमका हुन् । दुई वर्षअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सहसचिव रहँदा सेवा निवृत्त भएका सिटौला त्यसअघि उद्योग विभागको महानिर्देशक थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा समेत काम गरेका थिए ।

तेस्रो  नम्बरमा सिफारिस भएका उमेशप्रसाद थानी सुर्खेतका बासिन्दा हुन् । पेशाले इन्जिनियर रहेका थानी अहिले कांग्रेस निकट इन्जिनियरहरुको छाता संगठन ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’ (सिडेन) का अध्यक्ष समेत छन् । नेपाल इन्जिनियर्स एसोसिएसनका निर्वाचित महासचिव भइसकेका उनी लामो समय ‘सेभ द चिल्ड्रेन’ नामक गैरसरकारी संस्थामा अधिकृत तहमा काम गरेका थिए ।

माओवादी केन्द्रका जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा थानी नियुक्त भएका थिए । उनी आफ्नो कार्यकाल सकेर प्राधिकरणको सञ्चालकबाट विदा भइसकेका छन् ।

थानीका लागि कार्यविधि संशोधन

आयल निगमको कार्यकारी निर्देशक पदका लागि आवेदन माग्नुअघि कार्यविधि संशोधन गरेर उम्मेदवारको शैक्षिक योग्यतातर्फ ‘इन्जिनियरिङ’ क्लस्टर थपेको थियो । त्यही कारण थानी निगममा कार्यकारी निर्देशक बन्ने चर्चा थियो ।

यस्तै २०७५ सालको कार्यविधिमा कार्यकारी प्रमुख हुन सम्बन्धित (आयल) क्षेत्रमा पाँच वर्षको अनुभव हुनुपर्ने भनिएको थियो । कार्यविधि संशोधन गरेर ‘कुनैपनि संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पद’मा कम्तीमा पाँच वर्ष काम गरेको कार्यअनुभव हुनुपर्ने व्यवस्था गरिएको थियो ।

तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुका अनुसार थानीको योग्यता कार्यकारी पदका लागि पुग्दैन । थानीले नेपाल इन्जिनियरिङ परिषदको सदस्य सचिव र रजिष्ट्रारका रुपमा चार वर्ष मात्रै व्यवस्थापकीय पद सम्हालेका थिए । थानीले १३ जेठ २०७० मा सो नियुक्ति लिएका थिए ।

उनी २०६१ कात्तिकदेखि २०६२ असारसम्म जिल्ला शिक्षा कार्यालय हुम्लामा अधिकृत स्तरको इन्जिनियर भएर करारमा काम गरेका थिए । २०६५ वैशाख ९ मा सेभ द चिल्ड्रेनमा एक वर्ष अधिकृत स्तरकै इन्जिनियर भएर काम गरेका उनले २०६७ वैशाख २९ देखि २०६८ असोज ३० सम्म ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजनामा इन्जिनियर भएर काम गरेको देखिन्छ ।

यस्तै २०७३ मा भदौमा नेपाल इन्जिनियर्स एसोसिएसनको महासचिव भएको विवरण पनि उनले छनोट समितिमा पेश गरेका थिए । २०७३ मंसिर ३० मा चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्ति पाएका थानीले २०७६ जेठ १३ मा एभरेस्ट इन्जिनियरिङ कलेजको प्राचार्य भएर दुई वर्ष काम गरेको अनुभवको प्रमाण पनि उनले पेश गरेका थिए ।

वाणिज्य सचिव गणेशप्रसाद पाण्डेय, मन्त्रालयका प्रशासनतर्फका सहसचिव बाबुराम गौतम र छनोट समितिका विज्ञ सदस्यसहितका अधिकारी बुधबार राति अबेरसम्म मन्त्रालयमा बसेर शैक्षिक योग्यता नपुग्दानपुदै थानीको नाम तेस्रो नम्बरमा राखेर सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?