+

चुरोट र रक्सीले मुटुको धमनीलाई कक्रक्क बनाउँछ : डा. शाह

२०७९ साउन  ११ गते १३:०२ २०७९ साउन ११ गते १३:०२
चुरोट र रक्सीले मुटुको धमनीलाई कक्रक्क बनाउँछ : डा. शाह

काठमाडौं । पछिल्लो समय विश्वभर नै मुटुरोगीको संख्या बढेको छ । नेपालमा पनि पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ । मधुमेह, उच्च रक्तचाप र मोटोपनको समस्या बढ्दा मुटुरोगबाट पीडित हुनेको संख्या पनि बढेको विज्ञहरु बताउँछन् ।

यस्तोमा नेपालमा मुटुसम्बन्धी के कस्ता समस्या बढी देखिएको छ ? कुन उमेर समूह मुटुरोगको जोखिममा छन् ? लगायतका विषयमा कार्डियो भास्कुलर सर्जन डा. सञ्जीतकुमार शाहसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी :

नेपालमा मुटुसम्बन्धी के कस्ता समस्या बढी देखिएको छ ?

नेपालमा मुटुसम्बन्धी समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विशेषगरी हृदयघात, मुटुको भल्ब र नसामा समस्या बढी देखिएको छ ।

मुटुको समस्याको मूल जड के हो ?

मुटुको समस्याको मूल जड भनेको हाम्रो खानपान र जीवनशैली नै हो । आजभोलि हामीले खाने खानेकुरा एकदमै धेरै अशुद्ध भइरहेको छ । जंकफुड र प्याकिङ खाना खाने बानीको पनि विकास भइरहेको नै छ । मान्छेहरूलाई धेरै आराम चाहिएको छ । व्यायाम गर्ने बानी छैन, जसले गर्दा मुटुरोग बढ्दै गइरहेको छ । मुटुरोग लाग्नबाट कसरी बच्ने भन्ने जनचेतनाको कमी पनि यसको मूल जड हो ।

दैनिक कम्तीमा एक घण्टा हिंड्नु मुटुको स्वास्थ्यको लागि राम्रो हो भनिन्छ । तर समतल बाटोमा एक घण्टा हिंड्नु र उकालो बाटोमा एक घण्टा हिंड्नु एउटै कुरा होइन भनेर पनि सिकाउनुपर्छ ।

उच्च रक्तचाप, मधुमेह र मोटोपन जस्तो समस्या भएका व्यक्तिमा मुटुरोगको समस्या देखिने सम्भावना बढी हुन्छ । किनभने कुनै व्यक्तिलाई उच्च रक्तचाप छ उसले त्यसलाई नियन्त्रण गर्न सकेन भने त्यसले  मुटुको नसाहरुमा गएर ब्लकेज गर्छ र रक्तसञ्चारमा असर गरेर मुटुलाई दबाब दिएर मुटुरोग लाग्ने सम्भावना हुन्छ ।

खानपान, जीवनशैली र दूषित वातावरणले मुटुको रोग लाग्छ भन्ने हो ?

हो, मुटुरोगको प्रमुख कारण नै अस्वस्थकर खानपान, जीवनशैली र दूषित वातावरण हो । हाम्रो खाने तेलदेखि हरेक कुरामा मिसावट छ । दूषित वातावरणले फोक्सोमा असर गर्छ र त्यसले गर्दा पनि मुटुमा समस्या निम्तिन सक्छ । फोक्सो खराब भयो भने नसाहरु साह्रो हुन थाल्छन् र त्यो अवस्थामा मुटुले बेस्सरी पम्प गर्नुपर्ने हुन्छ । जसले मुटुको काम बढ्छ र मुटुमा परिवर्तन आउँछ, यसबाट हृदयघातको समस्या पनि हुनसक्छ ।

कस्तो खानपान र जीवनशैलीले मुटुमा समस्या ल्याउँछ ?

बजारमा पाइने रेडिमेड खाना, लामो समयदेखि प्याकेटमा प्याक गरिएको खानेकुरा, मसालेदार खानेकुरा र मःम पिज्जा जस्ता जंकफुडको कारण मुटुमा समस्या ल्याउँछ । जीवनशैलीको कुरा गर्ने हो भने धेरै जना अहिले अफिसमा बसेर काम गर्छन् । केही समय फुर्सद भयो भने खाटमा पल्टिहाल्ने बानी हुन्छ । व्यायाम गर्ने, हिंडडुल गर्ने बानी हराउँदै गएको छ । तर त्यस्तो गर्नु गलत हो । व्यायाम नगर्ने, शुद्ध र घरमा बनेको खाना नखाने पसलको प्याक गरिएको खाना बढी खाने व्यक्ति मोटोपनको सिकार हुन्छन्, यसका कारण मुटुको समस्या पनि देखा पर्छ ।

मलाई त अब आउने पुस्ताको पो चिन्ता लाग्छ । अहिलेको बालबालिकालाई जंकफुडको बानी बसेको छ । अहिले हाम्रो पुस्तामा नै मुटुरोगीको संख्या बढेको छ भने अबको १० देखि १५ वर्षमा के होला भन्ने चिन्ता लाग्छ ।

चुरोट, मदिरा जस्ता कुराले मुटुमा के कस्तो समस्या ल्याउँछ ?

चुरोट र मदिराले नसाको धमनीका भित्तालाई साह्रो बनाउँछ । जसले गर्दा मुटुमा प्रेसर पर्छ र मुटुले छिटोछिटो काम गर्न थाल्छ । यसबाट नसा झन् साह्रो हुने वा ब्लक नै पनि हुनसक्छ ।

मदिराको सेवनपछि त्यो शरीरमा गएर बोसो बनेर जम्छ र मोटोपन बढाउँछ । मोटोपन बढ्दै जाँदा बोसो धेरै जम्यो भने त्यसले पनि मुटुमा समस्या ल्याउन सक्छ ।

कुन उमेर समूह मुटुरोगको जोखिममा छन् ?

नेपालको सन्दर्भमा ३० देखि ५० वर्ष उमेर समूहमा मुटुरोगको जोखिम बढी छ । किनकि अहिले नेपालका ३० देखि ५० वर्ष उमेर समूहका मानिसहरू कुनै न कुनै रुपमा जंकफुड खान्छन् । धुम्रपान र मद्यपान गर्नेहरूको संख्या पनि बढेको छ ।

अन्य देशको तथ्यांक हेर्ने हो भने चाहिं ५५ वर्ष भन्दा माथिको उमेर समूह मुटुरोगको जोखिममा छ ।

मुटुरोगको मूल जटिलता के हो ?

मुटुले राम्ररी काम गर्न छोड्यो भने प्रेसर एकदमै बढ्छ । त्यसकै कारण मिर्गौला, आँखा र मस्तिष्कमा धेरै दबाब पैदा गर्छ र त्यसलाई बिगार्न सक्ने सम्भावना बढ्छ । मुटुमा रगत जम्यो र मुटुले पम्प गर्दा त्यो त्यहाँबाट उछिट्टिएर मस्तिष्कमा पुग्यो भने रक्तसञ्चार रोकिएर मस्तिष्कघात हुनसक्छ । त्यो मिर्गौलामा पुग्यो भने मिर्गौलालाई पनि बिगार्छ । त्यसैले मुटुरोगको उपचार समयमा नै गर्नुपर्छ ।

प्रतीकात्मक तस्वीर

मुटुमा के कस्ता जन्मजात समस्या हुन्छ ? यसको उपचार के हुन्छ ?

जन्मजात मुटुको समस्या देखिनुको मुख्य कारण त वंशाणुगत नै हो । अर्को यदि गर्भवती महिलाले बच्चालाई असर गर्ने कुनै औषधिको सेवन गरेको छ भने पनि जन्मजात मुटुको समस्या देखिन्छ । जन्मजात देखिने मुटुको समस्याको कुरा गर्ने हो भने चाहिं मुटुमा प्वाल हुने समस्या, मुटुको संरचनात्मक त्रुटि जस्ता समस्या बढी देखिन्छ ।

बच्चाहरूमा जन्मजात हुने मुटुरोगको उपचार गर्ने धेरै नयाँ नयाँ प्रविधि छन् । उदाहरणको लागि मुटुमा चारवटा कोठा हुनुपर्नेमा जन्मिंदा तीनवटा मात्र कोठा छ भने त्यसमा  शल्यक्रिया गरेर नयाँ कोठा बनाउन सकिन्छ । त्यस्तै मुटुसम्बन्धी समस्याको पनि शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ ।

उच्च रक्तचापले मुटुमा कस्तो समस्या निम्त्याउँछ ?

उच्च रक्तचापले मुटुलाई धेरै काम गर्ने वा काम गरेको नपुग्ने बनाउँछ । मुटुले धेरै काम गर्दा मुटुलाई दबाब भएर पनि खराबी हुने भयो, मुटुले काम गरेको पुगेन भने पनि समस्या हुने भयो । जसले गर्दा पनि मुटुरोग लाग्नुमा उच्च रक्तचापलाई कारक मानिन्छ । मुटुको समस्यामध्ये हृदयघात हुने कारणमा उच्च रक्तचाप बढी मात्रामा पर्छ ।

उच्च रक्तचाप र मधुमेह जस्ता समस्या भएका व्यक्तिमा मुटुरोगको समस्या देखिने सम्भावना बढी हुन्छ ?

उच्च रक्तचाप, मधुमेह र मोटोपन जस्तो समस्या भएका व्यक्तिमा मुटुरोगको समस्या देखिने सम्भावना बढी हुन्छ । किनभने कुनै व्यक्तिलाई उच्च रक्तचाप छ उसले त्यसलाई नियन्त्रण गर्न सकेन भने त्यसले  मुटुको नसाहरुमा गएर ब्लकेज गर्छ र रक्तसञ्चारमा असर गरेर मुटुलाई दबाब दिएर मुटुरोग लाग्ने सम्भावना हुन्छ । मधुमेह र मोटोपनको कारणले पनि मुटुको चलमा समस्या देखिने र हृदयघात हुने सम्भावना हुन्छ ।

मुटुको के कस्ता रोगको उपचार सम्भव छ ?

नेपालमा मुटुरोगको सबै उपचार त सम्भव छैन । तर धेरै समस्याको भने समाधान छ । विश्वका अन्य देशमा मुटु प्रत्यारोपण पनि गरिन्छ । हाम्रोमा भने मुटु प्रत्यारोपणको सुविधा हाललाई छैन । मुटुको भल्ब बिग्रिएको र मुटुमा ब्लकेज भएको छ भने त्यसको उपचार भने सम्भव छ । मुटुको भल्ब फेर्न र मुटुमा भएको ब्लकेज हटाउने जस्ता उपचार सम्भव छ ।

सरकारले मुटुरोगको उपचारमा धेरै सहुलियत पनि दिएको छ । १४ वर्ष भन्दामुनि र ६५ वर्ष भन्दामाथिको वृद्धवृद्धालाई सम्पूर्ण उपचार निःशुल्क व्यवस्था गरिदिएको छ । मुटुको  भल्ब फेर्नुपर्‍यो भने निःशुल्क भल्बको पनि व्यवस्था गरेको छ । त्यसैले मुटुको उपचारमा त्यति धेरै समस्या छैन ।

मुटुको रोग लाग्नै नदिन के गर्ने ?

हरेक व्यक्तिले आफ्नो मुटु कस्तो अवस्थामा छ भनेर कम्तीमा वर्षमा एकपटक मुटुको अवस्था जाँच गर्नपर्छ । हामीले आफ्नो खानपान र जीवनशैली सुधार्नुपर्छ ।

नियमित व्यायाम गर्ने, बाहिरको खाना कम खाने, नुन, चिल्लो र चिनी कम खाने, तनाव नलिने, चुरोट नखाने र मोटोपन नियन्त्रणमा राख्ने काम आफैंले गर्न सकियो भने धेरै हदसम्म युवा उमेरमै हुने मुटुरोगबाट बच्न सकिन्छ ।

रिस, ग्लानि, आवेग, डर, क्रोध जस्ता भावनात्मक स्थितिले मुटुमा कुनै समस्या ल्याउँछ ?

रिस, ग्लानि, आवेग, डर र क्रोध जस्ता भावनात्मक स्थितिले मुटुमा असर गरिरहेको हुन्छ । भावनाहरूले रगतमा र नसामा ‘क्याटाकोलामाइन’ भन्ने हर्मोन उत्पादन गर्छ । यो हर्मोनले हाम्रो दुःख र सुखलाई छुट्याउँछ, डर, रिस, आवेगमा मुटुको चाल बढ्छ । जसरी असन्तुलित मानसिक स्थितिले शरीरको अन्य अंगलाई असर गर्छ, त्यसरी नै मुटुलाई पनि असर गर्छ ।

भावनासँग मुटुको कस्तो सम्बन्ध हुन्छ ?

मन भनेको के हो हामी कसैले देखेका त छैनौं । तैपनि मनको चित्रण गर्दा मुटु भनेर धेरैको दिमागमा आउँछ । त्यो भनेको हाम्रो भावना हो । जति बेलासम्म हाम्रो जीवन रहन्छ त्यति बेलासम्म हाम्रो मुटु धड्किइरहन्छ । कहिलेकाहीं मस्तिष्क पनि सुत्छ । तर मन सधैं चल अवस्थामा हुन्छ । हाम्रो भावना जबसम्म रहन्छ तबसम्म मुटु चल्छ ।

मन र मुटुको कुनै नाता छ ?

मन र मुटुको केही न केही नाता त अवश्य छ । किनकि मुटुको अप्रेसन गर्दा मैले केही बिरामीको मुटु हातमा लिएको हुन्छु । त्यो बेला हातमा लिएको मुटुले केही भनिरहेको छ जस्तो लाग्छ मलाई यो मेरो मनले महसुस गरेको कुरा हो । बिरामी मान्छेको मुटुले मलाई छिटो निको पार्देऊ भनेको जस्तो लाग्छ । मेरो मन र त्यो बिरामीको मन र मुटुको कुनै नाता जोडिए जस्तो लाग्छ । यो भावनात्मक अदृश्य कुरा हो ।

हाम्रो मनको स्थितिले मुटुमा कुनै प्रभाव पार्छ ?

मनको स्थितिले पनि मुटुमा प्रभाव पर्छ । हर्षमा हुनुहुन्छ भने मुटुले पनि आनन्द अनुभव गरेर शान्त हुन्छ आफ्नै गतिमा धड्किन्छ । तर मनमा एकदमै त्रास छ भने छिटो छिटो धड्किन्छ । त्यसैले मनको स्थितिले मुटुको चाललाई धेरै प्रभाव पर्छ ।

डा. सञ्जीतकुमार शाह मुटुरोग
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उच्च रक्तचाप भएकालाई उपयोगी १३ खानेकुरा

उच्च रक्तचाप भएकालाई उपयोगी १३ खानेकुरा

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)