+
+

कैलालीको एउटै क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीको दाबी, भागबन्डा मिल्ला ?

कांग्रेस ३, माओवादी २ र समाजवादीको एक क्षेत्रमा दाबी

जनक विष्ट जनक विष्ट
२०७९ भदौ ७ गते १३:१२

६ भदौ, धनगढी । सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरेसँगै कैलालीमा सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा रस्काकस्सी हुने देखिएको छ ।

सिट बाँडफाँटमै सकस हुने देखिएका बेला नेताहरू भने टिकटको लबिङमा लागिसकेका छन् । गठबन्धनमा हुने भागबन्डाका क्रममा आफूले दाबी गरेको निर्वाचन क्षेत्र कुन पार्टीले पाउँछ भन्ने आशंकाकाबीच पनि नेताहरू टिकटका लागि दौडधुप गर्न थालेका छन् ।

कतिपय नेताहरू भने गठबन्धनबीचको भागबन्डा मिलेपछि बल्ल थप गतिविधि थाल्ने पक्षमा देखिएका छन् । यद्यपि उनीहरुले आन्तरिक तयारी भने जारी राखेका छन् ।

प्रतिनिधि सभामा पाँच र प्रदेश सभामा १० सिट रहेको कैलालीमा प्रतिनिधि सभामा भने सत्तारुढ गठबन्धनमा आबद्ध प्रमुख तीन दलबीच भागबन्डा हुने देखिन्छ ।

प्रदेश सभामा भने जनता समाजवादी पार्टीलाई पनि भाग दिने तयारी रहेको नेताहरु बताउँछन् ।

प्रतिनिधि सभाको सिट बाँडफाँटमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भागबन्डा गर्न सकस हुने देखिन्छ ।

कांग्रेसले प्रतिनिधि सभाका तीन वटा (१, ४ र ५), माओवादी केन्द्रले दुई वटा (२ र ३) र एकीकृत समाजवादीले एउटा क्षेत्र (कांग्रेसले दाबी गरेको निर्वाचन क्षेत्र नम्बर ४) मागेको छ । तर, कैलालीमा गठबन्धन कायम राख्न प्रतिनिधि सभाका तीन सिट आफूले पाउनुपर्ने कांग्रेसको माग छ ।

कांग्रेसले दाबी गरेका तीनमध्ये १ र ५ निर्विकल्प पाउने भए पनि क्षेत्र नम्बर ४ मा समाजवादी पार्टीले दाबी गरेपछि भागबन्डामा सकस पर्ने देखिएको हो ।

यस्तो अवस्थामा माओवादी केन्द्रले एउटा क्षेत्र छाड्नुपर्ने अडान लिने कांग्रेस नेताहरू बताउँछन् ।

एमाले सचिव लेखराज भट्टले चुनाव लड्ने कैलाली-४ मा पूर्वराज्यमन्त्री समेत रहेका कांग्रेसका नेता दीर्घराज भाट र एकीकृत समाजवादीका नेता एवंम् सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री दीर्घबहादुर सोडारीको पनि क्षेत्र हो ।

समाजवादीबाट सोडारी आफैं प्रतिनिधि सभा सदस्यको टिकटको दौडमा छन् । स्थानीय तहको निर्वाचनमा अन्य क्षेत्रको तुलनामा यहाँ समाजवादीको प्रभाव देखिएको छ । त्यसकारण पनि समाजवादी पार्टीले यही निर्वाचन क्षेत्र पाउनुपर्ने दाबी गरेको छ । तर, पूर्वराज्यमन्त्री भाटसहितका कांग्रेस नेताहरु भने कुनै पनि हालतमा यो क्षेत्र समाजवादीलाई नदिने पक्षमा उभिने स्रोतको दाबी छ ।

माओवादी केन्द्रले पनि कैलालीका पाँचमध्ये दुई सिट आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।

क्षेत्रनम्बर २ र ३ आफ्नो प्रभाव क्षेत्र भएका कारण पनि जसरी पनि पाउनुपर्ने अडान माओवादी नेताहरुको छ । प्रतिनिधि सभाको सिट बाँडफाँटको विषयले अन्तिम रुप पाएपछि मात्र प्रदेश सभाको भागबन्डा गर्ने गठबन्धनका नेताहरुको भनाइ छ ।

नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भागबन्डाका विषयमा केन्द्रीयस्तरमा छलफल भइरहेकाले अहिले यस्तै हुन्छ भन्न नसकिने बताउँछन् । ‘भागबन्डाका क्रममा कांग्रेसले प्रतिनिधि सभाका तीन वटा क्षेत्रमा पाउनुपर्छ भन्ने आवाज उठ्न थालेको कुरा साँचो हो तर कुन-कुन क्षेत्र भन्ने अहिले नै भन्न सकिंदैन,’ सुनारले भने ।

माओवादी केन्द्र कैलालीका संयोजक लाजुराम चौधरीले भने प्रतिनिधि सभाको (२, ३ ) नम्बर क्षेत्र आफूहरुले पाउनुपर्ने माग रहेको बताए । तर, सिटको अन्तिम निर्णय भने गठबन्धनमै आवद्ध दलहरुसँगको छलफलका आधारमा हुने उनी बताउँछन् ।

समाजवादी पार्टीले भने प्रतिनिधि सभामा क्षेत्र नम्बर ४ र प्रदेश सभामा थप तीन गरेर चार वटा सिट पाउनुपर्ने माग अघि सारिएको जनाएको छ ।

गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा पाँच निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेस (३, ४ र ५) तीन वटा, एमाले (२) र नागरिक उन्मुक्ती पार्टी (१) एक/एक क्षेत्रमा पहिलो दल बनेका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?