+
+
भैरहवाको भुईंबाट–९ :

भैरहवाबाट श्रमिकको विदेश उडान : छैन म्यानपावर, मेडिकल र भिसा सेन्टरको सुविधा

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ भदौ २४ गते १८:१०

२४ भदौ, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च समेत नउठेपछि वायुसेवा कम्पनीहरुलाई त्यहाँ उडान गराउने बाध्यकारी व्यवस्था गरिंदैछ ।

त्रिभुवन विमानस्थलमा दैनिक ४ वा ४ भन्दा बढी उडान गरिरहेका ५ वटा विमान कम्पनीलाई भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एक उडान गर्न बाध्य पार्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेजलाई कम्तीमा एउटा उडान भैरहवाबाट गर्न सर्कुलर नै जारी भएको छ ।

‘काठमाडौं विमानस्थलबाट ३ भन्दा बढी उडान गर्ने वायु सेवालाई भैरहवा जान खासै समस्या नहुने प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन्, ‘कम्तीमा एक उडान भैरहवाबाट गर्न सर्कुलरसहतिको पत्र पठाएर उहाँहरुसँग छलफल पनि गरिरहेका छौं ।’

उनका अनुसार ३० अक्टोबर २०२२ देखि २५ मार्च २०२३ सम्म ६ महिनाको ‘विन्टर सिजन’को उडान तालिका तय गरिने छ । सो तालिकाअनुसार उडान गर्नेगरी योजना बनाउन कम्पनीहरुलाई भनिएको हो ।

‘कतारमा हुने विश्वकपका कारण नेपालबाट हुने उडान नै घटाउने प्रस्ताव गरेको कतार एयरवेजले प्राधिकरणको निर्देशन मान्न अहिले कठिन हुने जवाफ दिएको छ,’ भुलले भने, ‘विश्वकपपछि भने भैरहवा उडानका लागि कतार एयरवेज तयारै रहेको बुझिन्छ ।’

प्राधिकरणको सर्कुलरअनुसार वायुसेवा कम्पनीले उडान तालिका बनाए अहिले हप्तामा ३ वटामा सीमित भैरहवाको अन्तर्राष्ट्रिय उडान कम्तिमा दैनिक ६ वटा हुनेछन् । ती उडान पश्चिम र मध्य नेपालबाट वैदेशिक रोजगारीमा जाने गन्तब्यहरुमा केन्द्रित हुनेछ । त्योबेला  काठमाडौंबाट उड्न चाहनेले पनि भैरहवा पुग्नुपर्ने अवस्था बन्न सक्छ ।

अहिले भैरहवाबाट जजिरा एयरले शनिबार, सोमबार र बुधबारगरि हप्ताको ३ उडान गरिरहेको छ । आगामी हप्तादेखि हप्ताको सातै दिन उडान गर्ने तयारी रहेको जजिराले जनाएको छ ।

यात्रु ठगिएको आशंका

अहिले जजिरामा यात्रा गरिरहेकामध्ये अधिकांश एक पटक विदेश गएर सोही कम्पनीमा फर्किन श्रम स्वीकृति नवीकरण गरेकाहरु छन् । कतिपय म्यानपावर कम्पनीले टिकट काटेर श्रमिकलाई भैरहवा पठाइरहेका छन् ।

विमानस्थलका अधिकारीहरुका अनुसार, भैरहवामा विमान कम्पनीलाई पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङ लगायत शुल्कमा छुट भएकाले केही सस्तो दरमा टिकेटिङ भइरहेको छ ।

म्यानपावर कम्पनीहरुले काठमाडौंबाट टिकट पाइएन भन्दै भैरहवा पठाउन थालेकाले झापादेखिका यात्रु यहाँबाट उड्न थालेका छन् । भैरहवाबाट उड्दा औसत ८ हजार रुपैयाँ सस्तो पर्ने भएपनि म्यानपावर कम्पनीहरुले श्रमिकबाट बढी असुलेर पठाइरहेको विमानस्थलका एक अधिकारीले बताए ।

छैन पूर्वाधार

वैदेशिक रोजगारीमा जानेका लागि गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक पर्ने पूर्वाधारहरु भने छैनन् । कुनै म्यानपावर कम्पनीको कार्यालय पनि छैन । अहिले त सरकारले नै म्यानपावर कम्पनीको शाखा खोल्न अनुमति रोकेर राखेको छ । न त भैरहवालक्षित नयाँ म्यानपावर कम्पनीको लाइसेन्स दिने योजना छ ।

‘म्यानपावर कम्पनी नै नभएको शहरबाट वैदेशिक रोजगारी लक्षित उडान कसरी गर्ने होला ?’ नागरिक उड्ययन प्राधिकरणको पत्र पाएको एक एअरलाईन्स कम्पनीका अधिकारी भन्छन्, ‘वैदेशिक रोजगारीमा जानेलाई त्यहाँबाट उडाउने हो भने काठमाडौंमा जत्तिकै पूर्वाधार खडा हुनुपर्छ ।’

विदेश जानेहरुको मेडिकल जाँच पनि भैरहवामा हुँदैन । त्यसका लागि सरकारले अनुमति जारी गरेर स्तरीय डाइग्नोस्टिक सेन्टरहरु खोल्नपर्छ ।

फेरी श्रम स्वीकृतिबाहेकका सबै प्रक्रिया पुरा गर्न काठमाडौं जानैपर्ने हुँदा विदेश जाने श्रमिकको खर्च थपिने जोखिम पनि छ । वैदेशिक रोजगारमा जानेले नयाँ श्रम स्वीकृत लिएर अभिमुखीकरण कक्षा लिन पनि काठमाडौं नै जानुपर्ने अवस्था छ ।

यस्तो अवस्थामा काठमाडौं आउ–जाउको दोहोरो खर्च लाग्ने भएकाले यात्रुले भैरहवाबाट उड्ने गरी टिकट नै सम्भावना पनि छ । हालको अवस्थामा काठमाडौंमा सबै प्रक्रिया पुरा गरेर उतैबाट उड्न सहज रहेको प्राधिकरणको पत्र पाएको एअरलाईन्स कम्पनीका ति अधिकारी बताउँछन् ।

म्यानपावरको सेवा, मेडिकल, नयाँ श्रम स्वीकृति, अभिमुखीकरण लगायत सबै सेवा उपलब्ध भएपछि भने विदेश जाने नेपालीका लागि भैरहवा रोजाइको विमानस्थल बन्ने ति अधिकारीले बताए ।

अहिले कतार र यूएईका भिसा सेन्टर पनि काठमाडौंमा मात्रै छन् । अन्य कतिपय देशमा जान ‘बायोमेट्रिक’ दिनुपर्ने सुविधा पनि कठमाडौंमै केन्द्रित छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्य भैरहवाबाटै श्रम स्वीकृतिका सबै प्रक्रिया पुरा गर्ने व्यवस्था भइसकेको बताउँछन् । ‘अन्य व्यवस्थाहरु कसरी गर्ने भनेर छलफलमा छौं,’ उनले भने ।

उड्ययन प्राधिकरणका सूचना अधिकारी भुल वैदेशिक रोजगारी सम्बद्ध सबै सेवा भैरहवामा सुरु गराउने पहल गर्न श्रम मन्त्रालयलाई आग्रह गरेको बताउँछन् ।

सञ्चालन खर्च उठाउने रणनीति

नेपालका मुख्य गरी तराई क्षेत्रबाट विदेश जानेको संख्या धेरै रहेको र भैरहवा विमानस्थल पूर्वपश्चिम राजमार्गको मध्यविन्दुबाट नजिकै रहेकाले यहाँबाट हवाई सेवा लिने यात्रुको संख्या धेरै हुनेमा प्राधिकरणका अधिकारीहरु विश्वस्त छन् । त्यसैले वैदेशिक रोजगारीमा जाने र फर्किनेहरुलाई भैरहवाको विकल्प दिने योजना बनाइएको हो ।

विमानस्थलको व्यवसायिक सफलताका लागि पनि यस्तो रणनीति आवश्यक भएको प्राधिकरणको भनाइ छ । अहिले जजिरा एयरलाइन्सको मात्र उडान भएको गौतमबुद्ध विमानस्थल घाटामा चलिरहेको छ । विमानस्थल सञ्चालन खर्च वार्षिक सवा एक अर्बसम्म लाग्ने अनुमान छ ।

दैनिक ४० वटा उडान गर्नसक्ने विमानस्थल हप्तामा ३ वटा उडानमा सीमित छ । यसले गर्दा आम्दानी निकै न्युन छ । जबकी, विमानस्थललाई चौबिसै घण्टा खुला राखिएको छ । त्रिभुवन विमानस्थलको विकल्पको रुपमा चौबिसै घण्टा खुला राखिएको विमानस्थल प्रमुख गोविन्द दाहाल बताउँछन् ।

आकस्मिक अवस्थामा भैरहवा विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आउने भएकाले एयर ट्राफिकदेखि सुरक्षाकर्मी, कर्मचारी सबैलाई २४ घण्टा नै काममा बोलाइएको छ ।

काठमाडौं विमानस्थलमा उठेको रकम भैरहवामा खर्च गर्नु जायज नहुने भएकाले पनि वायुसेवा कम्पनीहरुलाई भैरहवा पठाउन खोजिएको सूचना अधिकारी भुल बताउँछन् ।

‘कम्तीमा दैनिक ५ उडान भयो भने भैरहवा विमानस्थल सञ्चालनको खर्च व्यवस्थापन हुन्छ’, उनले भने ।

भैरहवाको भुईंबाट–१

भैरहवाको भुईंबाट–२

भैरहवाको भुईंबाट-३

भैरहवाको भुईंबाट-४

भैरहवाको भुईंबाट-५

भैरहवाको भुईंबाट-६

भैरहवाको भुईंबाट-७

भैरहवाको भुईंबाट-८

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?