+
+

विराटनगरमा कर तिर्ने तारे होटल २ वटा मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १४:०५

३० भदौ, विराटनगर । विराटनगरमा रहेका दुई वटा होटलले मात्रै तारे होटलको कर तिरेको पाइएको छ । विराटनगरमा रहेका आधा दर्जन होटलले तारे होटल दाबी गर्दै आएका छन् । तर महानगरमा भने दुई वटाले मात्रै तारे होटलको कर तिरेका हुन् ।

विराटनगरमा रहेको होटल बिग र होटल रत्नाले मात्रै तारे होटलको कर तिरेको महानगरपालिकाका राजस्व महाशाखाका अधिकृत सरोजकुमार गौतमले बताए ।

एमाले नेता मोती दुगडले सञ्चालन गरेको ह्यारिसन होटलले महानगरपालिकामा सामान्य होटलको मात्रै कर तिरेको छ । तर सो होटलले तीन तारे होटलको दाबी गर्दै आएको छ । तारे होटल दाबी गर्ने अन्य होटलले पनि सामान्य होटलको सरह कर तिरेका हुन् ।

महानगरपालिकामा सामान्य होटलले वर्षमा २० हजार रुपैयाँ कर तिरे पुग्छ । तारे होटलको कर ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म छ ।

राजस्व महाशाखाका अधिकृत गौतमका अनुसार पाँच तारे होटलले वार्षिक कर २ लाख ५० हजार रुपैयाँ तिर्नुपर्छ । चार तारे ले २ लाख, तीन तारेले एक लाख ३० हजार, दुई तारेले ७५ हजार र एक तारे होटलले ५० हजार रुपैयाँ कर तिर्नुपर्छ ।

साउन अघिसम्म विराटनगरका कुनै होटलले तारे होटलको कर तिरेका थिएनन् । आलोचना भएपछि बिग होटल र रत्ना होटलले चार तारे होटलको कर तिरेका हुन् ।

महानगरमा साना रेष्टुरेन्ट एण्ड बारले १० हजार, मझौलाले १५ हजार र ठूलाले ३० हजार रुपैयाँ कर तिर्नुपर्छ । लज तथा गेष्ट हाउसमा सानाले ३ हजार मझौलाले ८ हजार र ठूलाले १५ हजार रपैयाँ कर तिर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?