+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
चुनाव २०७९ :

देउवासँग चुनाव लड्ने तयारीमा रहेका सागर भन्छन् : बिजोग रहेछ डडेलधुरा

प्रधानमन्त्री देउवालाई हराउनुलाई नै सागरले आफ्नो लक्ष्य मानेका छन् । तर हराउनु भन्ने शब्द प्रयोग नगरेर सागर देउवालाई ‘आराम’ दिन डडेलधुरा आएको बताउँछन् ।डडेलधुरामा देउवा भएकैले गुल्मी छोडेर आएको तर्क गर्ने सागर भन्छन्, ‘हजुरबाको इनर्जी नाति पुस्तामा सार्न डडेलधुरा आएको हो । देशभर एउटा म्यासेज पनि दिनुपर्‍यो नि !’

जनक विष्ट जनक विष्ट
२०७९ भदौ ३१ गते २०:२८

३१ भदौ, धनगढी । पाँच वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेर चर्चामा आएका सागर ढकाल केही समययता डडेलधुराका गाउँ–गाउँ घुमिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘हजुरबा’ सम्बोधन गर्ने ढकाल प्रतिनिधिसभा सदस्यको चुनाव लड्न डडेलधुराका गाउँ घुमिरहेका हुन् ।

४० वर्ष मुनिका व्यक्ति मुलुकको प्रधानमन्त्री हुनुपर्ने एजेण्डा लिएर ५२ वटै वडामा सहयोगी समूह विस्तार गरिरहेको ढकाल बताउँछन् । ‘१०/१२ वटा देश घुमें, अहिले डडेलधुरामा विकास कस्तो रहेछ भनेर गाउँ–गाउँ गइरहेको छु’, ढकाल भन्छन् ।

‘बिजोग रहेछ डडेधुरा’

डडेलधुराको गाउँघर घुम्नुको उद्देश्यमा सागर ढकालको सार्वजनिक घोषणा छ– आगामी चुनावबाट सांसद बन्ने ।प्रधानमन्त्री देउवाकै क्षेत्रबाट सांसद बन्ने तयारीमा जुटेका ढकाल, प्रत्येक वडामा ३५० जनासम्म जोडिएको दाबी गर्छन् ।

‘डडेल्धुराको गाउँगाउँ हिंड्दा जुकाले टोकेर खुट्टा सुन्निएका छन्’ ढकाल भन्छन्, ‘तैपनि कुनाकुना र वडा-वडामा गएर हेर्दैछु । समस्या बुझिसकेपछि क्षेत्रीय एजेन्डा हुन्छन् । भोलि चुनाव चिह्न पाउँछौं ।’

सागरको प्रारम्भिक अवलोकन अनुसार, डडेलधुराको अवस्था अफ्रिका जस्तै छ । ‘अफ्रिका जाँदा मैले सबैभन्दा ठूलो पानीको समस्या देखेको थिएँ’ उनी भन्छन्, ‘डडेलधुरामा पनि पानीको समस्या रहेछ ।’

डडेलधुरामा पानीको समस्या हुनु कल्पना बाहिरको कुरा भएको सागर बताउँछन् । ‘तल खोलामा पानी छ, तर माथि लैजान सक्नुभएको छैन’ उनी भन्छन्, ‘पहिरो खस्ने समस्या पनि रहेछ । बालबालिका तीन घण्टा हिंडेर स्कूल जानुपर्ने रहेछ ।’

महिनावारी भएका किशोरीहरू यति लामो बाटो कसरी हिंड्छन् भन्ने प्रश्न लगातार मनमा उब्जिने गरेको सागर बताउँछन् । सुरक्षा र मौसमका दृष्टिले पनि लामो बाटो हिंडेर स्कूल जानु कठिनाइ लागेको छ, सागरलाई ।

जताततै पहिरो र फोनमा नेटवर्क नहुनुलाई सागर जंगली युगसँग तुलना गर्छन् । ‘यावत् समस्या देख्दा मलाई त हामी अझै जंगली युगमै हो कि जस्तो लाग्यो । साह्रै बिजोग छ’, उनी भन्छन् ।

डडेलधुरा नै किन ?

स्वतन्त्र उम्मेदवार गुल्मीमा नबनेर किन डडेलधुरा भन्ने प्रश्नमा सागर भन्छन्, ‘जहाँबाट विद्युत् आउने हो, त्यहीं प्लग हालेपछि बिजुली आउने हो ।’ अर्थात् प्रधानमन्त्री देउवालाई हराउनुलाई नै सागरले आफ्नो लक्ष्य मानेका छन् ।

तर हराउनु भन्ने शब्द प्रयोग नगरेर सागर देउवालाई ‘आराम’ दिन डडेलधुरा आएको बताउँछन् ।डडेलधुरामा देउवा भएकैले गुल्मी छोडेर आएको तर्क गर्ने सागर भन्छन्, ‘हजुरबाको इनर्जी नाति पुस्तामा सार्न डडेलधुरा आएको हो । देशभर एउटा म्यासेज पनि दिनुपर्‍यो नि !’

सांसद पद ठूलो होइन !

लगातार ६ वटा चुनाव जितेर पाँच पटक प्रधानमन्त्री भएका देउवाको कीर्तिमान यसपटक तोडिने आधार भेटेको उनी दाबी गर्छन् । देउवाले ३० वर्षदेखि डडेलधुरामा चुनाव जितेको कीर्तिमान जस्तै आफूले पनि ३० वर्षे इतिहासमा पहिलोपटक पुल्चोक क्याम्पसबाट अक्सफोर्डमा छानिएको उनी बताउँछन् ।

‘अक्सफोर्डले विश्वभरबाट ३० युवा छान्दा मलाई पनि छनोट गरेको साँचो हो, त्यो प्रमाण नै छ’ उनको दाबी छ । आफूसँग थुप्रै देशमा काम गरेको अनुभव रहेको दाबी गर्दै उनले आफ्नो लागि सांसद पद ठूलो नभएको तर्क गरेका छन् ।

सागरको सपना भने देशकै प्रधानमन्त्री बन्ने हो । तर अहिलेको संसदीय अभ्यास र संवैधानिक व्यवस्थाका कारण उनी एक्लै जितेर पनि प्रधानमन्त्री बन्न कठिन छ । एक्लै जितेर प्रधानमन्त्री बन्न कठिन रहेको तथ्यप्रति अवगत रहेको बताउने सागर भन्छन्, ‘२३ सिट जितेर पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएको होइन र ?’

आगामी निर्वाचनमा देशभरबाट २० जना स्वतन्त्र उम्मेदवारले जितेमा प्रधानमन्त्री बन्न सक्ने उनको आकलन छ । डडेलधुराका गाउँ-गाउँमा पनि सागर र बालेनहरूको पुस्ता आउनुपर्छ भन्ने आवाज भएकाले उत्साहित बनेको उनले सुनाए ।

नयाँ दिल्लीमा (अरविन्द) केजरीवालले ल्याएकै जस्तो माहोल आएमा आफू प्रधानमन्त्री बन्‍न कुनै अप्ठ्यारो नहुने सागर कल्पना गर्छन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?