+
+
Shares

इलामे चियामा विदेशी पर्यटकको आकर्षण

इलामको सुन्दरपानीस्थित हरियाली चियाबारी घुमिसकेपछि जर्मनी नागरिक थोमस होल्स प्रसन्न मुद्रामा थिए । विश्वका दर्शनौं राष्ट्र घुमेर अनुभव संगालेका थोमस यहाँका थुम्का थुम्का डाडाभरि देखिएको हरियो चिया वगान र प्राकृतिक सौन्दर्यताबाट प्रभावित थिए । छैटौं पटक इलाम आइपुगेका उनी किसानले घरगाउँमा नै उत्पादन गरेको अर्थोडक्स चिया चाख्न र चियावारी घुम्न निक्कै लालायित

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ९ गते १५:२५

-जीवन शर्मा

jiwan sharmaइलामको सुन्दरपानीस्थित हरियाली चियाबारी घुमिसकेपछि जर्मनी नागरिक थोमस होल्स प्रसन्न मुद्रामा थिए । विश्वका दर्शनौं राष्ट्र घुमेर अनुभव संगालेका थोमस यहाँका थुम्का थुम्का डाडाभरि देखिएको हरियो चिया वगान र प्राकृतिक सौन्दर्यताबाट प्रभावित थिए । छैटौं पटक इलाम आइपुगेका उनी किसानले घरगाउँमा नै उत्पादन गरेको अर्थोडक्स चिया चाख्न र चियावारी घुम्न निक्कै लालायित भए ।’ यहाँ प्रकृतिले अमुल्य उपहार दिएको रहेछ यसलाई स्थानीयले वेलैमा सदुपयोग गर्नुपर्छ ।’ थोमस विश्वका नामुद चिया व्यापारी हुन् त्यसैले उनी नेपालको चियाको अवस्था बुझ्न यता आइरहन्छन् ।

यता आउँदा उनी स्थानियवासीसग चिया किन्ने गफ मात्र गर्दैनन् पर्यटन विकासका मिठा अनुभव र सम्भावनाहरूका वारेमा वेलिविस्तार पनि लगाउँछन् ।उनी इलाम आउनुको उद्देश्य नेपाली चियालाई पूर्ण अग्र्यानिक वनाएर विश्व वजारमा विक्री तथा प्रबर्द्धन गर्नु हो । तर यहाको प्राकृतिक सुन्दरता देखेर उनमा हरियो चियावारीलाई ‘टि-टुरिज्म’ सग जोडेर विकास गर्न सके यसले नेपालीहरूको आर्थिक अवस्थामा व्यापक सुधार हुने वताउँछन् । उनले भने -‘यहाँको प्राकृतिक सौदर्यमा म प्रभावित भएँ, यसलाई ‘टि-टुरिज्म’ को अवधारणा अघि सार्न सल्लाह दिन्छु ।’

हुन पनि थोमससँगै आएका अन्य जर्मनी नागरिकहरू इलामका चियावारीमा धितमरुन्जेल घुम्छन अनि गाउँलेसँगै वसेर नेपाली चियाको स्वाद लिन्छन् । सुन्दरपानीका युवा जय राई भन्छन- ‘यहाँको हरियाली चिया वगानले जर्मनीहरूमा नेपाल घुम्न आउने थप प्रेरणा र इच्छा जागेको छ’ जयले थपे । ‘यसले ‘टि-टुरिज्म’को अवधारणालाई सघाउ पुर्‍याउन सक्छ’,उनले प्रष्टाए ।

नेपाली चिया उत्पादनको अवस्था, किसानहरूले खेती गर्ने प्रबिधि साथै चियाको अध्ययन अनुसन्धान गर्न आउने तेश्रो मुलुकका नागरीकहरूको संख्या दिनप्रतिदिन बढन थालेपछि इलाममा ‘टि-टुरिज्म’ अत्यन्तै प्रभावकारी हुने सम्भावना देखिएको छ । नेपालका चर्चित चियाविज्ञ उदय चापागाई भन्छन् -‘नेपाली चियाको उत्पादन, गुणस्तर र विश्व वजार प्रबर्द्धन सँगसगै यसमा पर्यटनलाई पनि साथै लग्न सके स्थानीय स्तरमा आयआर्जनमा बृद्धि हुनेछ ।’ उनले भने-‘टि-टुरिज्म’ लाई अघि वढाउन सके हरेक चिया किसानलाई पर्यटकबाट मात्रै वाषिर्क पचास हजार चोखो आम्दानी हुनेछ ।’ दिनभरी चिया वगान तथा कारखानाको अध्ययन भ्रमण गर्ने र वेलुकी किसानकै घरमा ‘पेइङ गेष्ट’ को रुपमा वस्ने व्यावस्था मिलाउनु पर्ने चापागाईको भनाइ छ ।

विश्वका अमेरीका, जापान, स्पेन भारत, श्रीलंका, चाइना, स्विजरल्याण्ड लागायतका राष्ट्रहरूबाट नेपाली चियाको अध्ययन भ्रमणमा पर्यटकहरू आउने गरेका छन् । गत वर्ष कन्याम चिया वगानको अध्ययन तथा अनुसन्धानात्मक भ्रमणमा आएका स्पेनका पाच जना नागरीक यहाको प्राकृतिक रौनकतामा मात्र रमाएनन् स्थानिय एक प्राथमिक विद्यालयलाई दश हजार आर्थिक सहयोग गरेर विदा भए । स्थानिय समाजसेवी डम्बर कटुवाल भन्छन-‘चिया भ्रमणमा आएका ती नागरिक ग्रामीण परिवेषमा गाउलेहरूले देखाएको सच्चा व्यावहारको प्रतिफल पनि दिएर गए । जसले एउटा गरिब विद्यालयलाई ठूलो राहत मिल्यो ।’ नेपालमा टि टुरिज्मको सम्भावना प्रशस्त रहेकाले यसको विकासमा पहलकदमी अगाडी बढाउनु पर्ने भ्रमण दलमा रहेकी स्पेन नागरिक एलिनाले बताएकी थिइन् । इलाम आइपुगेका हरेक नागरीकलाई इलामेहरूले खुल्ला हृदयले आकर्षक ढंगले स्वागत गरेर पर्यटक तान्ने गरेका छन् । तेश्रो मुलुकका पर्यटक यस क्षेत्रमा वढाउन सके यसले स्थानिय जनजिवन सुधार हुन सक्ने मात्र होइन नेपालका लागि वरदान सावित हुनेछ ।

‘टि-टुरिज्म’ का माध्यमबाट तेश्रो मुलुकका पर्यटक नेपाल भित्राउन आकर्षक कार्यक्रमहरू अघि वढाउन पहलहरू भइरहेका छन् । इलामका पर्यटन योजनाकार धर्म गौतमका अनुसार इलाम उद्योग वाणिज्य संघको पहलमा एस.एन.भी. नेपाल तथा श्रीलंकन सरकारको सहयोगमा नयाँ परियोजना मार्फत कार्यक्रम प्रश्ताव गरिएको छ । जस अन्तर्गत चिया वगान भित्र गेष्ट रुम, आकर्षक पार्क, तथा ट्रेकिङको व्यावस्था मिलाउन लगानीकर्तालाई आग्रह गरिने छ । देशमा शान्ति स्थापना पश्चात टि-टुरिज्मको सम्भावना झनै बढेर गएको छ । भारत तथा चाइनाबाट नेपाली चियाको अध्ययन तथा अनुसन्धान भ्रमणका लागी पर्यटकको संख्या वढेको छ ।

पारिपट्टी दार्जिलिङ, सिक्किम लगायतका क्षेत्रमा टि टुरिज्मको अवधारणा ल्याइएपछि त्यहाँको पर्यटकीय विकास आकाशिएको हो । नेपालमा कार्यरत दार्जिलिङ्गका चिया विशेषज्ञ एस. के. प्रधान भन्छन्-‘दार्जिलिङले चिया पर्यटनबाट मात्र आधा जनजिवन धानेको छ । यसको अवधारण नेपालमा विस्तार गरेर ‘गन्तब्य चियावारी’ वनाउन सके यहाको आर्थिक तथा सामाजिक विकासले उचाइ लिने पक्का छ उनले भने । तर नेपालमा यसको अवधारणालाई सरकारी तवरबाट कुनै पहल हुन सकिरहेको छैन् । चियाकै अध्ययन भ्रमणमा आउने पर्यटकहरूको संख्या यस वर्ष सुधारिएको छ । नेपालका तीन दर्जन जिल्लामा चिया खेती विकास तथा विस्तार भइरहेको अवस्थामा यसबाट उत्पादन तथा पर्यटनबाट नेपालले मनग्गे आम्दानी लिन सक्ने बताइन्छ । पर्यटकहरू नेपालको चिया वगान, यसको अवस्थाको अध्ययन अनुसन्धानका लागि विशेष मात्रामा आउने भएकाले इलामको प्राकृतिक स्वरुप हेरेर पनि भ्रमणको समयलाई वढाउने गरेका छन् । चिया अध्ययन गर्न आएका पर्यटकहरू गाउँमै बसेर लोकल चिया चाख्ने र चियावारी घुम्ने गर्छन् ।

थुम्का थुम्का डाँडाहरूमा आँखाले भ्याएसम्मका चियाका हरिया बुट्टाहरू, अन्तुडाडाबाट उदाउने सूर्योदयको पहिलो लालीकिरण, डाडाकाडा भरि कोणधारी सल्लाघारी, नागवेली सडक खण्ड, पुराना बौद्धगुम्बा र मन्दिरहरू, कञ्चनजङ्गाको मनोरम दृष्य आदि रमणिय दृष्यहरूलाई क्यामेरामा कैद गर्दै रमाउन इलाम आइपुग्ने पर्यटकका लागि टि टुरिज्मको अवधारणाले नेपाल पर्यटन क्षेत्रलाई थप टेवा पुर्‍याउन सक्ने अनुमान लगाउन सकिन्छ । नेपाल सरकारले नेपाल पर्यटन वर्षलाई सफल वनाउन र जतिसक्दो पर्यटक भित्राउन पूर्वी पहाडी डाडामा मौलाएको चिया उद्योगलाई टि टुरिज्मको अवधारणामा विकास गर्न आवश्यक देखिन्छ ।

चिया-पर्यटनको अन्तराष्ट्रिय प्रचलन

चिया र पर्यटन भर्खरै चर्चामा आएपनि यसको विकास चिनमा धेरै अघि देखि नै प्रारम्भ भइसकेको हो । चीनको सिचुवान प्रान्तमा चियाको म्युजियम नै रहेको छ । त्यहाँको जंगलमा प्रथम पटक पत्ता लागेको चियाको बोट भएको स्थानलाई संरक्षित गरिएको छ । त्यो पहाडी इलाका भएकाले आगन्तुक पर्यटकलाई माथि सम्म पुग्न रोप-वेको व्यवस्था गरिएको छ । जुन ठाउँ हेर्न वर्षेनी हजारौं जाने गर्दछन् ।

चीनमा मात्र होइन जापानमा पनि यसको विस्तार व्यापक रुपमा भएको छ । चीन र जापानमा चियालाई पेय पदार्थका रुपमा मात्र होइन सभ्यताको रुपमा लिने गरिन्छ । ती दुई देशमा त्यहाँ उत्पादन हुने चियालाई ‘टि टेस्टिङ सेरोमनी’को रुपमा लोकपि्रय भएको छ । त्यहाँ ‘ब्रेक टि’, ‘ग्रीन टि’, ‘वाइट टि’, ‘व्ल्याक टि’ ‘अर्गानिकबाट पाहुना र पर्यटकलाई स्वागत गर्ने संस्कृति नै स्थापित भइसकेको छ । यसै अनुसार भारतको दार्जिलिङ, आसाम, डुवर्स लगायतका क्षेत्रमा पनि यसको विकास हुँदै गइरहेको छ ।

चिया तथा कफी विकास वोर्डका पूर्वकार्यकारी निर्देशक विनय मिश्रका अनुसार विश्वमा केन्याले चिया पर्यटनबाट मनग्गे फाइदा लिएको छ । मिश्र भन्छन्-‘इलाममा भएको चियाको जात पनि’ओर्जीनल चाइनीज सिड’ हो, जुन विश्वमा गुणस्तरयुक्त मानिन्छ यसलाई पर्यटनसँग जेाडन सके विश्व वजारीकरणमा पनि बृद्धि हुनेमा दुइमत छैन् ।’ ‘संस्कृतिका रुपमा चिया विकसित हुँदै गइरहेको साथै अथितिलाई सत्कार गर्ने एक पेय पदार्थ मात्र नभएर मानव सभ्यताको एक अभिन्न संस्कार पनि भएकोले पर्यटनसँग जोड्नु आवश्यक रहेको मिश्रको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?