+
+

देवघाटमा माघे संक्रान्ति मेला : चिन्ता झोलुङ्गे पुलको, दासढुङ्गाको पक्की पुल प्रयोग गर्न आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते ९:५२
२०३७ सालमा बनाइएको झोलुङ्गे पुल मर्मत गरिएको र एक पटकमा एक सय जनाभन्दा बढीलाई जान नदिने गरी व्यवस्था मिलाइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

२९ पुस, चितवन । त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्ति मेलाको तयारी तीव्र पारिएको छ ।

हरेक वर्ष पुसको अन्तिम दिन र माघ १ गते देवघाटमा माघे संक्रान्ति मेला लाग्ने गर्दछ । पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर संक्रान्ति मेला शुभारम्भ हुन्छ । मकर मेलामा देवघाटमा स्नान गरे पुण्य प्राप्ति हुने विश्वासले देवघाटमा नुहाउन हजारौं भक्तजनहरु आउने गर्दछन् ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले यस वर्ष पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा अनुसार व्यवस्थापनको तयारी गरिएको जानकारी दिए । अघिल्ला वर्षहरुमा कोरोना महामारीका कारणले भक्तजनहरुलाई दर्शन गर्न नआउन भनिएको थियो । लगातार दुई वर्ष भक्तजनहरु देवघाटमा स्नान गर्न नआएका कारण यसपटक बढी भिड लाग्ने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ ।

समितिले १५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति बनाएर मेला व्यवस्थापनको काम गरेको छ । चितवनतर्फको देवघाट र तनहुँतर्फको वेणीमा स्नान गर्नका लागि सीमा तय गरेर डोरी टाँग्ने काम सशस्त्र प्रहरीमार्फत गरिएको छ ।

स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, सशस्त्र प्रहरीको उद्धार टिम र स्थानीय बोटे समुदायलाई तयारी अवस्थामा राखिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । बिजुली बत्तीको व्यवस्था गर्न चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिकालाई जिम्मा दिइएको छ । खानेपानी, यातायात, पार्किङ, शौचालय लगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन् ।

झोलुङ्गे पुल मर्मत

यसपटक चितवनबाट देवघाट जाने झोलुङ्गे पुलमा एक पटकमा एक सय जनाभन्दा बढीलाई जान नदिने गरी सुरक्षाकर्मी राखिने छ । देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ ।

२०३७ सालमा बनेको पुल जीर्ण बनेकाले कुनै दुर्घटना नहोस् भनेर सुरक्षा सतर्कता अपनाइएको समितिका अध्यक्ष अधिकारीले बताए ।

दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने विश्वास क्षेत्र विकास समितिले लिएको छ ।

नदीबाट नै वारपार गर्न चाहनेहरुका लागि ३५ वटा डुंगाको व्यवस्था गरिएको छ । एक जनाको ३५ रुपैयाँ भाडा लिएर चितवनबाट देवघाटको काली नदी छेउसम्म डुंगामार्फत् आउ–जाउ गर्ने व्यवस्था गरिएको अध्यक्ष अधिकारीले बताए ।

पुस ३० गते रातिका लागि ठाउँठाउँमा धुनी जलाउने, भजनकिर्तन लगायतको व्यवस्था गरिएको छ । आजबाट नै देवघाट क्षेत्रका मदिरा तथा मासुको बिक्रीवितरणमा रोक लगाइएको छ । मेला अवधिभर कहीँकतै पनि कुनै पनि पसलले मदिरा बिक्री गरेको थाहा हुन आए कडा जरीवाना गरिने समितिले जनाएको छ ।

मेलामा जानका लागि भरतपुर तर्फबाट रामनगरबाट पस्ने र आँपटारी क्षेत्रबाट निस्कने व्यवस्था मिलाइएको छ । यसका लागि ठाउँठाउँमा प्रहरीहरु परिचालन गरेर व्यवस्थापन सहज बनाइने अध्यक्ष अधिकारीले जानकारी दिए ।

सवारीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवत–जावतका लागि एकतर्फी बाटो तय गरिएको छ । पुल बनाउनका लागि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?