
११ फागुन, काठमाडौं । १९९७ मा पहिलो पटक बुद्ध एयरको लोगोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको ‘बिचक्राफ्ट १९०० डी’ २५ वर्षसम्म नेपाली आकाशमा उड्यो । अन्ततः यो जहाजलाई कम्पनीले क्यानडा बिक्री गरेको छ । १९९७ मा पहिलो उडान गरेको बिचक्राफ्टले माउन्टेन फ्लाइटमा ल्याएको क्रान्तिलाई अहिले पनि स्मरण गर्छन् कम्पनीका सिनियर क्याप्टेन राजनकुमार शर्मा ।
उनकाअनुसार शर्मा र एक जना अमेरिकी पाइलटले यो जहाजबाट पहिलो माउन्टेन फ्लाइट गरेका थिए । ‘यो जहाजले नेपाली आकाशमा क्रान्ति नै ल्यायो’ शर्मा भन्छन् । त्यस अगाडि जहाजहरुले २० हजार फिट भन्दा तलबाट मात्र माउन्टेन फ्लाइट गर्थे । यो जहाज २५ हजार फिटसम्म जान सफल भयो । सानो जहाज भएपनि हाइपावर भएका कारण जहाजले उक्त प्रदर्शन दिन सफल भएको उनले बताए ।
१९९७ मा एउटा जहाजबाट सुरु भएको बुद्धको उडान यात्रामा अहिले साढे दुई दर्जन जहाज पुगिसकेका छन् । कुल १६ वटा जहाज रहेकोमा बुद्धले दुई बिचक्राफ्ट भने बिक्री गरेको छ । यी जहाज क्यानडा पुगिसकेको कम्पनीले जनाएको छ । १८ सिटको जहाजबाट सुरु भएको उडान अहिले बुद्धले मात्र ७५ वटा दैनिक उडान काठमाडौंबाट गर्न थालिसकेको छ । यसबीचमा एयरक्राफ्ट भित्रका सुविधा परिवर्तन भए विमानस्थल भित्रका सुविधा परिवर्तन भए, तर बिचक्राफ्ट निरन्तर उडिरह्यो ।
कम्पनीका सिनियर एएमई (टेक्निकल) लुकबहादुर आले जहाज पुरानो हुँदैन भन्ने उदाहरण यो बिचक्राफ्टलाई मान्छन् । उनी भन्छन्, ‘जहाजका हरेक पार्टको लाइफ हुन्छ, लाइफ अनुसार पार्ट चेन्ज गर्दै जानु पर्छ । त्यो गर्दा सधै नयाँ हुन्छ ।’
उनका अनुसार जहाजमा सेड्यूल मेन्टिनेन्स हुन्छ । तोकिएको अवधिमा जहाजलाई मर्मतमा पठाउनै पर्छ । अर्को लाइफ तोकिएका पार्टपूर्जा हुन्छन्, जसलाई तोकिएको समय भित्र परिवर्तन गर्नुपर्छ । त्यस्तो परिवर्तनले जहाज शुरुमा जति प्रदर्शन गर्ने क्षमतामा थियो सोही क्षमतामा प्रदर्शन गर्न सक्ने अवस्थामा पुग्छ । जहाजलाई जस्ताको तस्तै राख्न सफल भएका कारण नै बिचक्राफ्ट क्यानडामा बेच्न सफल भएको कम्पनीले जनाएको छ । क्यानडामा यो जहाज निरन्तर उड्ने छ ।
बुद्धले बिक्री गरेका दुई बिचक्राफट १९००डी मध्ये ९एन–एईईले नेपाली आकाशमा ३६ हजार ५६३ घण्टा बिताएको थियो । जसले ७६ हजार ३६२ पटक टेकअफ लिएको थियो । अर्को जहाज ९एन–एईडब्लूले ३५ हजार ७६८ घण्टा नेपाली आकाशमा बिताएको थियो । यसले ७४ हजार ९२९ पटक टेकअफ लिएको थियो ।
प्रतिक्रिया 4