+

बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ रहे के गर्ने ?

२०८० जेठ  २२ गते १४:४६ २०८० जेठ २२ गते १४:४६
बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ रहे के गर्ने ?

काठमाडौं । एउटा बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ बसिहाले कस्तो चिन्ता होला ? एकातिर सुत्केरी महिला तंग्रिसकेकी हुँदिनन्, शरीर कमजोर अवस्थामै हुन्छ, अनि अर्कोतिर भर्खर जन्मिएको शिशुको स्याहारसुसारको पनि चिन्ता ।

सामान्यतया सुत्केरी भएको ६ महिनापछि महिनावारी सुचारु हुन्छ । तर कसैको महिनावारी नखुलीकनै पनि गर्भ रहन सक्छ । त्यसैले बच्चा जन्मिएको ६ महिनासम्म परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नुपर्छ । तर सावधानी अपनाउँदा अपनाउँदै पनि अकस्मात् गर्भ रहेमा के गर्ने ? यसले स्वास्थ्यमा कस्तो जटिलता ल्याउँछ ? यिनै विषयमा केन्द्रित रहेर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण शाहसँग गरिएको कुराकानीको सम्पादित अंश :

बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ रहे के गर्ने ?

सावधानी अपनाउँदा पनि कुनै कारणवश गर्भ रहन गएमा सुरक्षित गर्भपतन गर्न सकिन्छ । तर गर्भ बसेको १२ हप्ता वा त्यसभन्दा कम छ भने मात्र यो गर्न मिल्छ । तर १२ हप्ता कटिसकेको छ भने गर्भपतन गर्न मिल्दैन ।

यस्तो अवस्थामा दोस्रो बच्चा जन्माउँदा कस्तो समस्या आउँछ ?

बच्चा कम तौलको हुने, जन्मजात अपाङ्ग हुने, समय अगाडि नै बच्चा जन्मिने, बच्चाको शारीरिक तथा मानसिक वृद्धि राम्रो नहुने समस्या हुन्छ । त्यस्तै आमामा रक्तअल्पताको समस्या हुने, शरीर कमजोर हुने समस्या हुन्छ ।

गर्भपतन गराउँदा कुनै समस्या हुन सक्छ ?

१२ हप्ताको मात्र भए कुनै समस्या हुँदैन । यदि १२ हप्ताभन्दा बढी भएमा वा आमाको स्वास्थ्य अवस्था कमजोर भएमा आमा र बच्चा दुवैलाई जटिलता हुन सक्छ । त्यस्तै पहिलो बच्चा शल्यक्रियामार्फत बच्चा जन्माएको छ भने त्यस्तै अवस्थामा गर्भ रहन गए बच्चा बढ्दै जाँदा पाठेघर फुट्ने जोखिम हुन्छ । गर्भपतन गर्न नमिलेको अवस्थामा नियमित चिकित्सकको निगरानी बस्ने, आवश्यकताअनुसार जाँच गराइराख्नुपर्छ ।

बच्चा जन्माउनासाथ पाठेघरको अवस्था कस्तो हुन्छ ?

बच्चा जन्माइसके पनि पाठेघर एकैचोटि पहिलाको अवस्थामा आउँदैन । पाठेघर ठूलो, तन्केको, पातलो र रगत जमेको हुन्छ ।

सामान्यतया पाठेघर पहिलाकै आकारमा आउन ६ हप्ता लाग्छ । तर त्यसो भन्दैमा गर्भधारण गर्नु उचित हुँदैन । शरीर कमजोर अवस्थामै रहेको हुन्छ ।

एउटा बच्चा जन्माएको कति अवधिपछि मात्र दोस्रो बच्चा जन्माउनु उपयुक्त हुन्छ ?

एउटा बच्चाको जन्मपछि महिलाको शारीरिक अवस्था गर्भवतीपूर्वको अवस्थामा फर्किन समय लाग्छ । विभिन्न अध्ययनले सन्तानको जन्मपछि कम्तीमा १८ महिना महिलाले गर्भधारण नगर्नु नै राम्रो हुने बताएको छ । हालसम्मको अध्ययनले १८ महिनादेखि ५९ महिनासम्म जन्मान्तर कायम गर्नु उपयुक्त हुने देखाएको छ ।

हाम्रो देशमा दुईदेखि पाँच वर्षको जन्मान्तर गर्नु उपयुक्त रहनेमा विज्ञहरूको सुझाव छ । सामान्यतया चिकित्सकको सल्लाहअनुसार बच्चा जन्माएको कम्तीमा दुईदेखि तीन वर्षको अन्तरालमा बच्चा जन्माउनु उत्तम हुन्छ ।

लामो समयको अन्तरमा बच्चा जन्माउँदा चाहिं के हुन्छ ?

बच्चा जन्माउने भनेको परिवारको आवश्यकता, रहर र स्वास्थ्य हो । यी तीन कुरालाई ध्यानमा राख्नुपर्छ । पहिलो बच्चापछि दोस्रो बच्चा लामो समयको अन्तरालमा गर्नु एकदम हो । तर लामो जन्मान्तरले आमाको उमेर धेरै अर्थात् ३५-३६ वर्ष पार गर्दा चाहिं समस्या आउन सक्छ । साथै गर्भवती महिलाले लामो जन्मान्तरपछि गर्भ राख्दा अलि बढी झन्झट तथा चिन्ता लिने गरेको पाइन्छ । त्यसैले ३०-३२ वर्षभित्र सन्तान जन्माइसक्दा जटिलता कम हुन्छ ।

गर्भधारण डा. बालकृष्ण शाह
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय