
३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका विरुद्ध सडकमा व्यापार–व्यवसाय गर्ने साना व्यवसायीहरु आन्दोलित बनेका छन् ।
महानगरका मेयर बालेन्द्र शाहका कारण आफूहरु विस्थापित बन्नु परेको भन्दै साइकल, ठेलागाडा लगायत फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरु आन्दोलित भएका हुन् ।
मेयर शाहले विना विकल्प जीविकोपार्जनका लागि काम गर्नेहरु विस्थापित हुनुपरेको उनीहरुको आरोप छ । उनीहरुले ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाएर महानगर विरुद्ध प्रदर्शन गरेका छन् ।
राष्ट्रिय सभागृह आगाडि मुख्यद्वार छेकेर सडक फुटपाथ व्यवसायी, साइकल ठेलागाडा व्यवसायी र स्वतन्त्र युवाहरुले विरोध गरेका हुन् ।
महानगरले व्यक्तिगत जीविकोपार्जनको साधनलाई कबाड बनाएर लिलाम गर्ने संविधान विरोधी काम गरेको भन्दै उनीहरूले मेयर बालेनको आलोचना गरेका छन् ।
महानगरको नीतिले १० हजार भन्दा बढी दैनिक ज्यालादारीमा निर्भर परिवारहरूलाई दुई छाक टार्नै गाह्रो भएको अभियन्ता विनोद देउवाले बताए ।
२ महिनादेखि आफूहरूको मागबारे महानगरलाई पटक पटक ध्यानाकर्षण गराउने काम भए पनि महानगर संवेदनशील नभएकोले बाध्य भएर प्रदर्शनमै उत्रिनु परेको उनीहरूले बताएका छन् ।
प्रतिक्रिया 4