 
																			५ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सूचना प्रविधिमा कोरियाली लगानी बढाउन नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँग आग्रह गरेकी छिन् । सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका बारेमा कुराकानी भएको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताएकी छिन् । उनले नेपालको आर्थिक समृद्धिको प्रमुख आधार अब सूचना तथा सञ्चार प्रविधि हुने भन्दै यो क्षेत्रको विकास गर्न राष्ट्रहितमा हुने गरी सबैसँग सहकार्य गर्न इच्छुक रहेको बताइन् ।
नेपाल सरकारले यो वर्षदेखि वार्षिक पूँजीगत बजेटको एक प्रतिशत आविष्कार र नवप्रवर्तनमा लगाउने घोषणा गरिसकेको उल्लेख गर्दै उनले सूचना प्रविधिको विकासलाई आर्थिक समृद्धिको आधारको रुपमा लिन थालिएको बताइन् । भर्खरै मात्रै साइबर सुरक्षा नीति जारी गरेको उल्लेख गर्दै मन्त्री शर्माले चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारीमा रहेको बताइन् ।
अहिले चलिरहेको डाटा सेन्टर स्थापनामा कोरियाले गरेको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले यसलाई थप सुरक्षित र भरपर्दो बनाउन थालिएको जानकारी दिइन् । मन्त्री शर्माले यो वर्षभित्र आईसीटी एक्जिविसन, डिजिटल च्याम्पियन, व्यावसायिक तालिम, डिजिटल साक्षरतालगायतका कार्यक्रम सञ्चालन गर्न गइरहेको जानकारी दिंदै यसमा विभिन्न देशका अनुभवहरु नेपालका लागि फलदायी हुने बताइन् ।
चालु आर्थिक वर्षभित्र सबै वडा तहसम्म इन्टरनेट सुविधा पुर्याउने तयारी थालेको जानकारी दिंदै उनले अब फोरजीको सेवा सबै ठाउँ विस्तार गरेर फाइभजी विस्तार गर्ने बताइन् । ‘सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ,’ मन्त्री शर्माले भनिन्, ‘नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जीटूजी, पिटूपी (सरकार–सरकार, जनता–जनता) सहयोग आदानप्रदान गर्न हामी इच्छुक छौं ।’
राजदूत तइयोङले नेपालले साइबर सुरक्षाका लागि पारित गरेको साइबर सुरक्षा नीति र पहल महत्वपूर्ण भएको बताए । कोरिया नेपालमा बैदेशिक लगानी गर्ने चौथो मुलुक रहेको जानकारी दिंदै उनले सूचना प्रविधि क्षेत्रमा लगानी बढोस् भन्ने कोरियाको चाहना रहेको बताए । कोरियाले ईपीएसमार्फत श्रमिक लैजाने १६ देशमध्ये नेपाललाई प्रमुख देशको रुपमा राखेको उल्लेख गर्दै उनले कोभिड-१९ अघिजस्तै नेपालमा अब कोरियाली पर्यटकहरुको संख्या पनि वृद्धि हुन थालेको बताए ।
संयुक्त राष्ट्रसंघको नतिजाअनुसार कोरिया विश्वमा इगभर्नेन्सको क्षेत्रमा तेस्रो मुलुक रहेको जानकारी दिंदै रादजूत तइयोङले नेपालमा पनि यसको आवश्यकता रहेको सुझाव दिए । नेपालमा सरकारी तहबाट मात्र नभई निजी क्षेत्रबाट पनि ठूलो सहयोग भइरहेको उल्लेख गर्दै पुल्चोक क्याम्पसमा सामसुङले इन्नोभेसन सेन्टरमा सहयोग गरिरहेको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4