+

खुलेर भावना व्यक्त गर्ने महिलाले किन समाजबाट दबाब महसुस गर्छन् ?

२०८० भदौ  २८ गते १२:५८ २०८० भदौ २८ गते १२:५८
खुलेर भावना व्यक्त गर्ने महिलाले  किन समाजबाट दबाब महसुस गर्छन् ?

‘पहिला म धेरै भावुक, संवेदनशील र रिसाहा स्वाभावकी थिएँ । तर जब मैले विश्वविद्यालयमा पढाउन सुरु गरें त्यसपछि त्यहाँका वरिष्ठ सहकर्मीबाट थाहा पाए कि कसलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर । कतिपय अवस्थामा आफ्ना भावना लुकाउनुपर्थ्यो भने कतिपय अवस्थामा आक्रामक हुनुपर्थ्यो । भावना पनि सबैको एउटै हुँदैन रहेछ । लिङ्गको आधारमा फरक-फरक हुने रहेछ ।’

बिहेवियरल एण्ड डेटा वैज्ञानिक प्राध्यापक प्रज्ञा अग्रवाल आफ्नो भावना सेयर गर्दै भन्छिन् ।

अग्रवालले यस विषयमा हिस्टेरिकल : एक्सप्लोडिङ द मिथ अफ जेन्डर इमोसन्नस नामक पुस्तक लेखेकी छन् । पुस्तकमा उनले यसै विषयमा मात्र चर्चा गरेकी छन् । पुस्तकमा समाजमा कसरी मानिसले उनीहरूको लिङ्गको आधारमा फरक-फरक भावनाको अपेक्षा गरिन्छ ? समाजले महिलालाई एकदम भावुक, कमजोर र सोच्ने क्षमता कम भएको मान्छ भने पुरुषलाई त्यसको ठ्याक्कै विपरीत राखिएको छ ।

अग्रवाल भन्छिन्, ‘महिलाहरूलाई सधैं उनीहरूको भावनाको आधारमा मान्छे कस्तो छ भनेर आँकलन गरिन्छ ।’

भावना लुकाउन दबाब

प्राचीन कला र साहित्यमा केही भावना महिलासँग मात्र जोडिएका छन् भने केही पुरुषसँग मात्र जोडिएका छन् । उदाहरणका लागि ईष्या वा कुनै चीज प्राप्त गर्ने इच्छा महिलाहरूसँग सम्बन्धित भएको र बहादुरी, सकारात्मक भावना पुरुषसँग सम्बन्धित भएको उल्लेख गरिएको छ ।

दिल्लीकी मनोवैज्ञानिक शिवानी मिश्री साधु भन्छिन्, ‘आज पनि पुरुषहरूको रिस र घमण्डलाई प्रोत्साहन गरिन्छ, जबकि महिलाहरूमा सहानुभूति र हेरचाह गर्ने भावनालाई जोड दिइन्छ । यसले पुरुषमा आफ्नो भावनात्मक पक्ष लुकाउन र महिलामा आफ्नो शक्तिको भावना लुकाउन दबाब सिर्जना गर्छ । यस्तो अवस्थामा पुरुषहरु आफ्नो दु:ख, पीडा वा डर व्यक्त गर्नबाट टाढा रहन्छन् भने महिलाहरूले आफ्नो रिस देखाउन सक्दैनन् । किनकि यो हेरचाह गर्ने भूमिका विपरीत मानिन्छ ।’

यसलाई अझ प्रष्ट पार्न प्राध्यापक प्रज्ञा भन्छिन्, ‘समाजमा महिलाको भावना प्रकट गर्नुलाई गलत ढंगले प्रस्तुत गर्ने गरिन्छ वा गरिएको छ । जस्तै, जब महिलाले आफ्ना भावना व्यक्त गर्दै रिस देखाउने, चकचके हुने, ठूलो स्वरमा आफ्नो अभिव्यक्ति राखेको अवस्थामा त्यसलाई एकदम रिसाहा र आक्रामक महिला भन्ने गरिन्छ । यही कारणले गर्दा महिलाहरूले आफ्ना भावनालाई दबाउँछन् ।’

त्यसैगरी, महिला र पुरुष दुवैको रिसलाई पनि फरक–फरक दृष्टिकोणबाट हेर्ने गरिन्छ । जस्तै पुरुषलाई रिस उठ्यो भने सामान्य मानिन्छ भने महिला रिसाएमा उसमै केही समस्या वा कमी होला भन्ने बुझिन्छ ।

अनुसन्धानले यो पनि देखाएको छ कि यदि कार्यस्थलमा रिस देखाउने महिला छ भने उसलाई कम पारिश्रमिक दिइन्छ । तर पुरुषले देखाएमा केही मतलब गर्दैन ।

यसमा प्राध्यापक प्रज्ञा थप्छिन्, ‘प्राय: महिला र पुरुषको कुरा गरिन्छ । तर कतिपय यी दुवै लिंगमा पर्दैन । जस्तै ट्रान्सजेन्डर वा लैंगिक अल्पसंख्यक व्यक्तिहरु । उनीहरुको विषयमा धेरै अनुसन्धान गरिएको छैन । तर धेरै ट्रान्स महिला र ट्रान्स पुरुषले उनीहरूलाई पनि आफ्नो पहिचानअनुसार व्यवहार गर्न दबाब दिइएको बताउँछन् ।

कहाँबाट सुरु भयो ?

अनुसन्धान अनुसार अभिभावकले आफ्ना छोराछोरीसँग छुट्टाछुट्टै व्यवहार गरेको हुन्छ । यसकारण त्यो व्यवहारले हाम्रो दिमागमा सोच्ने तरिकामा असर गरेको हुन्छ । जस्तै अभिभावकले छोरालाई भनेको सुन्छौं के केटीहरु जस्तो रोइरहेको ? त्यस्तै छोरीलाई धेरै नबोल्नु, नरम स्वरले बोल्नु वा चर्को स्वरमा नहाँस्ने जस्ता निर्देशन पनि दिइन्छ ।

मनोवैज्ञानिक शिवानी मिश्री साधु भन्छिन्, ‘यी भावना परम्परागत र लिंगको आधारमा विभाजित गरिएको हुन्छ । प्राचीन समाजमा बाँच्नको लागि लैङ्गिक भूमिकाहरू बाँडिएको थियो । यसमा पुरुषहरूले आफ्नो समूहको शिकार र सुरक्षा गर्ने गर्दथे । यसको लागि बहादुरी र बल चाहिन्थ्यो । त्यस्तै महिलाहरूले परिवारको हेरचाह गर्ने गर्दथे । यसको लागि सहानुभूति, हेरचाह र संवेदनशीलता चाहिन्थ्यो । यिनै भूमिकालाई पछि धार्मिक र सामाजिक विश्वासमा परिणत गरियो । यही स्रोत समयसँगै गहिरो हुँदै गएको देखिन्छ ।’

आजभोलि महिलाहरूले घरसँगै कार्यालयको कामलाई सँगै अगाडि बढाएपछि उनीहरूले पुरुष र महिला दुवै गुण प्रस्तुत गर्ने गरेका छन् । यस्तो सोचले महिलालाई समस्या सिर्जना गरेको प्राध्यापक प्रज्ञा बताउँछिन् । उनी भन्छिन्, ‘राजनीतिमा महिलाको मूल्यांकन उनीहरूले व्यक्त गर्ने भावनाका आधारमा गरिन्छ । यसैकारण अमेरिकाकी हिलारी क्लिन्टनले पनि राष्ट्रपति उम्मेदवारमा समर्थन पाउन सकिननन् ।’

मिडियाको प्रभाव

लिंगको आधारमा भावनालाई विभाजन गर्न मिडिया, टिभी सिरियल र फिल्मले गहिरो भूमिका खेलेको देखिन्छ । किनकि अधिकांश फिल्म र सिरिजमा पुरुष बलियो र आत्मविश्वासी देखाइन्छ भने महिलालाई सहनशील र कमजोर रुपमा प्रस्तुत गरिन्छ । तर पछिल्लो समय केही परिवर्तन पनि भएको देखिन्छ ।

मनोवैज्ञानिक शिवानी मिश्री साधु भन्छिन्, ‘अहिले परम्परागत मान्यता तोडिन थालेको छ । आजभोलि पुरुष पात्रलाई पनि भावुक र डराउने तथा महिलालाई सशक्त र बलियो भूमिकामा प्रस्तुत गरेको पाइन्छ । यसले दर्शकको मनभित्र रहेको रुढीवादी सोचलाई तोड्न मद्दत गर्छ ।

कसरी सुधार गर्ने ?

यसको लागि सबैले आफ्नो व्यवहार र सोचमा परिवर्तन ल्याउनुपर्छ । किनकि यदि कसैले आफ्नो भावना व्यक्त गर्न सकेन । मनमा नै गुम्सिएर राख्नाले मानसिक (तनाव, बेचैनी, अनिद्रा र डिप्रेसन) र शारीरिक स्वास्थ्यलाई असर गर्न सक्छ । जस्तै तनाव, बेचैनी, अनिद्रा र डिप्रेसनलगायत समस्या हुन सक्छ ।

कसैले के सोच्नेछ भन्ने चिन्ता नगरी आफ्नो भावना व्यक्त गर्ने स्वतन्त्रता सबैलाई हुनुपर्छ भन्ने आदर्श अवस्था हो ।

यसको एक मात्र समाधान बिना कुनै डर चिन्ता वा स्वतन्त्र रुपमा आफ्नो भावना व्यक्त गर्न सक्नुपर्छ । यदि महिला र पुरुष दुवै आफ्नो भावना व्यक्त गर्न सकिने वातावरण सिर्जना भए कसैलाई पनि आफ्नो मनका सुखदु:ख, पीडा र आफ्नो वास्तविक लाज महसुस हुँदैन । तर यो भन्ने बित्तिकै व्यवहारमा लागू गर्न सकिंदैन । यसमा समाज, परिवार, वातावरण, परम्परालगायत धेरैका दबाब हुन्छ ।

बीबीसी हिन्दीबाट अनुदित

भावना महिला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय