
१४ असोज, काठमाडौं । प्रहरीले अभिनेता अनमोल केसीलाई हिरासतमुक्त गर्ने तयारी गरेको छ । उनलाई आइतबार राति नै छाड्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।
जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले छाड्न लागेको ती प्रहरी अधिकारीले बताए । उनका अनुसार कुनै अभियुक्तलाई हिरासतमा राख्नुपर्ने तीनवटा कारण हुन्छन् ।
एउटा, अर्को अपराध गर्न सक्छ, दोस्रो, अपराधको प्रमाण मेटाउन सक्छ र अर्को, फरार हुन सक्छ । ‘अनमोलको हकमा तीनवटै सम्भावना नदेखिएकाले छाड्न लागिएको हो’, ती प्रहरी अधिकारीले भने ।
उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभभावकको जिम्मा लगाउने तयारी छ ।
फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।
प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।
प्रतिक्रिया 4