 
																			१८ असोज, काठमाडौं । विश्व बैंकले आगामी दिनमा नेपालको आर्थिक विस्तार उच्च गतिमा हुने सम्भावना रहेको बताएको छ । बिहीबार काठमाडौंमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो बताएको हो ।
सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले आगामी दिनमा यो वृद्धिदर उच्च गतिमा हुने बताएको हो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै विश्व बैंकले दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट प्रतिवेदन सार्वजनिक गरेको हो । विश्व बैंकले ६–६ महिनामा यस्तो प्रतिवेदन सार्वजनिक गर्छ । आयात प्रतिबन्ध हटाइनु, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः गरिएको खुकुलोपनलगायत कारण नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकको प्रक्षेपण छ । सन २०२५ मा नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने अनुमान छ ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले आगामी वर्षहरुमा आर्थिक वृद्धि हुँदै जाने बताए । उनले नेपालमा उच्च आर्थिक सम्भावना रहेको र नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नती हुन लागेकोमा खुसी समेत व्यक्त गरे । विश्व बैंकले विश्वसनीय तथ्यांकका आधारमा प्रतिवेदन तयार पारेको समेत उनले जानकारी दिए ।
विश्व बैंकको दक्षिण एसियाली क्षेत्र हेर्ने प्रमुख अर्थशास्त्री फ्रान्जिस्के ला ओनसोर्जले दक्षिण एसियाली विकास अपडेट सार्वजनिक गर्दै दक्षिण एसियामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, जलवायु परिवर्तन, चीनमा देखिएको मन्दी, प्राकृतिक प्रकोपका कारण मानिसहरु प्रभावित हुनु, आयात र निर्यातमा गरिएको प्रतिबन्ध, नयाँ विदेशी मुद्रामा लगाइएको प्रतिवन्धजस्ता कारण अर्थतन्त्रमा चुनौती थपिएको बताइन् । विश्व बजारको उत्पादन र सेवाले समेत असर पारिरहेको उनको भनाइ छ ।
त्यसै गरी दक्षिण एसियाका अधिकांश देशमा निजी लगानीको कमजोर अवस्था रहेको भन्दै ओनसोर्जले वित्तीय चुनौती बढ्दै गएको बताइन् । उच्च ऋण न्यून आयको समस्या रहेको भन्दै उनले वित्तीय नीतीहरु धेरै बाध्यकारी हुन नसकेको समेत बताइन् ।
विश्व बैंकका अर्थशास्त्री नयन कृष्ण जोशीले नेपाल अपडेटबारे प्रस्तुतीकरण दिँदै नेपालले ऊर्जा क्षेत्रमा राम्रो प्रगति गरिरहेको बताए । गतवर्ष प्रसारण प्रणालीमा ५०० मेगावाट विद्युत् थपिएको र नेपालले भारतमा विद्युत् निर्यात गरिरहेको जानकारी दिए । उनले बंगलादेशमा समेत निर्यातको तयारी भइरहेको बताए । यसले अर्थतन्त्र विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार थोक र खुद्रा व्यापारमा आएको सुस्तता कारण सन् २०२३ मा सेवा क्षेत्रको वृद्धिलाई गतिलाई सुस्त बनाएको छ ।
त्यसैगरी सन् २०२३ मा औसत उपभोक्ता मूल्य सात वर्ष यताकै उच्च विन्दुमा पुगेको भन्दै जोशीलेले कम आयात र उच्च रेमिट्यान्सका कारण चालु खाता घाटा ६ वर्ष यताकै न्यूनस्तरमा रहेको समेत उल्लेख गरे ।
जोशीले नेपालमा अनिश्चित रुपमा हुने वर्षाले कृषि उत्पादनमा प्रभाव पार्न सक्ने, भारतले चामल लगायत खाद्यान्न निर्यातको लगाएको प्रतिबन्धका कारण मूल्यवृद्धि बढ्न सक्ने समेत बताए । यसले पुनः चालु खाता घाटा बढ्न सक्ने उनको भनाइ छ । उनका अनुसार वस्तु तथा सेवाको निर्यात निरन्तर रुपमा घटिरहेको समेत बताए । नेपालले आन्तरिक उत्पादनमा वृद्धिमा जोड दिनुका साथै वैदेशिक आकर्षण गर्न आफ्ना नीति परिवर्तन गर्नुपर्ने सुझाव जोशीले दिए ।
सोही कार्यक्रमका दौरान उत्पादकत्व, एक्सचेञ्ज रेट र निर्यातका सम्बन्धमा भएको प्यानल डिस्कसनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडलले नेपाली विद्यालय शिक्षाको उत्पादकत्वसँग समन्वय नै गर्न नसकेको बताए । सोहीकारण नेपालको शिक्षा प्रणालीलाई परिमार्जन गर्नुपर्ने उनको तर्क छ ।
‘यो शिक्षा प्रणाली रिमोडलिङ गर्ने उपयुक्त समय हो, प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्छ,’ पौडलले, ‘हामीले युरोप र गल्फ कन्ट्रीहरुका लागि मात्र जनशक्ति तयार पारिरहेका छौं। ’
सो छलफलमा भाग लिँदै लक्ष्मी सनराइज बैंककी प्रमुख बिजनेस अफिसर आरती राज्य लक्ष्मी रानाले आयात वृद्धि नहुनु र रेमिट्यान्स बढ्नु अर्थतन्त्रका लागि सकारात्मक भएको बताइन् ।
जलविद्युत् क्षेत्रमा नेपाललको प्रगति राम्रो भएको भन्दै उनले नेपालले भारतमा चालु वर्षमा मात्र ५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको बिजुली बेचेको प्रसंग निकालिन् । नेपालले गतवर्ष करिब ११ अर्ब १६ करोड रुपैयाँको बिजुली बेचेको थियो । भारतसँग नेपालको बिजुली व्यापारको घाटा ८ अर्ब हाराहारी रहेको छ । सन् २०२६ सम्म नेपाल विद्युतमा आत्मनिर्भर हुने लक्ष्य छ ।
बंगलादेशमा समेत विद्युत् निर्यात गर्ने अन्तिम तयारी भइरहेको उनले जानकारी दिइन् । उनले केन्द्रीय बैंकको नीति अनुसार बैंकहरुले १० प्रतिशत जलविद्युतमा लगानी समेत जानकारी दिइन् । भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने घोषणा गरेको भन्दै उनले यसले नेपालको आर्थिक विकासका लागि सहयोग पुर्याउने बताइन् ।
स्वीट्जरल्याण्डको नेपालका लागि राजदूतावासकी कार्यक्रम म्यानेजर दोरोथी लोड्सचेरले नेपालको आर्थिक विकासका लागि प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताइन् । उनका अनुसार नेपाली शिक्षित युवाहरु रोजगारी र अवसरको खोजीमा भारतलगायत देशरहरुमा जाने गरेका छन ।
दक्षिण एसियाकाका लागि ट्रेडका कार्यकारी निर्देशक डा. पारस खरेलले उत्पादनमुखी क्षेत्रको प्रवर्द्धन गरेर निर्यातमा जोड दिनुपर्ने बताए । नेपाली अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै उनले उत्पादनमा जोड दिए ।
अर्थशास्त्री तथा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा.पोषराज पाण्डेले बजेटमार्फत सरकारले उत्पादनलाई बढुवा दिनुका साथै डिजिटल अर्थतन्त्रलाई सहजीकरण गरेको बताए ।
काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. भोला नेपालले थापाले हरित ऊर्जामा ध्यान दिनुपर्ने बताए । उनले अनुसार काठमाडौं विश्वविद्यालयले सरकार र विकास साझेदारहरुसँगको सहकार्यमा हाइड्रोजनको अध्ययन गरिरहेको जानकारी दिए । विश्व विद्यालयमा ल्याव स्थापना गरेको समेत उनले जानकारी दिए । ग्रीन हाइड्रोजन उत्पादन गरेर निर्यात गर्न सकिने उनको भनाई छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4