+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

कांग्रेसले गृहमन्त्री लामिछाने माथि प्रश्न उठायो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते ११:२७

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा प्रश्न उठाएकी हुन् ।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सचेतक सुशीला थिङलाई बोल्ने समय दिएका थिए ।

उनले उथलपुथल ल्याउँछु भन्ने प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेको भन्दै आलोचना गरिन् । उनले भनिन्, ‘उहाँले (प्रधानमन्त्री प्रचण्ड) ले कसरी मन्त्रीहरु ल्याउनु भएछ भने सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाले प्रतिवेदन दिएर अनुसन्धानमा रहेकालाई गृहमन्त्रीमा ल्याउनु भएछ, साँच्चिकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ ।’

सत्ता गठबन्धन फेरबदल हुँदा प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपालाई समेत समेटेर मन्त्रीमण्डल गठन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गरेका थिए ।

अब सहकारी ठगी प्रकरणमा अनुसन्धान होला कि नहोला भनेर थिङले प्रश्न गरिन् । ‘के नेपाल सरकारका प्रहरीले गृहमन्त्रीलाई स्यालुट गर्दै अनुसन्धानमा आफ्नो मुद्दामा आफैंलाई दोषी हो भन्न ठहर हुने गरी यो अनुसन्धान होला कि नहोला यो सम्मानीय प्रधानमन्त्रीज्यूले जवाफ दिने कि नदिने ?’ उनले भनिन् ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ मा भएको व्यवस्था अनुसार स्वार्थ बाझिने मुद्दामा न्यायाधीशले फैसला गर्न मिल्दैन भनेर व्यवस्था गरिएको भए पनि आफ्नो मुद्दामा आफैं न्यायाधीश हुन पाउने व्यवस्था हुने गरी गृहमन्त्री बनाएर ल्याइएको भन्दै विरोधसमेत जनाइन् ।

कांग्रेसले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङको सचिवालय सुन तस्करी र सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा पनि प्रश्न उठाएको छ । यी विषयहरु निराकरण नभएसम्म संसदका आगामी बैठक सहज ढंगले चल्छ भनेर अनुमान नगर्न कांग्रेस सचेतक थिङले चेतावनी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?