+
+
Shares

सैनिक अधिकृतको निष्काशन ऐन वमोजिमः नेपाली सेना

अनलाइनखबर अनलाइनखबर
२०७० पुष ७ गते २०:०८

७ पुस, काठमाडौं । नेपाली सेनाले दुईजना सैनिक अधिकृतलाई गरिएको निष्काशनको निर्णयसैनिक ऐन ०६३ वमोजिम भएको दावी गरेको छ ।
गत कात्तिक २७ गते समरी जनरल सैनिक अदालतले तत्कालिन उपरथी प्रेमप्रकाश थापा मगर र तत्कालिन सहायक रथी हेम खत्रीलाई गरेको निष्काशनबारे केही सञ्चारमाध्यममा भ्रामक समाचार आएको भन्दै सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार आफ्नो धारणा सार्वजनिक गरेको हो ।

nepal-army-logoदुवैजना सैनिक अधिकृतले ऐन विपरित कार्य गरेको पुष्टि भएपछि सैनिक अदालतले निष्काशनको निर्णय गरेको भन्दै नेपाली सेनाले सो घटनाबारेमा गलत सूचना प्रवाह गरी नेपाली सेना जस्तो गैह्र राजनीतिक, व्यवसायिक र राष्ट्रिय सुरक्षाको अभिन्न अङ्गमाथि प्रहार गर्ने प्रयास भएको जनाएको छ ।

नेपाली सेनाले कसैप्रति पुर्वाग्रह राखी कारवाही नगर्ने जनाउँदै सेनाले तत्कालिन सहायक रथी हेम खत्री र तत्कालिन उप रथी प्रेम प्रकाश थापा मगरमाथि सैनिक अदालतबाट सजाय प्रदान भएको जनाएको छ । ‘सैनिक अदालतले गरेको फैसला पुनरावेदन परी विचाराधिन अवस्थामा रहेको मुद्दालाई प्रभावित पार्न भ्रामक र कपोलकल्पित समाचार प्रकाशित भएकोमा नेपाली सेना खेद व्यक्त गर्दछ ।’ सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘सैनिक अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित पार्ने उद्देश्यले आएका समाचारबाट सेनामाथिको प्रहार मात्र नभई राष्ट्रिय सूरक्षाको अभिन्न अंग र राष्ट्रलाई नै धरासायी बनाउने उद्देश्य राखेको देखिन्छ ।’ नेपाली सेनाले भनेको छ’, ‘त्यस प्रकारका प्रायोजित समाचारहरुबाट भ्रमित नहुन र बास्तविकतालाई मनन् गर्न सम्बन्धित सबैमा नेपाली सेना अनुरोध गर्दछ ।’

शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र पेश गरेको विषयमा नेपाली सेनाले छानविन समिति गठन गरेपछि दुवैजना दोषी पाइएको भन्दै सैनिक अदालतले उनीहरूलार्इ गत कातिक २७ मा सरकारी नोकरीमा अयोग्य हुनेगरी निष्काशनको निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?