 
																			२९ जेठ, काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय चेन हिल्टन होटल एन्ड रिसोर्ट्स व्यवस्थापनमा सञ्चालन हुने पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ को निर्माण पूरा छ ।
हिल्टन आगामी २८ असारदेखि पूर्णरूपमा सञ्चालनमा आउने लगानीकर्ता शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए ।
निर्माण थाल्दा ‘डबल ट्री बाइ हिल्टन’ बनाउने सम्झौता थियो । तर, अब स्तरोन्नति फ्ल्यागसिप ब्रान्ड ‘हिल्टन’ कै नाममा सञ्चालनमा आउने अग्रवालले जानकारी दिए ।

‘यसअघि कोठा संख्या पनि १ सय २८ मात्रै बनाउने योजना थियो, क्षेत्रफल पनि कम थियो । त्यसो हुँदा डबल ट्री बनाउने भन्ने सम्झौता भएको थियो,’ अग्रवालले अनलाइनखबरसँग भने, ‘तर, हामीले कोठा संख्या तथा सुविधा थपेर फुलफ्लेज्ड हिल्टन ब्रान्डको होटल सञ्चालन गर्दैछौं ।’
हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो ।
हिल्टन काठमाडौंको बुकिङ खुलिसकेको र आगामी १२ जुलाईदेखि व्यावसायिक रूपमा पाहुनालाई स्वागत गर्न थालिने अग्रवालले बताए ।

‘सुरुमा परीक्षणका रूपमा सेवा (सिमुलेसन) थालिने छ । देशविदेशका गन्यमान्य मानिसलाई होटलमा सत्कार गरी सेवाको गुणस्तरबारे सुझाव लिने र त्यसका आधारमा थप परिमार्जन गरिने छ,’ उनले भने, ‘त्यसपछि मात्रै व्यावसायिक रूपमा पाहुना राख्न सुरु गर्छौं ।’
लागत १ अर्ब थपियो
यो होटल निर्माण गर्न सन् २०१४ मै सम्झौता भएर नक्सा तयार भएको थियो । तर, २०१६ बाट निर्माण थालिएको थियो । सुरुमा ७ अर्ब २७ करोड रुपैयाँ लगानी योजना बनाइ पनि कोभिड–१९ का कारण निर्माण प्रभावित हुँदा समय र लागत दुवै बढेको अग्रवाल बताउँछन् ।
 परियोजना लागत १ अर्ब १० करोड रुपैयाँले बढेर ८ अर्ब ३५ करोड पुगेको उनले बताए ।
परियोजना लागत १ अर्ब १० करोड रुपैयाँले बढेर ८ अर्ब ३५ करोड पुगेको उनले बताए ।
‘हामीले निर्माण गरिरहँदा कोभिड– १९ को विश्वव्यापी महामारी आयो, त्यसले पर्यटन उद्योगकै भविष्य के हुने हो भन्ने चिन्ता थियो,’ उनले भने, ‘हामीले होटल नै बनाउने कि नबनाउने भनेर पनि केही समय छलफल गर्यौं । त्यसले निर्माणमा ढिलाइ हुन गयो ।’
निर्माण क्रममा सडक भासिएको तथा डिजाइन परिवर्तन गर्नुपरेकाले पनि थप समय लागेको उनको भनाइ छ । ‘यी सबै कारण होटल निर्माण अवधि तीन वर्ष थपियो,’ उनले भने ।

के छन् सुविधा ?
१० रोपनी क्षेत्रफलमा फैलिएको हिल्टन काठमाडौंमा १ सय ७२ कोठा छ । यो होटलको कुल ‘बिल्डअप एरिया’ करिब २० हजार वर्गमिटर छ । नक्साल भगवती मन्दिर नजिकै रहेको होटल बेसमेन्ट दुई तलासहित कुल १७ तला छ ।
होटलमा हाल चार रेस्टुरेन्ट रहने र २ सय जना अट्ने सभाहल पनि तयार भइसकेको उनले बताए । ‘४ सय जना अट्ने नयाँ ब्यांक्वेट हलसहित पूर्वाधार पनि दोस्रो चरणमा निर्माण हुनेछ,’ अग्रवालले भने ।

अहिले होटलमा क्यासिनो बनेको छैन । दोस्रो चरणमा सुविधा सम्पन्न क्यासिनो समेत निर्माण गर्ने लक्ष्य शंकर ग्रुपको छ । होटलमा रुफटप स्विमिङ पुल रहने छ ।
हाल होटलमा १ सय ६० गाडी अट्ने पार्किङ स्पेस छ । होटलमा एउटा ‘प्रेसिडेन्सियल सुइट’, दुइटा लक्जरी सुइट र अन्य १० सुइट रुम छ ।
बुकिङ डटकममा होटलको एक रातको दर २८ हजार रुपैयाँदेखि माथि देखाइएको छ । सुइटको दर भने ५ सयदेखि २ हजार अमेरिकी डलरसम्म रहेको अग्रवालले बताए ।

ऋण तिर्न आठदेखि नौ वर्ष
कुल लगानीको ७० प्रतिशत ऋण लिएको कम्पनीले त्यसको ऋण तिर्न आठदेखि नौ वर्ष लाग्ने जनाएको छ ।
‘जग्गा र ब्याज बाहेक ऋण तिर्ने अवधि (पेब्याक पिरियड) आठदेखि नौ वर्षको हुने अनुमान गरेका छौं,’ अग्रवालले भने, ‘तर, नेपालमा पर्यटक आगमन कस्तो हुन्छ, होटलको अकुपेन्सी कस्तो हुन्छ, त्यसले पेब्याक पिरियड निर्धारण हुन्छ ।’

पछिल्लो समय होटल क्षेत्रमा प्रतिस्पर्धा बढेको र होटलको दर पनि कम भएको उनको अनुभव छ ।
‘नेपालमा अहिले अन्य ठूला चेन होटेल मेरिअट, ह्यात, आईएचजी लगायत काम गरिरहेका छन्, अन्य चेन पनि आउँदै छन् । त्यसो हुँदा यस क्षेत्रमा प्रतिस्पर्धा बढेको छ,’ उनले भने, ‘हामीले उत्कृष्ट ब्रान्डलाई होटल व्यवस्थापनको जिम्मा दिएका छौं, सेवा पनि उत्कृष्ट दिएर प्रतिस्पर्धामा अघि रहनेछौं ।’

नेपालको सम्भाव्यता अनुसार पर्यटक आगमन अझै नभएको र आगामी वर्षहरूमा यो संख्या अझै बढ्ने उनको अपेक्षा छ ।
‘नेपालमा चिनियाँ पर्यटक धेरै आएकै छैनन् । यो वर्ष अपेक्षित पर्यटक आए पनि १५ लाखभन्दा बढी आउँछन्, त्यसो हुँदा होटल व्यवसायले राम्रो गर्ने अपेक्षा हाम्रो छ,’ उनले भने ।
 
    
    
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                
प्रतिक्रिया 4