+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पदपूर्तिको माग राख्दै त्रिवि कर्मचारीहरूको प्रश्न गर्ने अभियान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १४:२४

७ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले पदपूर्तिको माग राख्दै सामाजिक सञ्जालबाट प्रश्न गर्ने अभियान चलाएको छ ।

उनीहरूले ‘हामी प्रश्न गर्छौं । त्रिविमा कर्मचारीको नयाँ विज्ञापन कहिले ? त्रिविका कर्मचारीको वृत्तिविकासमा अवरोध कहिलेसम्म ?’ लगायत प्रश्न गर्दै सामाजिक सञ्जाल फेसबुकमा राखिरहेका छन् ।

उनीहरूले उपकुलपति प्रा.डा. केशरजंग बराललाई बुधबार पाँच बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका थिए ।

यसअघि त्रिवि पदाधिकारीविहीन, त्रिवि सेवा आयोग पदाधिकारी तथा सदस्य पद रिक्त भएको लगायतको बहानामा नयाँ विज्ञापन नगरे पनि अब सबै पदपूर्ति भइसकेको अवस्थामा छिटो कर्मचारी नियुक्ति गरेर सहज वातावरण बनाउन दबाब दिइरहेको त्रिवि कर्मचारी संघका केन्द्रीय अध्यक्ष छत्र कार्कीले बताए ।

प्रशासनिक सुधारका लागि उच्च प्रविधियुक्त जनशक्तिको उचित व्यवस्थापन, परिचालन, भरोसायोग्य कार्य वातावरण, पेशागत सुरक्षाको सुनिश्चितता, वृत्तिविकास र पदोन्नतिको स्पष्ट आधार निर्माण नगरिएसम्म प्रभावकारी र परिणाममुखी कार्यसम्पादन नहुने उनको भनाइ छ ।

कार्की भन्छन् ‘छिटोभन्दा छिटो नयाँ कर्मचारीको विज्ञापन गरी पदपूर्ति तथा त्रिवि सेवामा कायम रहेको श्रेणीगत प्रणालीलाई खारेज गरी तहगत प्रणाली सुरु र तह वृद्धिसम्बन्धी व्यवस्था लागू गरिनुपर्छ ।’

उनीहरूले ठेक्का करार कार्यविधि, २०६९ लागू हुनुपूर्व त्रिविमा नियुक्ति भइसकेका सम्पूर्ण श्रेणीविहीन कर्मचारी र करार सेवामा कर्मचारी नियुक्ति सम्बन्धी विनियम, २०७९ लागू हुनु अगावै त्रिवि सेवामा प्रवेश गरिसकेका सबै कर्मचारीलाई अविलम्ब स्थायी गरिनुपर्ने माग राखेका छन् ।

ज्ञापन पत्रमा त्रिवि कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम २०७९ लाई संशोधन गरी त्रिविका सम्पूर्ण रिक्त दरबन्दीमा तुरुन्त विज्ञापन प्रकाशित गरिनुपर्ने, विज्ञापन नं १८ को अन्योललाई हल गरी सम्पूर्ण परीक्षार्थीलाई न्याय दिनुपर्ने लगायतका ५ बुँदे माग राखेका छन् ।

१५ दिनभित्र माग पूरा नभए सशक्त आन्दोलन गर्नेसमेत उनीहरूले चेतावनी दिएका छन् ।

त्रिवि रेक्टर प्रा.डा. खड्ग केसीले रिक्त दरबन्दीबारे अध्ययन समितिले अध्ययन गरिरहेको बताए । उनले भने ‘नयाँ विज्ञापन यत्तिकै खोल्ने कुरा आउँदैन । कहाँ कति आवश्यक तथा अभाव छ, त्यसको अध्ययन भइरहेको छ । अध्ययन समितिले रिपोर्ट बुझाएपछि त्यसअनुसार हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?