आम चलचित्रकर्मी तथा पत्रकारहरुको लागि नेपाली सिनेमाको प्रिमियर अनौठो र नौलो बन्दै गइरहेको छ । कुनै सिनेमाको प्रिमियर चलचित्र क्षेत्रका व्यक्तिहरुका लागि चाडपर्व आए जस्तो बन्ने गरेको छ । प्रदर्शन अगावै सिनेमा देखाउँदा आउने विभिन्न खालका समिक्षाका कारण निर्माताहरु प्रिमियर गर्न डराउँदै गएका छन् ।तर सिनेमा प्रति पूर्ण रुपमा आत्मविश्वास भएको खण्डमा डराउनु पर्दैन भन्ने कुरालाई प्रमाणित गर्न खोजे निर्माता राजेश घतानीले । सिनेमा प्रदर्शन हुनुभन्दा करिब २ साता अघि नै उनले बनाएको चलचित्र ‘बितेका पल’को भव्य प्रिमियर काठमाण्डौमा गरिएको छ । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो सिनेमाको काठमाण्डौको बीग सिनेमामा भव्य प्रिमियर गरिएको हो । प्रिमियरमा नेपाली सिनेमाका नायक, नायिका, पत्रकार, चलचित्रकर्मी, राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिती थियो ।
सिनेमा हेर्न आएका अधिकांश अतिथीहरुले नायिका केकी अधिकारीको पहिरनको चर्चा गरेका थिए । उनले नेपाली ढाकाको गाउन लगाएकी थिइन् । पहिरन डिजाइनर निलिमा शर्माले तयार पारेको गाउनमा केकी निक्कै आकर्षक देखिएकी थिइन् । उनलाई मिडियाको अघि तस्बिर खिचाउन भ्याई नभ्याई नै देखियो ।यस्तै सिनेमा हेरिसकेपछि उनको अभिनयको तारिफ पनि सबैले खुलेर गरेका थिए । ‘बितेका पल’ हेर्न पुगेका एकिकृत नेकपा माओवादीका नेता बर्षमान पुनले महिला पात्रको सशक्त अभिनय रहेको भन्दै सबैलाई सिनेमा हेर्न आग्रह गरेका थिए । चलचित्रमा केकी अधिकारीले निर्वाहा गरेको भूमिका र उनको अभिनय तारिफ योग्य देखिएको छ ।
चलचित्रको प्रिमियरमा सहभागी हुनकै लागि नव कलाकार अभिनाश गुरुङ दार्जलिङबाट नेपाल आएका थिए । यस्तै नायक बाबु बोगटीको भूमिकालाई पनि सबैले खुलेरै प्रशंसा गरे । पौष २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको बिषयमा सकारात्मक प्रतिक्रिया सुनिएको छ । लामो समय पछि एउटा उत्कृष्ट सिनेमा बनेको चलचित्रकर्मीहरुले जनाएका छन् ।
प्रतिक्रिया 4