 
																			२ साउन, हेटौंडा। बागमती प्रदेशसभाको बैठक साउन ६ गते बोलाइएको छ । बागमतीका प्रदेशका सभामुख भुवनकुमार पाठकले ६ साउन दिउस १ बजेका लागि प्रदेशसभा बैठक बोलाएका हुन् ।
संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने भएकाले बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
सभामुख पाठकले बागमती प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक ५ साउन शनिबार दिउँसो ३ बजेका लागि राखेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार हुने प्रदेश सभा बैठकको कार्यसूची तय गर्नेछ ।
नयाँ सत्ता समीकरण अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले केन्द्रमा सरकार गठन गरेकाले बागमतीमा पनि नयाँ सरकार गठन हुँदैछ ।
२४ असारमा एमालेले मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए । सरकारलाई एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले समर्थन कायम राखेका छन् ।
११० सदस्यीय बागमती प्रदेश सभामा ७ दलको प्रतिनिधित्व रहेको छ, जसमा नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३ (सभामुखसहित), नेकपा (एकीकृत समाजवादी)को ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4