 
																			५ भदौ, सुर्खेत । हुम्लामा बुधबार भएको जिप दुर्घटनाका गम्भीर घाइतेको उपचारमा समस्या भएको छ ।
बुधबार बिहान चंखेली गाउँपालिका–२, गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २०० च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
सामान्य घाइतेको हुम्लाकै दार्मा स्वास्थ्य चौकीमा सामान्य उपचार भइरहेको र गम्भीर घाइते तीन जनालाई जिल्ला अस्पताल मुगुतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
घटनास्थल हुम्ला र मुगुको सिमानामा पर्छ । घटनास्थलबाट मुगु सदरमुकाम पुग्न ५ घण्टा लाग्ने भएकाले गम्भीर घाइतेहरूको उपचारमा समस्या भएको डीएसपी खनालले बताए ।
गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाउनुपर्ने भए पनि खराब मौसमका कारण हेलिकप्टर दुर्घटनास्थलमा पुग्न नसकेको डीएसपी खनालले बताए ।
हेलिकप्टर उड्न नसक्ने भएपछि गम्भीर गाइतेहरुलाई गाडीबाटै मुगु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ‘गाडी बिहानै पठाएका हौँ तर भौगोलिक विकटताका कारण गाडी अस्पताल पुग्न अझै साढे दुई घण्टा लाग्छ भन्ने जानकारी प्राप्त भएको छ’ उनले भने ।
घाइतेहरूको उद्धारको लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा भए पनि खराब मौसमका कारण समस्या भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी वीरबहादुर वलीले बताए । ‘सुर्खेत एयरपोर्टमा हेलिकप्टर तयारी अवस्थामा छ । मौसम खुलेपछि जान्छ’, उनले भने ।
घुम्तीमा पछाडि हटाउने क्रममा जिप सडकदेखि १५० मिटर तल खसेर दुर्घटना भएको थियो । त्यस क्रममा एक जना स्थानीयको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगुको छायानाथ रारा नगरपालिकाका ४० वर्षीय पृथ्वी रावत, जिपधनी ३५ वर्षीय रमेश मल्ल, बाजुरा बढीगंगाका २५ वर्षीय चालक महेन्द्रबिक्रम शाह र चंखेली गाउँपालिका–२, कि ३५ वर्षीय मायादेवी शाही घाइते भएका प्रहरीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4