 
																			६ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयबाट ७ सदस्यीय समिति गठन गरेका हुन् ।
मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामीहरूको संख्या बढ्दो क्रममा रहेको र यस्ता रोगीहरूको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पतालको आवश्यकता महसुस गरी यो पहल थालिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सह–प्राध्यापक डा. गोपाल सेढाईंको संयोजकत्वमा गठित समितिमा वीर अस्पतालका डा. विनोद राजभण्डारी र डा. राजीव झा सदस्य रहेका छन् । यसैगरी नेप्लिज एसोसिएसन अफ न्यूरोलोजिष्ट र साइकियाट्रिक्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरू पनि समितिमा समावेश गरिएको छ ।
जाकोल्स स्कुल अफ मेडिसिन एन्ड बायोमेडिकल साइन्स अमेरिकाका सहप्राध्यापक डा. अमित कँडेल पनि समितिको सदस्य रहेका छन् भने स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डा. पुष्पराज पौडेल सदस्य सचिवको जिम्मेवारीमा छन् ।
हाल नेपालमा सरकारी क्षेत्रमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल छैन ।
निजी अस्पतालहरूमा उपचार महंगो हुने गरेकाले सर्वसाधारणको पहुँचमा सुविधासम्पन्न सरकारी न्यूरो उपचार केन्द्र स्थापना गर्न आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4