 
																			२ मंसिर, बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिको आधारमा अघि बढाउन निर्देशन दिएका छन् ।
सरकारले जग्गा एकीकरण आयोजना सञ्चालक समितिको अध्यक्षमा राप्ती गाउँपालिका–१ निवासी शुशिलकुमार बस्नेतलाई यिुक्त गरेको थियो। कार्तिक १२ गते बसेको पूर्वाधार विकास समितिको २१ औं बैठकले अध्यक्षमा नियुक्त गरेका बस्नेतलाई आज सपथ ग्रहण गराएपछि मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको जग्गा एकिकरण आयोजनालाई तिब्रता दिन निर्देशन दिएका हुन्।
‘यो दीर्घकालीन महत्वको निकै ठूलो जिम्मेवारी हो, फिल्डमा सहमति जुटाउने कामलाई अघि बढाउनुस्, स्रोत साधन जुटाउने काममा सरकार जुट्छ’–मुख्यमन्त्री आचार्यले भने –‘नदी सभ्यतामा आधारित राजधानी शहर बनाउने परिकल्पना सरकारको छ यसलाई साकार बनाउन विवादरहित ठाउँबाट काम अघि बढाउन र त्यसलाई नमुनाको रुपमा प्रस्तुत गर्न आवश्यक छ ।’
राजधानी शहर निर्माणका लागि २० बर्षे योजना निर्माण गरिएको छ। जुन योजना कार्यान्वयन गर्न एक खर्ब बढी बजेट लाग्ने अनुमान छ । पाँच बर्षको लागि २५ अर्ब लगानीको खोजीमा प्रदेश सरकार जुटेको मुख्यमन्त्री आचार्यले बताए । लगानी सुनिश्चित गरेर हरित र सुविधा सम्पन्न शहर निर्माणको योजना बनाइएको हुंदा प्रदेश सरकारले विदेशी दातृ निकाय संग पहल गरिरहेको उनले बताए।
राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाको वडा नं १, २ र ३, शितगंगा नगरपालिकाको वडा नं ८ र ९ लाई राजधानी क्षेत्र भित्र समेटिएको थियो ।
राजधानी क्षेत्र भित्रको १२ हजार विगाह जग्गामध्ये यसबर्ष एक हजार विगाह जग्गालाई एकिकरण योजना भित्र राखिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए ।
उनका अनुसार राजधानी क्षेत्रको जग्गालाई १४ ब्लक निर्माण गरिएको छ । पहिलो चरणमा तीन वटा ब्लकबाट जग्गा एकिकरणको काम अघि बढाउने योजना छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4