 
																			१६ पुस, काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएर अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएका व्यक्ति सहकारी ठगी प्रकरणमा पनि जोडिएका छन् ।
ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन प्रकरणका प्रतिवादी जीवन चलाउनेको सहकारी ठगीमा संलग्नता भेटिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ठमेलस्थित युनिफाइड बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अनियमितता भएको आरोपमा अनुसन्धान गर्ने क्रममा चलाउनेसहित १० जनालाई प्रतिवादी बनाउन सिफारिस गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको भेटिएको हो ।
प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा संस्थाका अध्यक्ष रहेका चलाउनेसहित अन्य पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको छ ।
अन्य प्रतिवादीहरूमा संस्थाका उपाध्यक्ष जोगेन्द्र अग्रवाल, कोषाध्यक्ष टंकप्रसाद तिमिल्सिना, सचिव हरिबहादुर पुडासैनी, सदस्य मिण्डु शेर्पा, नविनकृष्ण श्रेष्ठ, रामकुमार भण्डारी, भगवती उप्रेती लेखा समिति सदस्य मुकेशकुमार अग्रवाल र लक्ष्मण चालिसे छन् ।
उनीहरूमाथि संस्थाको १ करोड २ लाख ५५ हजार ९७१ रुपैयाँ अनियमितता गरेको आरोप छ । हालसम्म १२ जनाको मात्र प्रहरीकहाँ जाहेरी परेको छ, अन्यको पनि जाहेरी आउन सक्ने भएकाले ठगीको रकम बढ्न सक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
पहिले ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो । राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।
त्यसबेला झण्डै एक क्विन्टल सुन भन्सार जाँच पास पार गरेर बाहिरिएको भनिएपनि पछि जोख्दा ६० किलोमात्रै सुन भेटिएको थियो । १९ दिनपछि यसमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धान गर्न सम्पूर्ण प्रतिवेदन सीआईबीलाई जिम्मा लगाएको थियो । त्यसक्रममा भएको अनुसन्धानपछि सीआईबीले यो समूहले थप ३०२ किलो सुन तस्करी गरिसकेको निष्कर्ष निकालेको थियो ।
यो मामिलामा सीआईबीले दावा, जीवनसहित २९ जनालाई प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराध समेतको कसुरमा मुद्दा चलाएको थियो । त्यो मुद्दा अझै विचाराधीन छ । पछि सुन तस्करीको थप छानबिन गर्न भन्दै पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको समिति बनाइएको थियो ।
समितिले चलाउनेलाई सीआईबीका प्रहरीले समातेर पनि छाडेको भन्दै प्रहरीलाई कारबाही गर्न समेत सिफारिस गरेको थियो । आयोगको सिफारिसपछि सीआईबीका केही अधिकारीहरू जिम्मेवारीबाट हटाइएका थिए ।
आयोगकै सिफारिसपछि सुन तस्कर चिनियाँ नागरिकसँग सम्बन्ध देखिएको भन्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा समेत पक्राउ परेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4