
२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।
अखिल क्रान्तिकारीको २३औं सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शनिबार काठमाडौंमा शपथ गराउँदै प्रचण्डले यो सम्मेलनले विद्यार्थी नहुने तर, विद्यार्थी नेता भइरहने अभ्यासको अन्त्य भएको बताएका थिए ।
यसक्रममा प्रचण्डले मञ्चमा रहेका देवेन्द्र पौडेल, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने लगायतका पूर्व अध्यक्षहरूको नामै लिएका थिए ।
‘अध्यक्षले विद्यार्थी नहुने तर विद्यार्थी नेता बनाउनुपर्ने बाध्यता हामीसँग विगतमा थियो भन्नुभयो’ नेता न्यौपानेले भने, ‘त्यसको जवाफ मैले मञ्चबाटै दिन पाइनँ र तथ्य सामाजिक सञ्जालमा राखेको हुँ ।’
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका न्यौपानले आइतबार बिहान फेसबुकमा एक स्टाटस लेख्दै प्रचण्डले भनेको भन्दा तथ्य फरक रहेको जिकिर गरेका छन् ।
न्यौपानेले युद्धको समयमा को अध्यक्ष बन्ने नबन्ने कुरा प्रचण्डले निर्णय गर्ने गरेको पनि बताएका छन् ।
यस्तो छ न्यौपानेको भनाइ :
कमरेड प्रचण्डले हिजो हामी ४/५ जना साथीहरूको नामै लिएर विद्यार्थी नहुने तर विद्यार्थी नेता भइरहने समस्या थियो, अब हल भयो भन्नुभयो । उहाँले सार्वजनिक कार्यक्रममा बोलेको हुनाले यसबारे सार्वजनिक रूपमै केही भन्नुपर्ने भयो ।
१. कानुनी रूपमा अहिले प्रयोगमा आएको ३२ वर्षे उमेरहदभन्दा अगाडि नै अध्यक्षको जिम्मा पाइसकेको अवस्था हो, ३२ वर्ष वरिपरिमा त दोस्रो कार्यकालको जिम्मा सुरुआत भइसकेको थियो र विश्वविद्यालय पढेरै आएको हो हामीहरू ।
२. पहिलोपटक अध्यक्ष बन्ने निर्णय ०५९ सालको अन्त्यतिर सम्पन्न पार्टीको रोल्पा बैठकले गरेको थियो, त्यतिबेला म मकवानपुरको चुरे क्षेत्रतिर पार्टी काममा थिए । फलानोलाई अध्यक्ष बनाउनु पर्यो वा फलानोलाई बनाउन हुँदैन भन्ने न हाम्रो संस्कृति थियो, न हामीलाई त्यो मौका नै ।
अध्यक्ष बनाको उहाँहरूले नै होला ? दोस्रो पटक अध्यक्ष हुँदा पनि मै दोहोरिन्छु भनेर कहिल्यै कसैलाई भनिएन, खुल्ला परिवेशमा स्थापित नेतृत्व आवश्यक भनेर उहाँहरूले नै निर्णय गर्नुभएको हो ।
गज्जब त के भने तेस्रोपटक पनि तपाईं नै अध्यक्ष बन्नुपर्यो भन्ने उहाँ (प्रचण्ड) को जोड थियो । योग्य साथीहरू धेरै तल जाममा परिरहनुभएको छ । मैले गर्ने योगदान गरिसकें । पुन: त्यही जिम्मा लिंदा योगदानको निरन्तरता वा ओरालो परिणाम मात्र हुन्छ । यसले विद्यार्थी आन्दोलन र विद्यार्थी साथीहरूलाई राम्रो पर्दैन । त्यसकारण यो हुनै सक्दैन भन्नै मै हुँ ।
३. जनयुद्धको समयमा शहरिया आन्दोलन जोखिमको विषय थियो, जसमा विद्यार्थी संगठन अग्रभागीय मोर्चा भन्ने पार्टी लाइन पार्टीले नै बनाको होला अर्कोतिर क्याम्पस क्याम्पसबाट पूर्णकालीन कार्यकर्ता उत्पादन गरेर सैन्य मोर्चामा पठाउनुपर्ने योजना । यसअन्तर्गत कैयौं साथीहरू सहिद-बेपत्ता बन्नुभयो ।
हामी दर्जनौं पटक हिरासत, यातना, अपाङ्गता र लामो जेलजीवन बिताएर आएको इतिहास । पार्टीको निर्णय/आदेशप्रति न प्रश्न उठाइयो, न इन्कार नै । हामी गलत कसरी भइयो ?
४. एउटा विषय दाबाका साथ भन्न सकिन्छ कि शैक्षिक आन्दोलन, संगठन परिचालन एवं यसले जनयुद्ध र त्यसपछिको परिवेशमा त्यतिबेलाको विद्यार्थी आन्दोलनले पुर्याएको योगदान र निर्माण गरेको मानक सामान्य थिएन, विशिष्ट थियो ।
५. टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन है अध्यक्ष कमरेड !
प्रतिक्रिया 4