+
+
Shares

अमेरिकामा एप्पल र गुगलको एपस्टोरमा फर्कियो टिकटक

प्रतिबन्ध अझै कार्यान्वयनमा नआएको र टिकटकलाई एप स्टोरबाट डाउनलोडका लागि उपलब्ध गराउँदा कुनै कारवाही नहुने भनी ट्रम्प प्रशासनबाट सुनिश्चितता प्राप्त गरेसँगै गुगल र एप्पलले आफ्ना एप स्टोरहरुमा टिकटकलाई पुनर्स्थापित गरेका ब्लुम्बर्गले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १७:५८

काठमाडौं। राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अप्रिल ५ सम्मका लागि टिकटक माथिको प्रतिबन्धलाई स्थगन गरेसँगै अमेरिकामा एप्पल र गुगल एप स्टोरमा टिकटक पुनः उपलब्ध भएको छ ।

करीब १७ करोड अमेरिकी प्रयोगकर्ता रहेको टिकटक गत जनवरी १९ देखि एप स्टोरबाट हराएको थियो। बाइडेन प्रशासनले टिकटकमाथिको प्रतिबन्ध कार्यान्वयन गर्नु अगाडि नै मातृ कम्पनी बाइटडान्सले अमेरिकामा टिकटक बन्द गरेको थियो ।

तर सत्तारोहणसँगै ट्रम्पले बाइटडान्सलाई अमेरिकामा टिकटक बिक्री गर्नका लागि ७५ दिनको थप समय दिने कार्यकारी आदेश जारी गरेका थिए । अमेरिकामा टिकटक पुनः उपलब्ध भएको विषयमा टिकटकले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिबन्ध अझै कार्यान्वयनमा नआएको र टिकटकलाई एप स्टोरबाट डाउनलोडका लागि उपलब्ध गराउँदा कुनै कारवाही नहुने भनी ट्रम्प प्रशासनबाट सुनिश्चितता प्राप्त गरेसँगै गुगल र एप्पलले आफ्ना एप स्टोरहरुमा टिकटकलाई पुनर्स्थापित गरेका ब्लुम्बर्गले जनाएको छ ।

अमेरिकाको बाइडेन प्रशासनले टिकटक देशको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै अमेरिकामा कुनै तटस्थ पक्षलाई टिकटक बिक्री गर्नुपर्ने र अन्यथा प्रतिबन्धित गरिने प्रावधान सहितको कानून लागू गरेको थियो ।

चीनले अमेरिकामा जासूसी गर्न तथा राजनीतिक चालबाजीका लागि टिकटकको दुरुपयोग गर्ने दाबी बाइडेन प्रशासनको थियो । तर चीन र टिकटक स्वयम्ले भने त्यस्तो आरोप अस्वीकार गर्दै आएका छन् । बेइजिंगले यसअिघ अमेरिकामा टिकटकको व्यवसाय बिक्री गर्ने कुरा अस्वीकार गरेको थियो ।

डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा टिकटकमाथि प्रतिबन्ध लगाउने कुराको समर्थन गरेपनि गतवर्षको राष्ट्रपतीय चुनावी दौडका क्रममा मनस्थिति बदलेका थिए । गतवर्षको चुनावी अभियानमा टिकटकमा आफ्ना भिडियोमा अर्बौँ भ्यूज आएसँगै ट्रम्पले टिकटकमाथि नरम नीति अख्तियार गर्न थालेका थिए ।

गत महिना कार्यकारी आदेशबाट अमेरिकामा पुनः चल्न थालेपछि प्रयोगकर्ताले एउटा पपअप मेसेज देखेका थिए, जसमा ट्रम्पलाई उनको नामै लिएर धन्यवाद दिइएको थियो ।

ट्रम्पको विजयसँगै टिकटकका प्रमुख कार्यकारी शोउ चिउले ट्रम्पसँग भेट गरेका थिए भने पछि उनको शपथग्रहण समारोहमा पनि सहभागी भएका थिए।

ट्रम्पले टिकटकसँग आफुले सम्झौता चाहेको भन्दै कानूनको अक्षर भन्दापनि भावनालाई टिकटकले पालना गर्ने विश्वास व्यक्त गरेका थिए । साथै उनले टिकटकलाई उसको मातृ कम्पनीले आधा र अमेरिकी कम्पनीले आधा गरी स्वामित्व विभाजन गर्न सकिने प्रस्ताव पनि राखेका थिए ।

साथै उनले ओरेकलका सहसस्थापक ल्यारी इलिसन र एक्सका प्रमुख एलन मस्कले टिकटक खरीद गरेमा पनि स्वीकार्य रहेको बताएका थिए । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?