काठमाडौं उपत्यकामा भनेजस्तो कोठा, फ्ल्याट वा घर भाडामा पाउन निकै गाह्रो छ । कोठा तथा फ्ल्याट खोज्नका लागि घर-घरमा गएर सोध्ने फुर्सद कमै व्यक्तिसँग हुन्छ । त्यसरी प्रत्येक घरमा गएर सोध्न सम्भव पनि हुँदैन।
आफूलाई पायक पर्ने, राम्रो वातावरण भएको, व्यवस्थित, पर्याप्त पानी, पार्किङको सुविधा भएको र घरबेटी राम्रो भएको कोठा/फ्ल्याट पाउन कम्ता सकस छैन । त्यसमाथि महँगो भाडा छँदैछ ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा डेरा/फ्ल्याट खोजिदिने कम्पनीदेखि अनलाइन प्लेटफर्मसम्म यसमा सक्रिय छन् । त्यसैले अब कोठा तथा फ्ल्याट खोज्न पहिला जस्तो घर
घरमा गएर सोध्नु पर्दैन।
‘रुम फाइन्डर काठमाडौँ’, ‘हाम्रो बजार डटकम’, ‘फेसबुक मार्केटप्लेस’ ‘कोठा डटकम’, ‘घरबेटी डटकम’ जस्ता अनलाइन प्लेटफर्मसहित ‘रुम फाइन्डर इन काठमाडौँ’, ‘रुम फाइन्डर इन काठमाडौँ भ्याली’, ‘सस्तो रुम फाइन्डर’ ‘केटिएम सेवा रुम फाइन्डर’ जस्ता फेसबुक पेजले पनि शहरमा कोठा–फ्ल्याट खोज्न सघाएका छन् ।
यस्ता थुप्रै फेसबुक पेज छन्, जसले काठमाडौँमा ‘डेरा खोजिदिने’ गरेका छन् ।
यस्ता कोठा फ्ल्याट खोज्दिने अनलाइन प्लेटफर्ममार्फत कोठा खोज्न फारम भर्नुपर्छ, फारमको मूल्य ५०० देखि ५ हजार तिर्नुपर्ने हुन्छ।
ग्वार्कोमा कार्यालय रहेको ‘केटिएम सेवा रुम फाइन्डर’ले केही वर्षयता कोठा तथा फ्ल्याट खोजिदिने काम गरिरहेको छ । यसबापत उसले सेवाग्राहीबाट शुल्क असुल्छ।
कोठा/फ्ल्याट खोज्नका लागि यहाँ फारम भर्नुपर्छ, ५०० रुपैयाँ तिरेर । त्यसपछि उनीहरूले घरधनीको सम्पर्क नम्बर र ठाउँ बताइदिन्छन् । कोठा/फ्ल्याट चित्त बुझ्यो र बसोबासको टुङ्गो लाग्यो भने उक्त कम्पनीलाई थप शुल्क तिर्नुपर्छ । एउटा कोठा लिने हो भने दुई हजार, दुई वटा कोठाको तीन हजार र फ्ल्याटको ४ हजार दिनुपर्छ ।
आफूलाई कस्तो कोठा चाहिएको हो ? त्यसको मापदण्ड दिएर कोठा खोज्ने काम पनि गरिदिन्छन् । यसका लागि उनीहरूले एक महिनाको भाका राख्ने गरेका छन् ।
बसुन्धारामा कार्यालय रहेको ‘रुम फाइन्डर काठमाडौँ भ्याली’ले पनि कोठा तथा फ्ल्याट खोज्ने काम गर्छ । कोठा तथा फ्ल्याटका लागि सर्वसाधारणले सुरुमै ५ हजार रुपैयाँ बुझाउनुपर्छ । कोठा तथा फ्ल्याट नपाएसम्म उनीहरूले खोजी रहन्छन् ।
फसाउन सक्छन् बिचौलियाले
अहिले फेसबुक, टिकटक लगायतका प्लेटफर्ममा रुम खोज्दिने धेरै पेज तथा व्यक्तिहरू छन् । तर, उनीहरूले रुम खोजिदिए बापत २ हजार देखि ४ हजारसम्म लिन्छन् । फोटो भिडियोमा राम्रो कोठा र फ्ल्याट देखाएर वास्तविक रुपमा अर्कै कोठा देखाउने गरेको पाइन्छ ।
कतिपयले भने एउटै कोठा र फ्ल्याट धेरै जनालाई देखाएर शुल्क असुल्ने गरेको पनि पाइन्छ ।
उनीहरूले कोठा, फ्ल्याटका लागि डेरावाल खोजिदिने जिम्मा पनि लिने गर्छन् । यसबापत उनीहरूले डेरावाल र घरबेटी दुवैबाट ‘सेवा शुल्क’ लिने गरेका छन् । डेरा/ल्फ्याट भाडामा दिनका लागि घरबेटीले यस्तै बिचौलियालाई जिम्मा दिनु सजिलो मान्छन् ।
के हो भरपर्दो उपाय ?
काठमाडौँ उपत्यकामा भनेजस्तै डेरा सहजै पाइँदैन ।कोठा/फ्ल्याट खोज्दिने विभिन्न कम्पनी र प्लेटफर्म भए पनि उनीहरूलाई शुल्क मात्रै तिरिरहनुपर्ने तर खोजे जस्तो नभेट्ने सम्भावना छ । यस्तो अवस्थामा कसरी खोज्ने त डेरा ?
यसका लागि सबैभन्दा भरपर्दो विकल्प हो, आफन्त वा चिने जानेका साथीभाइ । उनीहरूलाई आफूलाई चाहिएको मापदण्ड अनुरूपको डेरा खोज्न सहयोग लिन सकिन्छ ।
यसका लागि समय भने लाग्न सक्छ । उनीहरू बसोबास गर्ने आसपासमा कुन कोठा/फ्ल्याट खाली हुँदैछ भनेर चासो राख्न सकिन्छ । त्यस्ता कोठा/फ्ल्याट कस्तो छ, सेवा सुविधा के छन्, घरबेटीको व्यवहार कस्तो छ इत्यादि जानकारी लिन सकिन्छ ।
साथै, घरबेटीले पनि सहजै विश्वास गर्न सक्छन् । कुनै अपरिचित व्यक्ति भन्दा चिने जानेकै मान्छेमार्फत आएका डेरावाल उनीहरूलाई भरपर्दो लाग्छन् । डेरावाल कस्ता हुन्, के गर्छन्, व्यवहार कस्तो छ, कति जना बस्छन् इत्यादि कुरा भरपर्दो व्यक्तिबाटै जानकारी लिन सक्छन् ।
यसका लागि आफ्ना सहकर्मी, साथीभाइ, छिमेकी, आफन्त वा काठमाडौँमा घर भएकाहरूलाई सहयोग लिन सकिन्छ ।
पछिल्लो समय कोठा/फ्ल्याट खोज्नका लागि केही मोबाइल एपहरू पनि उपलब्ध छन् । जस्तो ‘रेन्टास्टिक’, ‘घरबेटी डटकम’ आदि । यस्ता एपहरूको प्रयोग गरेर आफैँ कोठा खोज्न सकिन्छ ।
घरको ठेगाना, मासिक भाडा, कोठा वा फ्ल्याटको साइजअनुसार आफूलाई उपयुक्त हुने कोठा/फ्ल्याट रोज्न सकिन्छ । यस्ता एपले काठमाडौँ उपत्यकामा कोठा तथा फ्ल्याट खोज्न मद्दत गर्नेछ । साथै बिचौलियाहरूको ठगीबाट बच्न सकिन्छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4